|

काठमाडौं : एक वर्षदेखि प्रशारण भइरहेको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रम बन्द भएको छ। अघिल्लो वर्ष साउन २ गतेदेखि प्रसारणमा आएको यो कार्यक्रम बुधबारदेखि बन्द भएको हो। 

होटल सोल्टीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रस्तोता मनोज पाण्डेले यो कार्यक्रमबाट विदा लिएको घोषणा गरेका हुन्। उनले प्रधानमन्त्रीको आडियो भिडियो विज्ञ पदबाट समेत राजीनामा दिएको त्यहीँ घोषणा गरे। 

प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि यो कार्यक्रम तत्कालका लागि बन्द भएको पुष्टि गरेको छ। ‘तत्काललाई यो कार्यक्रम बन्द भएकै बुझ्नुस्’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अहिलेलाई तत्काल प्रशारण गर्ने कुनै तयारी छैन। अर्को योजना नबनुन्जेल प्रसार नहुन सक्छ।’

'जनतासँग प्रधानमन्त्री' कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको पृष्ठभूमिमा पाण्डेले विदा लिएको घोषणा गरेका हुन्। 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको नाममा रकम उठाएको आरोप पनि पाण्डेमाथि लागेको थियो। 

विदा लिने क्रममा पाण्डेले बाहिर चर्चा भए जस्तो आफूले कुनै पनि सरकारी निकायबाट विज्ञापन नउठाएको दाबी गरेका छन्। उनलले कार्यक्रममा चलाउँदा सरकारी निकायबाट विज्ञापन नलिएको बताउँदै नेपाल टेलिभिजन र निजी टेलिभिजनमा पनि पैसा तिरेको जानकारी दिए। प्रधानमन्त्री कार्यालयले एक वर्षका लागि प्रतिस्पर्धा नगराइ पाण्डेको संस्था कथा नेपाललाइ कार्यक्रम चलाउने जिम्मेवारी सुम्पेको थियो। 

स्रोतका अनुसार प्रधानमन्त्रिले पार्टीका नेताहरू, सचिवालयका कर्मचारी र सल्लाहकारहरूको सुझावमा कार्यक्रम अघि नबढाउने निचोड निकालेका हुन्। कार्यक्रम नवीकरण नगर्ने प्रम कार्यालयको निर्णयानुसार पाण्डेले विदा लिएका हुन्। अब प्रधानमन्त्री कार्यालयमा समेत उनको कुनै भूमिका रहने छैन। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले एक वर्षमा ५० वटा कार्यक्रम चलेको बताउँदै विदेश जानुपरेकाले र स्वास्थ्यका कारण ४-५ वटा कार्यत्रममा भाग लिन नपाएको बताए। उनले एक वर्ष पुगेपछि मनोज पाण्डेले उक्त कार्यक्रम छाड्दा दुःख लागेको बताए।

‘मनोज पाण्डेले यो कार्यक्रमसँगै विज्ञका रुपमा स्वकीय सचिवालमा काम गर्न नसक्ने, अरु ढंगले काम गर्ने जानकारी गराउँदा स्वभाविक रुपमा मन त्यति प्रसन्न छैन’, प्रधानमन्त्रीले भने, ‘मनोज पाण्डेका कामहरुप्रति म सन्तुष्ट नैै छु। उनलाई नयाँ कामका लागि शुभकामना दिन्छु।’ 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.