|
फाइल फोटो

संखुवासभा : असार १७ सिलिचोङ–१ सिसुवाखोलाबाट पक्राउ परेको नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ता सन्जन अधिकारीलाई पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।

असार १६ गते सिलिचोङ गाउँपालिका–१ होयङ्लामा गस्ती रहेका प्रहरी र विप्लवका कार्यकताबीच गोली हानाहान भएको भोलिपल्ट उनी पक्राउ गरेका थिए। प्रहरीले गोलीकाण्डको भोलिपल्ट घटनास्थल नजिकैको गाउँबाट लुकेर बसेको अवस्थामा संखुवासभा चनैपुर नगरपालिका–१० का अधिकारीलाई पक्राउ गरेको थियो।

अधिकारीलाई असार १७ गते पक्राउ गरे पनि अहिलेसम्म सार्वजनिक गरेको छैन। उनलाई प्रहरीले उनीहरूकै साथमा राखेर विप्लवको सेल्टर खोज्न भोजपुर र सोलुका विभिन्न क्षेत्रमा लगेको स्रोतको भनाइ छ। अधिकारीलाई प्रहरीले बेपत्ता बनाएको समाचार थाहाखबरमा प्रकाशित भएपछि उनलाई रातरात सदरमुकाम खाँदबारी ल्याइएको थियो।

उनी बेपत्ता भएको हप्ता दिनपछि मात्र जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा भएको रहस्य खुलेको थियो। उनलाई जिल्ला प्रशासन कार्यालयले २० गतेबाट लागू हुने गरी सात दिनको म्याद थपेर प्रहरी हिरासतमा राखिएको थियो। सात दिनको म्याद सकिए पछि पुनः पाँच दिन म्याद थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रहरीले उनलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनलाई  जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखे पनि त्यस विषयमा सुरक्षा निकायले केही प्रतिक्रिया दिएको छैन।

यता, विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्ताको अवस्था नखुलेको जानकारी विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज विषमले विज्ञप्ति निकालेर दिएका थिए। उनले उनीहरूको अवस्था सार्वजनिक गर्न माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.