|

काठमाडौं : १२औँ संस्करणको विश्वकपको फाइनलपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। आईसीसीले सोमबार न्युजिल्यान्डका कप्तान केन विलिम्सनको नेतृत्वमा ११ सदस्यीय ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको हो। 

टिममा विजेता इंग्ल्याण्डका सर्वाधिक ४, न्युजिल्याण्ड, अष्ट्रेलिया र भारतको २-२ खेलाडी परेका छन। बंगलादेशका एक खेलाडी परेका छन्। आईसीसीको पाँच सदस्यीय कमिटीले टिम घोषणा गरेको हो। टिममा कमेन्टेटर इयान बिसप, इयान स्मिथ, इशा गुह, आईसीसीका प्रतिनिधि जियफ अल्लाडाइस र पत्रकार लरेन्स बुथ थिए।

टिममा कप्तान विलियम्सनसँगै जासन रोय, रोहित शर्मा, जोय रुट, शकिब अल हसन, बेन स्टोक्स, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जसप्रित बुमराह रहेका छन्। 

टिमको १२ औं खेलाडीमा ट्रेण्ट बोल्ट छन्। विश्वकपमा सर्वाधिक रन बनाउने १० मध्ये ६ खेलाडी आइसीसी टिममा समावेश छन्। ६४७ रन बनाएर दोश्रो स्थानमा रहेका अष्ट्रेलियाका डेविड वार्नर, ५३२ रन बनाएका इङल्यान्डका जोन ब्रिस्टो, ५०७ रन बनाएका अष्ट्रेलियाका एरोन फिन्च र ४७४ रन बनाएका पाकिस्तानका बाबर आजम टिममा परेनन्।

त्यसैगरी सर्वाधिक विकेट लिने शिर्ष ५ मध्ये ४ खेलाडीले आइसीसी टिममा स्थान बनाए। ८ खेलमा २० विकेट लिँदै चौथो स्थानमा रहेका बंगलादेशका मुस्ताफिजुर  रहमानले आइसीसी टिममा स्थान बनाउन सकेनन्। 

यस्तो रहयो टिम ११ को प्रर्दशन

रोहित शर्मा (भारत)

भारतीय टिमका ओपनर रोहित शर्मा विश्वकपको सर्वाधिक रन बनाउने खेलाडी हु्न्। उनले १२ औ संस्करणको विश्वकपमा ९ खेलमा ६४८ रन बनाएका छन्। जुन औषतमा प्रति खेल ८१ रन हुन् आउँछ। ५ वटा शतक र १ अर्धशतक बनाएका उनले प्रतियोगिता अवधी भर व्यक्तिगत सर्वाधिक स्कोर १४० रन चिरप्रतिद्धन्द्धी पाकिस्तानविरुद्ध बनाएका छन्। शर्मा एउटै विश्वकपमा ५ शतक बनाउने एकला खेलाडी हुन्। आइसीसीको टिम ११ मा उनलाई ओपनर व्याटसमेनको रुपमा समावेश गरिएको छ। 

जेसन रोय ( इङल्यान्ड)

दक्षिण अफ्रिकामा जन्मिएका इङल्यान्डका अनुभवी व्याटसमेन जेसन रोय आइसीसी टिम ११ को दोश्रो स्थानमा रहेका छन्। उनलाई भारतका रोहित शर्मासँग ओपनिङ जोडीको रुपमा आइसीसीले टिम ११ मा समावेश गरेको हो। 

विश्वकपको ८ खेलमा मात्र सहभागीता जनाएका उनले एउटा शतक र ४ अर्धशतकसहित ४४३ रन बनाउदै सर्वाधिक रन जोडने खेलाडीको सूचीमा १० औ स्थानमा रहे। १२ औ संस्करणको विश्वकपमा एकै खेलमा सर्वाधिक रन बनाउने सूचीमा डेभिड वार्नर (१६६) पछि उनको नाम छ। बंगलादेशबिरुद्ध उनले व्यक्तिगत १५३ रन जोडेका थिए। ३ जुन २०१९ मा पाकिस्तानविरुद्ध व्याटिङ गर्दै एक दिवसीय क्रिकेटमा उनले ३ हजार रन पुरा गरे। 

केन विलिम्सन ( न्युजिल्यान्ड)

न्युजिल्यान्ड टिमका कप्तान केन विलिम्सनलाई आइसीसीले टिम ११ को नेतृत्वकर्ताको रुपमा उभ्याएको छ। किवी टिमबाट १० खेलमा सहभागीता जनाएका केन सर्वाधिक रन जोडने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका छन्। 

उनले प्रतिखेल ८२.५७ को औषतमा ५७८ रन जोडेका छन्। २ शतक र २ अर्धशतक प्रहार गरेका उनी एकै खेलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा इयान मोर्गनपछि पाँचौ स्थानमा छन्। वेस्टइन्डिजविरुद्ध उनले १४८ रन बनाउदै मार्गनसंग बराबरी गरेका हुन्। विश्वकपमा उनको स्ट्राइक रेट ७४.९६ रहयो। 

जोय रुट ( इङल्यान्ड)

इङलिस टेस्ट टिमका कप्तान रुटले आयोजक टोलीबाट ११ खेल खेल्दै प्रति खेल ६१.७७ को औषतमा ५५६ रन बनाएका छन्। आयोजक टोलीका टप अर्डरका ब्याट्सम्यान रुटले २ शतक र ३ अर्धशतक प्रहार गरेका छन्। स्ट्राइक रेट ८९.३३ रहेका रुटले पाकिस्तानविरुद्ध १०७ रन बनाउदै १२ औ विश्वकपमा पहिलो शतक प्रहार गर्ने खेलाडीको रुपमा आफुलाई उभ्याए। रुट सर्वाधिक रन जोडने खेलाडीको सूचीमा विलिम्सनपछि पाँचौ स्थानमा छन्।

शकिब अल हसन ( बंगलादेश)

बंगलादेशका अलराउन्डर शकिव आइसीसी टिम ११ मा सेमीफाइनल प्रवेश नगर्ने टोलीको प्रतिनिधि हुन्। ८ खेलमा सहभागी अलराउन्डर सकिवले व्याटिङ र बलिङमा जादु चलाए। २ शतक र ५ अर्धशतक सहित प्रति खेल ८६.५७ को रनरेटमा ६०६ रन प्रहार गर्दै रोहित शर्मा र डेविड वार्नरपछि तेश्रो सर्वाधिक रन जोडने खेलाडी हुन् सकिव। 

वेस्ट इन्डिजविरुद्ध बंगलादेशले ७ विकेटको जित निकाल्दा सकिवले नटआउट १२४ रन जोडेका थिए। प्रतियोगिताभर कुल ११ विकेट हात पारेका स्पिनर सकिवले अफगानी व्याटिङलाइन ध्वस्त बनाउन १० ओभरमा २९ रन खर्चदै ५ विकेट हात पारेका थिए। एकै खेलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा मिचेल स्र्टाक पछि उनी दोश्रो स्थानमा छन्। प्रति ओभर ५.३९ इकोनमी रहेका उनले प्रति खेल औषतमा ३६.२७ रन दिएका छन्।  

वेन स्टोक (इङल्यान्ड)

न्युजिल्यान्डमा जन्मिएर इङल्यान्डका लागि क्रिकेट खेल्ने स्टोक शिर्ष ११ मा पर्ने सकिव पछिका दोश्रो अलराउन्डर हुन्। उनी इङल्यान्डलाई विश्वकप दिलाउने महत्वपुर्ण खेलाडी बने। फाइनलमा व्यक्तिगत ८४ रन बनाएका उनले जितका लागि ९ रन आवश्यक रहेका अवस्थामा ओभर थ्रो बल व्याटमा लागेर बाउन्ड्री पुगेपछि पाएको महत्वपूर्ण ६ रन इङल्यान्डको लागि उपाधी जित्ने आधार बन्यो। 

जुन स्कोर प्रतियोगितापछि विवादास्पद भएको छ। उनले विश्वकपमा ६६.४२ को औषतमा ४६५ रन बनाए जस्मा ५ अर्धशतक समावेश छ। उनले दक्षिण अफ्रिकाविरुद्ध ८९ रन बनाएका थिए। जुन उनको व्यक्तिगत सर्वाधिक स्कोर रहयो। ११ खेलमा सहभागी हुँदै प्रति ओभर ४.८३ रन दिँदै महत्वपुर्ण ७ विकेट लिए। उनको उत्कृष्ट बलिङको रुपमा २३ रन खर्चदै ३ विकेट रहेको छ। 

एलेक्स केरी (अष्ट्रेलिया)

अष्ट्रेलियन एलेक्स केरी आइसीसी टिम ११ मा पर्ने विकेटकिपर व्याट्समेन हुन्। १० खेलमा ३ अर्धशतकको मद्धतले ३७५ रन बनाएका उनले १८ क्याच र २ स्टम्प आउट गरेका छन्। केरी सर्वाधिक रन स्कोर गर्ने खेलाडीको सूचीमा १४ औ स्थानमा छन्।  १०४.१६ स्ट्राइक रेट रहेका केरीले व्यक्तिगत स्कोर तर्फ सर्वाधिक ८५ रन बनाएका छन्।

मिचेल स्टाक (अष्ट्रेलिया)

विश्वकपमा सर्वाधिक विकेट लिएका मिर्चेल स्टाक टिम ११ मा पर्ने एक मात्र अष्ट्रेलियाका बलर हुन्। कुल १० खेलमा २७ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलाडी चुनिएका हुन्। जस्का लागि उनले ५०२ रन खर्चिए। स्र्टाकले ४ खेलमा ४ जनाको दरले विपक्षी टिमका खेलाडी आउट गरेका थिए। 

उनले समूह चरणको दोश्रो खेलमा न्युजिल्यान्डको व्याटिङलाइन ध्वस्त बनाउन  २६ रन खर्चिएर ५ विकेट लिएका थिए। उत्कृष्ट बलिङ फिगरमा पाकिस्तानका साहिन अफ्रिदी पछि उनी दोश्रो स्थानमा छन्। शाहिनले ३५ रन खर्चदै बंगलादेशको ६ विकेट लिएका थिए। १२ औ विश्वकपमा एकै खेलमा ५ विकेट लिने स्टार्क पहिलो खेलाडी हुन्। प्रतियोगितामा स्र्टाकको बलिङ इकोनोमी प्रति ओभर ५.४३ रन रहेको छ। 

जोफ्रा आर्चर ( इङल्यान्ड)

वार्वाडोसमा जन्मिएका २४ बर्ष स्टार जोफ्रा आर्चरले सन २०१९ मा एक दिवसीय क्रिकेटमा डेव्यु गरेका हुन्। विश्वकपमा ११ खेलमा कसिलो बलिङ गर्दै इङल्यान्डका लागि २०  विकेट लिए। जस्का लागि ४९१ रन खचिएका छन्।

शीर्ष विकेट लिनेको खेलाडीको सूचीमा उनी तेश्रो स्थानमा रहे। प्रतियोगिताभर उत्कृष्ट बलिङको रुपमा दक्षिण अफ्रिकाविरुद्ध २७ रन खर्चदै ३ विकेट लिए। प्रतियोगितामा एक खेलमा औषत २३.०५ का दरले रन दिए। 

लक्की फर्गुसन ( न्युजिल्यान्ड)

किवी टोलीका लागि विश्वकपमा ९ खेलमा सहभागी हुँदै लक्की फर्गुसनले २१ विकेट लिए। सर्वाधिक विकेट लिने सूचीमा अष्ट्रृेलियाका मिर्चेल स्टार्कपछि उनी दोश्रो स्थानमा रहे। ४.८८ प्रतिओभर इकोनोमी रहेका फर्गुसनले अफगानिस्तानविरुद्ध ९.१ ओभरमा ३७ रन खर्चदै ४ विकेट लिए। जुन उनको २०१९ को विश्वकपमा एकै खेलमा लिएको सर्वाधिक विकेट हो। 

जसप्रित वुमराह ( भारत)

जसप्रित बुमराह आइसीसी टिम ११ मा पर्ने एक मात्र भारतिय बलर हुन्। भारतको तर्फबाट ९ खेलमा सहभागी हुँदै उनले औषत ४.४१ को इकोनमीमा १८ विकेट लिएका छन्।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी पाँचौ स्थानमा छन्। भारतको तर्फबाट एक दिवसीय क्रिकेटमा छिटो १०० विकेट पुरा गर्ने उनी दोश्रो खेलाडी बनेका छन्। श्रीलंकाविरुद्ध विकेट लिँदै उनले ५७ खेलमा लक्ष्य पुरा गरेका हुन्। बुमराह भन्दा अघि ५६ खेलमा मोहम्मद सामीले लक्ष्य पुरा गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.