|

बारा : नेपालको पहिलो पेट्रोलियम पाइपलाइनबाट तेल भित्रिएको छ। भारत क्रसबोर्डरमा पहिलो पटक पठाइएको डिजेल शुक्रबार बिहान ९ बजे बाराको अमलेखगञ्जमा खसाइएको छ। 

भारतको मोतीहारीबाट बुधबार पठाइएको एक हजार लिटर डिजेल अमलेखगञ्ज डिपोमा खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए। भारतीय आयल निगम (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक डिजेल पठाएको हो। ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो।

इन्जिनियर पौडेलका अनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आइपुगेको थियो। पाइपलाइनबाट पानी खसिसकेपछि डिपोमा रहेको चार वटा ट्यांकीमा एक हजार लिटर डिजेल भरिँदै गरिएको पौडेलले बताए। ‘एक हजार लिटर डिजेल ट्यांकीमा खसिसकेपछि अहिलेलाई पाइप बन्द गरिएकोछ’, उनले भने, ‘पाइपलाइनको औपचारिक उद्घाटनपछि मात्रै व्यवसायिक रुपमा तेल आउन सुरु हुन्छ।’

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन। ‘हाम्रो परीक्षण सफल भएको छ’ सरकारले उद्घाटनको गरेपछि मात्र नियमित तेल ल्याइन्छ।’ पाइपमा तेल भरी राख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए। पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली अमलेखगन्जमा आएको छ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो।

तत्काल पाइपलाइन निर्माणका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौंमा सम्झौता भएको थियो। सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थालेको थियो।

निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो। पूर्वनिर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ। कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ। उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ।

पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगन्ज डिपो प्रमुख यादव बताए। अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ। भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए।

वार्षिक दुई अर्व बचत

भारत सरकारको आर्थिक सहयोगमा बिछ्याइएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट निगमले वार्षिक दुई अर्ब रुपैयाँ खर्च बचन हुनेछ। यसबाट पर्यावरण विनास, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावट लगायत समस्या समाधान हुने निगमको भनाइ छ।

चितवनसम्म विस्तार गर्ने योजना

रक्सौल-अमलेखगञ्ज पाइपलाइन योजना रहेकोमा आइओसीले रक्सौल डिपोलाई मोतिहारी सार्ने तयारी गरेपछि पाइपलाइनको दूरी पनि लम्बिएको थियो। पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने योजना नेपाल सरकारको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.