अभ्यासका लागि ६ महिना समय माग

|

विराटनगर: विराटनगरका उद्योगी व्यवसायीले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम लागू गर्नु पूर्व अभ्यासकालागि सरकारले केही समय दिनुपर्ने बताएका छन्। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग बिहीबार विराटनगरमा भएको छलफलमा व्यवसायीले न्यूनतम ६ महिनादेखि एक वर्षसम्म अभ्यासको समय दिनु पर्ने बताएका हुन्।

व्यवसायीले देशको भौगोलिक बनोट, आधुनिक प्रविधिको ज्ञानको अभाव, लिंक फेल, सर्वर डाउन जस्ता समस्याले नयाँ प्रणाली कार्यान्वयनमा लैजान समय आवश्यक परेको भन्दै सरकारसँग समन्वय गर्न अध्यक्षसँग आग्रह गरेका थिए। अभ्यस्त हुन, सिक्न र सिकाउने समय दिएर नयाँ प्रणाली अवलम्बन गर्नु उपयुक्त हुने उनीहरूको सुझाव थियो। यससँगै उनीहरूले सो प्रणाली लागू गर्दा व्यवसाय वर्गीकरणको व्यवस्था हुनुपर्ने पनि बताएका छन्।

व्यवसायीले नेपाली कामदार बाहेक भारत र बंगलादेशका कामदार ल्याएर पनि उद्योग व्यवसाय चलिरहेको सन्दर्भमा सबैको पान नम्बर हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग गरेका छन्। सरकारले नयाँ ऐन, कानुन र प्रावधान ल्याउँदा उद्योग व्यवसाय ठप्प हुने अवस्था उत्पनन भएको पनि बताएका छन्।

उद्योगी–व्यवसायीलाई मर्का पार्ने गरी पान नम्बरको अनिवार्यताको व्यवस्थामा सरकार लचिलो हुनुपर्ने र मूल्य अभिवृद्धि कर फिर्तामा जटिलता आउन नहुनेतर्फ ध्यानाकर्षण गराइएको छ। व्यवसायीले अध्यक्ष राणा समक्ष ज्ञापनपत्रसमेत हस्तान्तरण गरेका थिए।

उनीहरूले उद्योग, प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (इन्धन) मा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता हुने व्यवस्था हटाइएकोमा यथावत राख्न पर्ने, बैंकको ब्याज तथा विमा कम्पनीबाट भएको अघोषित सिन्डिकेट अन्त्य गर्नुपर्ने ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि कर नीति तत्काल कार्यान्वयन गर्न नहुने लगायतका माग अगाडि सारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.