|

ताप्लेजुङ : माछापुच्छ्रे बैंक लिमिटेडले ताप्लेजुङको फुङ्लिङमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले बुधबारदेखि १ सय २८ औँ  शाखाका रुपमा बैकिङ कारोवार सुरु गरेको हो।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुविधा उपलब्ध गराउने बैंकका शाखा प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिए। बाँस्कोटाका अनुसार माछापुच्छ्रे बैंकको हालसम्म देशभर १ सय ४३ ओटा एटिएम र १ सय १२ स्थानमा शाखा रहित बैकिङ सेवा सञ्चालनमा छन्। सञ्चालनमा आएको शाखाबाट यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले माछापुच्छ्रे बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र फुङलिङ नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकका शाखा प्रवन्धक बास्कोटाले बताए।

माछापुच्छ्रे बैंकले कारोवार सञ्चालन गरेसँगै ताप्लेजुङ सदरमुकाम फुङलिङमा १३ वटा बैंकले आफ्नो शाखा विस्तार गरी कारोबार गरिरहेका छन्। यस्तै जिल्लाको मिक्वाखोला गाउँपालिका बाहेकका अन्य स्थानीय तहबाट पनि फरक फरक बैंकले सेवा दिइरहेका छन्।

स्थानीय तहमध्ये सनराईजले मैवाखोलामा, राष्ट्रिय वाणिज्यले आठराई–त्रिवेणीमा तथा लक्ष्मी बैंकले सिदिङ्वा र पाथीभरा–याङवरकमा र नेपाल बैंककले सिरीजंघा गाउँपालिकामा शाखा खोलेका हुन्। यस्तै फक्ताङलुङ गाउँपालिकामा जनता बैंक र मेरिङदेनमा एनसिसिले शाखा विस्तार गरेका छन्।

यता मिक्वाखोला गाउपालिकामा भने कहिलेसम्म बैंक सञ्चालन हुने टुङ्गो लागिसकेको छैन। सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा भने नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, प्राईम बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनएमबी बैंक, गण्डकी बैंक, सेञ्चुरी बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.