पूर्वाधार अभावमा तालिम नपाउँदा पनि सहभागी हुनुपर्ने बााध्यता

|
आइतबार भएको महिला हर्डल्सका प्रतिस्पर्धी

इटहरी : एथ्लेटिक्सको एउटा विधा हो,  हर्डल्स अर्थात बाधा दौड। दौडको ट्र्याकमा ३५ देखि ४५ मिटरसम्मको फरकमा ठाउँठाउँमा १ मिटरसम्म अग्ला बार लगाइन्छ र त्यसलाई नाघ्दै प्रतिस्पर्धी दौडनुपर्छ।

सातौं राष्ट्रिय खेलकुदमा १ सय १० मिटर र ४ सय मिटरमा महिला र पुरुषका गरी हर्डल्सका ४ वटा इभेन्ट समावेश छन्। जसमध्ये महिला र पुरुषका १ सय १० मिटर हर्डल्स भइसकेको छ भने ४ सय मिटरमा  महिलाको स्पर्धा सकिएको छ भने पुरुषको बाँकी नै छ।

हर्डल्स प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीले नै यस खेलको नियम थाहा नभएको बताएपछि यतिबेला इभेन्टस् आयोजनाको औचित्यमाथि प्र‍श्‍‍न तेर्सिएको छ। इटहरी रंगशालामा एथ्लेटिक्सको ट्र्याकमा ठाउँ ठाउँमा बार राखेर हर्डल्सको ट्र्याक बनाइएको थियो। विभागीय टिम बाहेक अन्य टिमबाट प्रतिस्पर्धा गर्ने धेरै खेलाडीले आफूले अहिलेसम्म यस्तो प्रतियोगिता नखेलेको बताए।

पूर्वाञ्चलबाट ४ सय मिटर हर्डल्स दौडका सहभागी पंकज पोखरेलले आफूले हर्डल्स दौडको ट्र्याक पहिलो पटक देखेको बताए। खासमा उनी रिले दौडका सहभागी हुन्। मोरङ सुन्दरदुलारी नगरपालिकाका उनले हर्डल्स खेलको प्रशिक्षण समेत लिन नपाएको दुखेसो गरे।

तर पूर्वाञ्चलबाट उनले हर्डल्स दौडमा पनि सहभागिता जनाउँदैछन्। 'मैले हर्डल्स खेल पहिलो पटक देखेको हो' उनले भने 'खेल्दिन भन्दा पनि जबर्जस्ती खेल्न लगाइएको छ।' जिल्ला र क्षेत्रीय स्तरमा छनोट खेल नै नखेलाई हर्डल्सका खेलाडी अन्तिम समयमा छनोट गरिएको हो। त्यसैले धेरै खेलाडीको चाहना बिना नै हर्डल्स खेलाइएको खेलाडीहरुको गुनासो छ।  

एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाले काठमाडौं बाहिर धेरै ठाउँका खेलाडीका लागि हर्डल्स नयाँ खेल भएको बताए। केन्द्रमा र विकास क्षेत्रमा प्रशिक्षणका लागि हर्डल्स दौडका सामग्री वितरण गरिएपनि जिल्लास्तरमा यसको पूर्वाधार र सामग्री उपलब्ध नभएकाले खेलाडीलाई नौलो भएको उनको भनाइ छ। 'केन्द्रका खेलाडीले त हर्डल्स देखेका छैनन्, क्षेत्रकाले कहाँबाट देख्ने?' उनले भने 'हाम्रोमा हर्डल्समा ट्रेनिङ गर्ने वातावरण नै छैन।'

राष्ट्रिय खेलकुद प्रतियोगितामा सोमबारसम्म भएका हर्डल्सका तीनवटै स्पर्धामा विभागीय टिमले नै उपाधि जितेको छ। महिला १ सय १० मिटर हर्डल्समा एपीएफले उपाधि जित्यो भने महिला ४ सय मिटरमा आर्मीले जित्यो। पुरुष १ सय १० मिटर हर्डल्समा पनि आर्मीकै खेलाडीले उपाधि जितेका छन्। विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अभ्यासका लागि पूर्वाधार, आवश्यक सामग्री र नियमित प्रशिक्षण भइरहेकाले उनीहरुले नै उपाधि जित्ने प्रशिक्षकहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.