विपद् व्यवस्थापन योजनाविहीन

|

बैतडी : वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पीरले सताउन थालेको छ। प्रत्येक बर्ष पहिरोले नोक्सानी गर्ने ठाउँका नागरिक वर्षा शुरु भएसँगै चिन्तित बनेका हुन्।

जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिकाका विभिन्न स्थानमा पहिरोको जोखिम रहेको स्थानीयले बताएका छन्। डिलाशैनी गाउँपालिका ६ को साउन गाउँ, नगराउँ, देवगाउँ, ल्वारी खेत, बांगाबगर लगायतका ठाउँमा पहिरोको जोखिम रहेको स्थानीय समाजसेवी सुुरेश श्रेष्ठले बताए। सुख्खायाममा चर्के जमीनमा वर्षातको पानी पहिरो खस्ने गरेको छ। 

प्रत्येक वर्षातमा पहिरोले रातको निद्रा हराउने गरेको स्थानीय गोजे लुहारले बताए। पहिरोका प्रत्येक वर्ष खेतबारी नष्ट हुने गरेको छ। २०६० सालदेखि निरन्तर रुपमा खसीरहेको बांगाबगर पहिरोले पनि स्थानीयलाई मारमा पारेको छ। सो पहिरोले प्रत्येक वर्ष क्षति पुर्‍याउने गरेको श्रेष्ठको भनाई छ। 

पहिरोको कारण दोगडाकेदार गाउँपालिका ६ डोलका स्थानीयहरूलाई समस्या भएको छ। कमेरोयुक्त माटोका कारण प्रत्येक वर्ष पहिरो खस्ने भए पनि जोखिम मोलेर बस्नुपर्ने बाध्यता रही आएको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिए।

पहिरोका कारण जमीन भासिएर गाउँभरीका घरहरु बांगा भएका उनले बताए। प्रत्येक बर्षातमा खेत बगाउने क्रम जारी रहेको छ। यस्तै पुरचौंडी नगरपालिकाको मल्लादेहीमा कमेरपानी पहिरोले प्रत्येक वर्ष समस्या निम्त्याउने गरेको स्थानीय गणेश साउदले बताए। यस्तै मेलौली नगरपालिका ८ र ९ मा पहिरोका कारण ६०० घरपरिवार जोखिममा रहेका छन्। पहिरोले प्रत्येक वर्ष क्षति पुर्‍याउने गरेको स्थानीयहरूले बताएका छन्। 

स्थानीय तहसँग छैन् विपद् व्यवस्थापन योजना  

बैतडीका स्थानीय तहहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद् जोखिम न्यूनीकरणमा समस्या देखिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ४ ओटाले मात्रै विपद् व्यवस्थापन योजना बनाउन सकेका छन्। अन्य स्थानीय तहहरूले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन्। 

स्थानीय तहहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा समान्य समस्या लिएर नागरिक सदरमुकाम धाउन बाध्य भएका छन्। प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरेर योजना बनाउनुपर्ने भए पनि बैतडीका ६ ओटा तहहरूले अझै योजना बनाउन सकेका छैनन्। विपद् व्यवस्थापन योजना नहुँदा कार्यविधि बनाएर समस्यामा परेका नागरिकलाई सहयोग गर्ने गरिएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।

विपद् व्यवस्थापन योजनाको अभावमा समस्या भएकाले योजना बनाउने तयारी भइरहेको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए। यस्तै जिल्लाको सिगास गाउँपालिकाले विपद् व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको र योजना बनाउने तयारी पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए।

जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकासँग मात्रै मात्रै विपद् व्यवस्थापन योजना रहेको छ। स्थानीय तहहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद् जोखिम न्यूनीकरणका कामहरू प्रभावकारी नभएका नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए।

प्रसूति सेवा केन्द्रको भवनमा पहिरो 

बैतडीको दशरथचन्द नगरपालिका ५ मा निर्माणाधीन प्रसुती सेवा केन्द्रको भवनमा पहिरो खस्दा छाना र ट्रसमा क्षति पुगेको छ। भैंसगौंडा-पल्लाचौंडाली-औला सडकबाट खसेको पहिरो प्रसूति सेवा केन्द्रको निर्माणाधीन भवन परेको हो। पहिरोले निर्माण कार्य अन्तिम चरणमा रहेको प्रसूति सेवा केन्द्रको छानो र ट्रसमा क्षति पुर्‍याएको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिए।

बिना स्टमेट डोजरले काटिएका कच्ची सडकले विभिन्न ठाउँमा क्षति पुर्‍याउन थालेका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको २० लाखको सहयोगमा सो प्रसूति सेवा केन्द्रको भवन निर्माण भइरहेको छ भने सडकमा समेत प्रदेश सरकारले स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ।

सडकहरूमा पर्खाल, नाली लगायतका पूर्वाधार नहुँदा कच्ची सडकहरूले वर्षेनी विभिन्न ठाउँमा क्षति पुर्‍याउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.