थाहा संवाद : स्थानीय सरकार

जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, 'सिङ' जोड्न आइपुग्छन्

'विकासमा सबै दल मिल्नु जरुरी छ'

असार २९, २०७६

    पाँचथर : पाँचथरको एक मात्रै नगरपालिका फिदिम। साविकको फिदिमसहित चोकमागु ,सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गिन, लुङ्रुपा र याङ्नामको १ देखि ५ नम्बर वडालाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार फिदिम नगरपालिकाको जनसंख्या ४९२०१ छ।

    समुद्री सतहदेखि १० हजार ७ सय ३७  फिट उचाईसम्म को नगरपालिकामा स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसका उम्मेद्वारले प्रमुख,उप्रमुखसँगै १४ मध्ये ९ वटा वडामा जित हासिल गर्‍यो।

    बहुमत कांग्रेसका जनप्रतिनिधि रहेको नगरपालिकाको २ वर्षे समृद्धि, आर्थिक वर्ष २०७६/०७७ को बजेटसहितको नीति तथा कार्यक्रम, नगरको नेतृत्व गर्दा देखिएका समस्या,समाधानका प्रयास र ‘स्मार्ट सिटी’ निर्माणसहितका सवालमा नगर प्रमुख ओनाहाङ नेम्वाङसँग थाहाखबरका लागि जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।  

    फिदिम नगरपालिकाको नेतृत्व गरेको पनि २ वर्ष भयो। यो अवधिमा नगर समृद्धिका योजना के-के पूरा भए?

    मुलुक संघीयतामा गयो। त्यसपछि तीन तहका सरकार पनि निर्वाचित भएर पदावधि दुई वर्ष बित्‍न लागेको छ। सजिलो अप्ठ्यारोको कुरामा यहाँहरूलाई पनि थाहा छ। नयाँ नीति लागू गराउनु पर्ने बाध्यता छ। संघीयतालाई संस्थागत गर्न पहिलो नम्बरमा आफ्नो पालिकालाई समृद्ध गराउने। यदि आफ्नो पालिका समृद्ध हुन सकेन भने त्यसको अर्थ हुँदैन। जनप्रतिनिधिको हैसियतले मैले निर्वाचनताका गरेका प्रतिवद्धतामध्ये पहिलो नम्बरमा १ वडादेखि १४ सम्म रिङ रोडको अवधारणा अघि बढाएको छु। त्यो दुई वर्षमा रिङ रोड कच्ची तयार भइसक्यो। अब एउटा वडादेखि अर्को वडामा जान समस्या छैन। यो एउटा काम भयो।

    अर्को भनेको नेपाल सरकारको उद्घोष 'समृद्ध नेपाल,सुखी नेपाली'। पालिकाको नेतृत्व गर्दै जाँदा मलाई पनि त्यो नाराले छोएको छ। त्यसकारण यसपटक चाहीँ यो दुई वर्ष बितेपछि मलाई के लाग्यो भने अब दुई-अढाई वर्षको अवधिमा केही ठोस काम गरौं। यसका लागि नगरपालिकाभित्र १२ महिना नै गाडी गुड्ने सडक बनाउने अर्को योजना छ। अहिले पनि फिदिम नगरपालिकाभित्र पिच रोडले नछोएका पाँचवटा वडा छन्। त्यसमा ७,८,१०,१३ र १४ नम्बर। यी वडाहरूमा चाँहि सकभर मेरो कार्यकालमा प्रदेश र संघले पनि साथ दियो भने पिच गराउने पक्षमा छु। होइन त्यति पनि गर्न सकिएन भने पहिले ग्राभेल र त्यसपछि नाली गर्ने मेरो अठोट छ। अब शिक्षाको निम्ति चाँहि हामी निर्वाचित भएर आउनुअघि पीसीएफमा शिक्षक रहेछन्। पछि टाइट भयो। पोहोर सालदेखि शिक्षक स्वयमसेवक पद सिर्जना गरेर प्राविदेखि मावि तहमा कुनै स्थायी शिक्षक नभएको ठाउँमा एउटा-एउटा दरबन्दीमा राख्यौं।

    स्वयमसेवक भनेपछि निशु:ल्क अर्थात् पैसाबिना काम गर्ने अर्थ लाग्छ। स्वयमसेवक शिक्षकले चाँही पाउँछन्, पाउँदैनन् तलब?

    पाउँछन्। तर सरकारले तोके अनुसार त पाउँदैनन्। पोहोर प्रावि तहकालाई ९ हजार,निमावि तहकालाई ११ हजार र मावि तहकालाई १२ हजार तोकेका थियौं। तर कर्मचारीको पनि तलब बढेकाले ‘पापै लाग्ला’ भनेर नगरपालिकाले तलब बढाएर प्रावि तहकालाई १० हजार, निमावि तहकालाई १२ हजार र मावि तहकालाई १५ हजार बनाइदियो। त्यसका लागि ६२-६३ लाख बजेट छ। अरू भनेको स्वास्थ्य क्षेत्रमा चाहीँ नेपाल सरकारको नीति अनुसार प्रत्येक वडामा स्वास्थ्य चौकी पुर्‍याउने। यो सिलसिलामा फिदिम नगरपालिकाका ५ वटा वडामा स्वास्थ्य चौकी छैनन्। त्यसलाई पुरा गर्न स्वास्थ्य चौकी बन्दैछन्।

    कुन कुन वडामा ?

    १,२,७,११ र १४ मा।

    तपाईंको घोषणापत्रको एउटा बुँदा ‘स्मार्ट सिटी’ निर्माणमा जोड्बल रहन्छ भन्‍ने थियो। के हुँदैछ?

    पालिकाहरूमा अर्बौं बजेट आउँदैन हेर्नुहोस्, तपाईंलाई पनि थाहा छ। फिदिम नगरपालिकाको बजेट लगभग ३२ करोड छ। त्यसले १४ वटा वडालाई पुर्‍याएर अगाडि बढ्नुपर्ने। अब स्मार्ट सिटीको कुरामा चाहीँ पाँचथर भाग्यमानी जिल्ला भइदियो। किनभने मध्यपहाडी राजमार्गले चिरिदियो। याङ्वरकको चिवाभञ्ज्याङदेखि महाकाली अञ्चलको झुलाघाटमा यो सडक पुग्छ। यसले चाँही जोरसाल बजार छुन्छ। त्यसको १० किलोमिटरभित्र स्मार्ट सिटीको अवधारणा सहरी विकास आयोजनाले लिएको छ।

    त्यसो भए तपाईंले नेतृत्वको फिदिम नगरपालिकाले स्मार्ट सिटी नबनाए पनि हुने भो ?

    होइन। हामीसँग त्यसको मास्टर प्लान बनाउन उहाँहरूले कोअर्डिनेसन गर्दै आउनु भएको छ। त्यसमा चाहीँ मलाई एकीन भएको के भन्दा म फिदिम नगरपालिकाको मेयर हुनुभन्दा अगाडि नगर विकास समितिमा थिएँ। त्यो सन्दर्भ भएकाले ल्याण्डपुलिङ कार्यक्रम अन्तर्गत सानो ठाउँ भए पनि नेपालटारदेखि उभोँ, मेरो घरदेखि तल युद्धस्तरमा काम भइरहेको छ। मैले भन्‍न खोजेको के भने सबै संघसंस्था,प्रदेश र संघ एक ढिक्का भइ  फिदिमको विकासमा बढ्नुको विकल्प छैन। त्यो कारणले नगरपालिकाले यो गर्ने त्यो गर्ने भन्दापनि मैले प्रष्ट रूपमा भन्छु, यही नगरपालिकाको ११ नम्वर वडाको हुनुहुन्छ। प्रदेशको आर्थिक मामिलामन्त्री र संघीय सांसद पनि यही नगरपालिकाको वडा नम्बर १ को हुनुहुन्छ। यसले गर्दा मैले उहाँहरूलाई के भनेको छु भने हामी पावरमा आयौं। हामीले विकास गर्नुपर्छ। विकासको पूर्वाधार हामीले खडा गर्न सकेनौं भने भोली यसको असर मलाई मात्रै होइन तपाईहरूलाई पनि पर्न जान्छ। उहाँहरूले हुन्छ भन्‍नुभएको छ। हामीले मिलेरै अघि बढ्ने हो। हाल सहरी विकास आयोजनाले बजारभित्रको गणतन्त्रचोकदेखि शनिवारेसम्म साढे १३ करोडमा पिच गर्दैछ। असार मसान्तमा ठेक्का पनि हुँदैछ।

    प्रसङ्ग बद्लियो। स्मार्ट सिटीमै केन्द्रित होऔं। स्मार्ट सिटी चाँही कतै तपाईले देख्नु भएको थियो कि ? सुनेकै आधारमा लहैलहैमा लागेर भन्नु भएको थियो?

    मैले स्मार्ट सिटी देखेर भनेको होइन। यो चाहीँ के हो भने समयको माग। फिदिम नगरपालिकाचाहीँ स्मार्ट सिटी बन्‍नैपर्ने भएकाले बोल्याथें। स्मार्ट सिटीलाई व्यवस्थित गर्न नगरपालिकाबाट पनि सर-सहयोग भएकै छ।

    नगरपालिकाको पुँजीगत बजेट र चालु बजेट खर्च गर्ने क्षमता देखिएन। शतप्रतिशत नहुने देखियो। असार पहिलो सातासम्म पुँजीगत खर्च ७१ दशमलव ८६ प्रतिशत थियो। खर्च गर्न नसक्नुको कारण के ?

    हामीले जुन राजस्व अपेक्षा गरेअनुसार उठाउन सकेनौं।

    तीन करोड ३० लाख प्रस्तावित राजस्व थियो। कति उठ्यो ?

    त्यसमा १ करोड बढी होला। मैले अहिले एकिन् भन्‍न सक्दिनँ। यस्तो हुनुमा कर्मचारीले पनि जोश जाँगर लगाइदिएनन्। फिदिम नगरपालिकालाई समृद्ध बनाउन हामी सबै छौं। अहिले चाहीँ २ वर्षको अनुभवले वडाहरूमा बढी बजेट बिनियोजन गरेको भन्ने भयो। कुखुरालाई मकै छरे जस्तो बजेट बिनियोजन भएछ। खाली बाटो एउटा गाउँमा पुर्‍याउने। अनि टोल र व्यक्तिको घरमा पुर्‍याउने। त्यसमै बजेट खर्च भयो।

    अनि नेकपानिकट वडाध्यक्षहरूले त विरोध गरे नि विज्ञप्ती निकालेर! बजेट कम भयो भनेर!

    होइन, त्यो त यस्तो भयो। पहिलो साल नै ६०-६० लाख बजेट विनियोजन भयो। त्यसपछि पोहोर साल १ करोड मागे। अनि घटाउँदा घटाउँदा ८० लाखमा झारियो। मैले भन्‍नु पर्दा वडाध्यक्षहरुलाई अलिक ठूलो बजेट चलाउने बानी परेछ। त्यहाँ स्वार्थ के थियो म जान्दिनँ। त्यसकारण अघि पनि मैले भनेँ यसवर्ष ठोस काम गरौं भनेर वडामा ४० लाख बजेट दिएको छु।

    विज्ञप्तीको आशय चाहीँ मेयरले बजेट नियन्त्रण गर्न खोजे भन्‍ने थियो।

    नियन्त्रण भन्दा पनि मैले के गल्ती गरेछु भने पहिलेदेखि नै वडाको बजेटमा कञ्जुस्याईँ नै गर्नु रहेछ, गरिनँ। मैले कञ्जुस्याईँ गरेर खाने पनि होइन। तर मेरो विचार र उहाँहरूको विचारमा अलिकति फरकचाहीँ आयो। किन आयो भने म अलिक ठोस काम गरौं भन्‍ने उहाँहरूचाहीँ पपुलर बन्‍न झिनो मसिनो काम भएपनि धेरै गर्नुपर्छ भन्‍ने। यो मत यसरी विभाजित भएको हो। तपाईंले विषय उठाई हाल्नुभो। फिदिम नगरपालिकामा जनप्रतिनिधिको स्थिति हेर्दा नेपाली कांग्रेसको दुईतिहाइ मत छ। तर सौतेनी आमाको व्यवहार नेकपाले जितेको ५ वडामा कहिले गरिनँ र भविष्यमा पनि गर्ने पक्षमा छैन।

    तर, नगरपालिकाको पशु विकास समितिले बिनियोजन गरेको बजेटसहितको कार्यक्रममा चालु आर्थिक वर्षमै गरेको हो नि विभेद होइन ?

    त्यही त म भन्दैछु। रूपैयाँको त कुरै छोड्नुहोस्। नेपाली कांग्रेसले जितेको वडामा एक पैसा पनि मैले बढी लगाइदिएको छैन। समान छ। र, कम भयो भनेर विज्ञप्ती निकाले साथीहरूले। मसँग रिसाए। र, पछिबाट के समन्वय भयो भने फेरि वहाँहरूलाई बोलाएर नगरपालिकाले १०-१० लाख थपिदियो। अनि अहिले ५०-५० लाखमा चित्त बुझाएका छन्। त्यसकारण मैले विभेदकारी नीति कहिल्यै अपनाएकै छैन।

    बजेट पुस्तिककामा त १४ वटा वडाको लागि ७ करोड अलिक बढि मात्रै रहेछ बजेट। तपाईसँग चाहीँ समपूरक कोष भनेर अझ बढी बजेट छ क्यारे।

    छैन। करिब ८ करोड भन्दा बढी नगरपालिकाको खर्च र कर्मचारी पारिश्रमिकसहित छ। अहिले समपूरक कोष भनेर पुग अपुग ४ करोड ९० लाख राख्न चाहीँ खोजिरहेका छौं। त्यो  पनि एकिन आइसकेको छैन।

    आगामी आर्थिक वर्षको प्रस्तावित बजेट ३२ करोड ६८ लाख ६६ हजार रूपैयाँ छ। अनुमानित आन्तरिक आय ३ करोड ३० लाख नै छ। गत वर्ष जति नै। खर्चको स्थितीलाई हेर्दा चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट खर्च हुने अवस्था छैन।

     आगामी आर्थिक वर्षको प्रस्तावित बजेटचाहीँ शतप्रतिशत खर्च गर्ने त्यस्तो केही छ योजना ?

    होइन, त्यो त गर्ने पक्षमै छौं हामी त। तथ्य कुरा के छ भने आमजनप्रतिनिधिको कुरा आयो उपभोक्ताबाट हुनुपर्छ भन्‍ने र कर्मचारीको कुरा आयो टेण्डरमा गएर गर्नुपर्छ भन्‍ने। यसमा मत विभाजन भएर धेरै अल्झियो। केही सीप नलागेपछि कार्यपालिका बैठकमा पेलेर अहिले ऊर्जा समितिबाट काम भइरहेको छ। त्यस्तो व्यवधान नभएको भए अस्ति अस्ती वडा कार्यालयहरू पनि बनि सक्थे।

    स्थानीय तहहरूले वर्षेनि बजेटसहितको नीति र कार्यक्रम सार्वजनिक गर्दै आएका छन्। तर गुरू योजना चाहीँ छैन। फिदिम नगरपालिकासँग पनि छैन। यसले गर्दा फिदिमको समृद्धिको गन्तव्य कहाँसम्म हो भन्‍ने स्पष्ट भएन नि ?

    यो कुरा एकदम मैले पनि मानेँ। यसपटकदेखि गुरू योजना बनाएर जानुपर्छ भन्‍ने हो। गुरुयोजना बनाएर ठोस काम गर्नु पर्छ।

    अहिलेसम्म चाहीँ कहाँ पुग्ने भन्ने थाहा नभएको यात्री जस्तै भयो होइन ?

    होइन यो दुई वर्ष त प्रायः त्यस्तै नै भयो। किनभने हामीलाई पनि त्यति अनुभव भएन। अब नयाँ नीति अवलम्बन गरेर जानु पर्ने। राजश्वकै कुरा गर्नुपर्दा हेर्नुहोस् ३-४ चोटी हामीले त्यसलाई परिमार्जन गर्नुपर्‍यो। त्यसपछि अनेक चुनौती आए। घरका नक्सा र अभिलेखीकरणका कुरा भए। यी यस्ता कुराहरूमा हामी अल्मलिएर बस्यौं। नागरिकलाई सम्झाई बुझाई गर्न पनि धेरैबेर लाग्यो।

    बजेटसहितको नीति कार्यक्रममा यस वर्ष आवधिक योजना बनाउने चाँही रहेछ। योजनाले प्राथमिकता के केलाई दिन्छ ?

    पहिलो कुरा त विकासे पूर्वाधार बाटो नै हो। बाटोमा मैले अघि पनि भनेँ, ती ५ वडामा ग्राभेल र नाली पुर्‍याउने। सपना त पिच नै पुर्‍याउने  हो। अनि संघीयतालाई संस्थागत गर्न र पालिकालाई समृद्ध गराउन बाटोघाटो त २ दुई वर्षमा पिच नभएको भन्‍ने हुँदैन।

    स्थानीय तहहरू सम्बन्धित पार्टीका कार्यकर्तालाई मागी खाने भाँडो भो भन्‍ने जनताको आरोप छ। फिदिम नगरपालिकामा पनि त्यस्तै छ। स्वीकार्नु हुन्छ ?

    होइन, मैले त अघि नै जवाफ दिईसकेँ नि। मैले आफ्ना कार्यकर्तालाई पोसाउने भएदेखि त  बजेट विनियोजनमै म पक्षपात गरिहाल्थें नि।

    त्यसो भने झुट हो ?

    झुट हो। फिदिम नगरपालिकाको निम्ति। अन्यको चाँही म जान्दिनँ।  अनि अर्को आरोप, सिंहदरवारको अधिकार गाउँगाउँमा आयो। र सिंह पनि सँगै आयो भन्‍ने छ।

    दुईतिहाइ मतसहितको नेकपा नेतृत्वको सरकार छ, प्रदेश र संघमा। तर किन निरीह भएर बसेको छ ?

    मूल्याङ्कन गर्नु पर्ने स्थिति छ। यो मुलुक झण्डै १५ वर्ष जनप्रतिनिधिविहीन भयो। त्यसकारण त्यतिबेला एउटा सचिवलाई सचिव र अध्यक्षको जिम्मेवारी सुम्पेकाले कर्मचारीहरूको मनस्थिति अत्यन्तै बिग्रेको छ। र अहिले पनि हेर्नुहोस् मन्त्री त परै जाओस् प्रधानमन्त्रीले अह्राएको काम सचिवले गर्दैनन्।

    फिदिम नगरपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीबीच निक्कै तनाव भयो होइन त? कर्मचारीले असहयोग गरेर हो ?

    हो। मैले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई यहाँदेखि नधपाई नहुने स्थिति सिर्जना भयो। मैले बाध्य हुनुपर्‍यो। मैले धेरै समय दिएँ। तिमी भनेको कर्मचारी,म भनेको जनप्रतिनिधि। तिमीले कर्मचारी मात्रै भएर बस्नुपर्‍यो। मैले अह्राएको काम गर्नु पर्‍यो भनेर मैले धेरै पटक सम्झाएँ। तर खाली मसँग राजनीति गर्न खोज्ने। सिङ जोड्न खोज्ने।

    अनि अब भाँचिदिनुभएको हो सिङ ?

    होइन।

    अहिले कर्मचारीबाट कस्तो सहयोग छ?

    सहयोग छ र सहज छ।

    नगरपालिकाभित्र निर्माण गरिने घरका धनी र मजदुरबीच करार बीमा गर्न प्रोत्साहन गर्ने नगरपालिकाको नीति छ। किन?

    मजदुर भन्‍नाले डकर्मी सिकर्मीको मात्रै कुरा भएन। बजारमा लोड अनलोड गर्ने मजदुर पनि छन्। त्यसको निम्ति नगरपालिकाले गत साल ५ लाख छुट्याएको थियो। कर्मचारीसँगको अनमेलले कार्यान्वयनमा लान सकेनौं। त्यसैलाई निरन्तरता दिन त्यसो गर्न लागिएको हो।

    करार बीमा चाहीँ कतिसम्मको हुन्छ ?

     त्यो चाहीँ मलाई एकिन भएन। बिमावापत पाउने रकम पनि कोही बाँच्दै दिनु पर्ने भन्‍ने एकथरी अर्कोथरी चाहीँ मरेपछि दिनु पर्छ भन्ने। मत बाझिएको छ।

    कहिलेदेखि कार्यान्वयनमा आउँछ ?

    तुरुन्तै।

    नगरपालिकाको नारा छ कि कृषि, उद्योग, ऊर्जा, पर्यटन, व्यापार र पूर्वाधार, समृद्ध फिदिमका ६ आधार। तर उद्योग र पर्यटनलाई त हालै सार्वजनिक नगरको बजेटले सम्बोधन गरेको देखिएन त।

    त्यसो होइन। समपूरक कोषमार्फत लगानी गर्ने भनेर बजेट राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]