|

इटहरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीकी धाविका सरस्वती भट्टराईले तीनवटा स्वर्ण पदक जितेकी छन्। सोमबार बिहान महिला ८ सय मिटर दौडमा प्रथम भएसँगै उनले आफ्नो स्वर्ण पदक संख्या तीन पुर्‍याएकी हुन्।

उनले यसअघि १५ सय मिटरको महिला दौड र ४ गुणा चार सय मिटर रिले दौडमा पनि स्वर्ण पदक जितेकी थिइन्। डडेल्धुराको पोखरा घर भएकी २३ वर्षकी भट्टराईले एउटै प्रतियोगितामा तीनवटा स्वर्ण पदक जित्दा निकै खुशी लागेको प्रतिक्रिया दिइन्। तेश्रो स्वर्ण जित्ने क्रममा सोमबार बिहान ८ सय मिटर दौडमा उनले आर्मीकै सानुमाया कार्कीलाई पछि पारेकी हुन्। 

भट्टराईले १५ मिटर दौड ४ मिनेट ४३ सेकेन्डमा पूरा गरेर सशस्त्र प्रहरीकी फूलमति रानालाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। 

यसअघि सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेलेकी उनले त्यतिबेला कुनै पदक जितेकी थिइनन्। त्यतिबेला ७ दिन तालिम लिएर खेलेकी थिएँ, कुनै स्थान आएन सहभागी मात्र भएँ' उनले भनिन्।  

त्यसपछि नेपाल आर्मीमा भर्ती भएकी उनले निरन्तरको अभ्यासका कारण आफू सफल भएको बताइन्। सन् २०१६ मा भएको रियो ओलम्पिकमा समेत सहभागी भएकी उनले त्यहाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले १५ सय मिटर दौड ४ मिनेट ३३ सेकेन्डमा पूरा गरेर रामकुमारी पाण्डेको नाममा रहेको ४ मिनेट ३४ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन्।

८ सय मिटर दौडमा भने उनको वेष्ट टाइम २ मिनेट १३ सेकेन्ड हो। तर राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्स ट्र्याक त्यति राम्रो नभएका कारण प्रदर्शन सुधार हुन नसकेको भट्टराईले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.