एकै दिन १४ अर्ब पुँजीगत खर्च, तर पनि पूगेन संशोधित लक्ष

|

काठमाडौं :  सरकारले पछिल्लो तीन दिनभित्र अस्वभाविकरूपले पुँजीगत खर्च वृद्ध गरेको छ। चालु आर्थिक वर्षभित्र भुक्तानी गरिएको पुँजीगत खर्चमा पछिल्लो तीन दिन अर्थात् असार २९, ३० र ३१ गते मात्रै ७९ अर्ब रुपैयाँ निकासा गरिएको छ। असार मसान्त अर्थात् मंगलबार मात्रै २१ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ भुकतानी गरिएको छ।

चालु आर्थिक वर्षमा तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँको पुँजीगत खर्च विनियोजन गरिएको थियो। जसमा ७५.६६ प्रतिशत अर्थात् दुई खर्ब ३७ अर्ब ८० करोड १० लाख रुपैयाँ खर्च गरिएको छ। तर तीन दिनमा मात्रै ३७ अर्ब रुपैयाँ खर्च गरिएको छ। खर्च गरिएको रकमलाई आधार मान्ने हो भने तीन दिनको अवधिमा १५ प्रतिशत पुँजीगत खर्च सरकारले गरेको छ। अन्य ३६२ दिनमा ८५ प्रतिशत भएको छ।

महालेखा कार्यालयको तथ्यांक विश्लेषण शाखाका अनुसार मंगलबार साँझ ९ बजेसम्म २१ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। जसमा पुँजीगत खर्च मात्रै १४ अर्ब ९ करोड ३१ लाख रहेको छ। मंगलबारसम्म गरिएको पुँजीगत खर्चको आधारमा एक दिनमै ६ प्रतिश पुँजीगत खर्च भएको छ।

वर्षको सबैभन्दा बढी खर्च भने सरकारले सोमबार गरेको महालेखा स्रोतले जानकारी दिएको छ। सोमबार भएको खर्चबारेमा महालेखाका अधिकारीहरू भने बोल्न चाहँदैनन्।

‘कति खर्च भएको छ भन्न सकिने अवस्था छैन, वेबमा समस्या आएको छ’ महालेखाका सूचना अधिकारी दिनेश रेग्मीले भने। तर दिनभर वेबबाट नै काम गरिए पनि सर्वसाधरणले हेर्न मिल्ने गरी तयार गरिएको रियल टाइम बन्द गरिएको थियो।

रेग्मीका अनुसार हालसम्म भएको खर्च र उठेको राजस्वमा केही करोड तलमाथि अझै पर्न सक्छ।

चालु खर्चको पनि अन्तिम दिनमा

पँजीगत खर्च मात्रै नभएर नियमित खर्चमा रुपमा भुक्तानी गरिने चालु खर्च पनि अन्तिम तीन दिनमा अत्यधिक भुक्तानी गरिएको छ। ३ दिनको अवधिमा २२ अर्ब भन्दा बढीको पुँजीगत खर्च गरिएको छ।

असारमसान्तको दिन मंगलबार मात्रै सात अर्ब २४ करोड ९९ लाख रुपैयाँको भुक्तानी गरिएको छ। त्यस्तै आइतबार र सोमबार चालु खर्च बापतको १५ अर्ब रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै पछिल्लो तीन दिनमा वित्तीय व्यवस्थातर्फको खर्च २० अर्ब भुक्तानी गरिएको छ। वित्तीय व्यवस्थापन तर्फको खर्च भने धेरै वर्ष अन्त्यमा नै गरिने गर्छ।

संशोधित लक्ष पनि भएन पूरा

वर्षको अन्त्यमा मनपरी खर्च गरिए पनि दुई पटक संशोधन गरेर राखिएको लक्ष्य पनि पुरा भएको छैनन। संशोधित लक्षअनुसार विनियोजित बजेटको ९१.२ प्रतिशत अर्थात् ११ खर्ब ९९ अर्ब रुपैयाँको बजेट खर्चु गर्नुपर्ने थियो।

तर संशोधित लक्षकै तुलनामा  ९० प्रतिशत मात्रै बजेट खर्च भएको छ भने विनियोजित बजेटमा ८३.२० प्रतिशत खर्च भएको छ। पुँजीगत खर्चतर्फ विनियोजित बजेटको ८७ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब रुपैयाँको लक्ष निर्धारण गरेकोमा दुई खर्ब ३७ अर्ब रुपैयाँ मात्रै खर्च गरको छ। यसमध्ये ३७ अर्ब रुपैयाँ पछिल्लो तीन दिनमा खर्च गरिएको हो भने १४ अर्ब रुपैयाँ मंगलबार मात्रै खर्च गरिएको हो।

वित्तीय व्यवस्थापन खर्च भने विनियोजित गरिएको बजेट बराबर हुन नसेक पनि संशोधित लक्षको तुलनामा बढी भएको देखिएको छ। एक खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान गरिएकोमा एक खर्ब ४१ अर्ब खर्च भएको छ।

८७ प्रतिशत मात्रै राजस्व

१० वर्षपछि सरकारले लक्ष अनुसारको राजस्व उठाउन असफल हुने देखिएको छ। आर्थिक वर्ष २०६६/६७ पछि सरकारले लक्षभन्दा बढी राजस्व उठाउन सफल भएकोमा चालु आर्थिक वर्षमा लक्ष पूरा हुन नसक्ने देखिएको हो।

चालु आर्थिक वर्षमा संघीय सरकारले ८६.८० प्रतिशत मात्रैको राजस्व उठाउन सकेको छ।  महालेखा कार्यालयका अनुसार हालसम्म सात खर्ब २१ अर्ब ६० करोड करोड ९७ लाख रुपैयाँको विभाज्य कोष बाहेकको राजस्व उठेको छ।

जसमा कर राजस्व बापतको ६ खर्ब ३३ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ र गैर करवापतको ८७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँको राजस्व उठेको छ। हालसम्म उठेको राजस्वमा मंगलबार मात्रै १२ अर्ब ९५ करोड ३८ लाख रुपैयाँको उठेको हो। जसमा ८ अर्ब ७६ करोड ८१ लाख रुपैयाँको राजस्व कर वापतको रहेको छ।

४ अर्ब ८८ रुपैयाँको राजस्व गैर करवापतको छ। सरकारले चालु आर्थिक वर्षमा विभाज्य कोष बाहेक आठ अर्ब ३१ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.