|
लङजम्प गर्दै केशरी चौधरी

इटहरी : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केही राष्ट्रिय कीर्तिमान बन्नुका साथै केही खेलाडीहरुले तीनवटासम्म पदक जितेर उत्कृष्ट प्रदर्शन गरेका छन्। खेल सुरु भएको चौथो दिनसम्म केही खेलाडीहरुले ३ वटासम्म स्वर्ण पदक जितेका छन्। एथ्लेटिक्सका अझै केही स्पर्धा बाँकी नै रहँदाको अवस्थामा खेलाडीले जितेको पदकको अवस्था यस्तो छ :

१. कृष्णा चौधरी (३ स्वर्ण, १ रजत)

नेपाल आर्मीकी कृष्णा चौधरीले पनि चालु सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ वटा स्वर्ण पदक जितेकी छन्। उनले महिलातर्फको १०० मिटर र २ सय मिटर दौड तथा महिलाको चार गुणा ४ सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी हुन्। चौधरीले १०० मिटर दौडमा ओलम्पियन चन्द्रकला थापालाई पराजित गरेर स्वर्ण जितेकी छन्।

१६ नम्बरको जर्सीमा कृष्णा चौधरी

उनले १०० मिटर दौड १३.१६ सेकेन्डमा पूरा गरेकी थिइन् भने २०० मिटर दौड २६.९० सेकेन्डमा पूरा गरिन्। ४ गुणा चार सय मिटर रिलेमा उनी सहभागी आर्मी टोलीले ४ मिनेट १४.७ सेकेन्डमा दूरी पूरा गर्‍यो। चौधरीले महिला लङजम्पमा रजत पदक पनि जितेकी छन्। लङजम्पमा भने उनी पुलिसकी केशरी चौधरीसँग पराजित भइन्।

२. केशरी चौधरी (३ स्वर्ण, १ कास्य)

फुटबल, क्रिकेट र एथ्लेटिक्सका राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी नेपाल पुलिसकी केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण र १ कास्य पदक जितेकी छन्। उनले हाइजम्प, लङजम्प र त्रिपल जम्पको महिला इभेन्टमा स्वर्ण पदक जितिन् भने महिला १ सय १० मिटर हर्डल्समा कास्य पदक जितिन्।

लङजम्पमा उनले ५.०५ मिटर जम्प गरेकी थिइन् भने हाइजम्पमा १.५४ मिटर जम्प गरेकी थिइन्। त्रिपल जम्पमा भने उनले ११.७६ मिटर जम्प गरिन्। ११० मिटरको हर्डल्समा भने उनी एपीएफ र मध्यमाञ्चल विकास क्षेत्रका खेलाडी भन्दा पछि परिन्। उनले १७.१ सेकेन्डमा दूरी पूरा गरेर कास्य जितिन्।

३. सरस्वती भट्टराई (३ स्वर्ण)

नेपाल आर्मीकी २३ वर्षकी सरस्वती भट्टराईले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ वटा स्वर्ण पदक जितेकी छन्। उनले महिला १५ सय मिटर, ८ सय मिटर र ४ गुणा चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले ८ सय मिटर दौड २ मिनेट १९.४२ सेकेन्डमा पूरा गरेर स्वर्ण जितेकी हुन् भने १५ सय मिटर ४ मिनेट ४३ सेकेन्डमा पूरा गरेर स्वर्ण जितेकी हुन्।

४ गुणा ४ सय मिटर रिलेमा उनी सहभागी आर्मी टिमले ४ मिनेट १४.७ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण जितेको थियो। डडेल्धुरा घर भएकी २३ वर्षकी भट्टराईले रियो ओलम्पिकमा सहभागी हुँदा १५ सय मिटर दौडमा ४ मिनेट ३३ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

४. दुर्गा देवकोटा (२ स्वर्ण, १ रजत)

नेपाल आर्मीकी खेलाडी दुर्गाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ सय मिटर हर्डल्स र चार गुणा चार सय मिटर रिले दौडमा स्वर्ण तथा १०० सय मिटर दौडमा रजत पदक पाएकी छन्। उनले सोमबार भएको ४ सय मिटर हर्डल्स १ मिनेट १०.१६ सेकेन्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। चार गुणा चार सय मिटर दौडमा उनी सहभागी आर्मी टोलीले सशस्त्र प्रहरीको टोलीलाई पछि पार्दै स्वर्ण जितेको हो। १०० मिटर दौडमा उनले रियो ओलम्पिकमा सहभागी नेपाल पुलिसकी चन्द्रकला थापालाई पछि पार्दे रजत पदक जितेकी हुन्। उनले निर्धारित दूरी १३.२० सेकेन्डमा पूरा गरिन्। यो स्पर्धामा स्वर्ण पदक भने आर्मीकी कृष्णा चौधरीले हात पारेकी थिइन्।

५. चन्द्रकला लामगाडे ( २ राष्ट्रिय कीर्तिमान सहित २ स्वर्ण)

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुईवटा राष्ट्रिय कीर्तिमान बनाएकी लामगाडेले दुईवटा स्वर्ण पदक पनि जितिन्। उनले महिलातर्फको सटपुट र ज्यावलिन थ्रोमा स्वर्ण पदकसँगै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। चन्द्रकलाले सटपुट ११.५६ मिटर पर फ्यालेर आफ्नै अघिल्लो कीर्तिमान तोडेकी थिइन्।

उनको नाममा यसअघि ११.५ मिटरको कीर्तिमान थियो। उनले ज्यावलिन थ्रो मा ४३.९४ मिटर प्रहार गरेर राष्ट्रिय कीर्तिमान बनाइन्। उनले यसअघि २०७२ सालमा भएको सागको छनोट खेलमा उनले महिला ज्याबलिङ थ्रोमा ४३. ९० मिटरको कीर्तिमान बनाएकी थिइन्।

६. यामसाजन सुनार (२ स्वर्ण)

चालु प्रतियोगितामा एथ्लेटिक्समा विभागीय टिम भन्दा बाहिरबाट दुई वटा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन्। उनले २ सय मिटर र १ सय मिटरको पुरुष स्पर्धामा स्वर्ण जितेका हुन्। उनले १०० मिटर दौड १०.७० सेकेन्डमा पूरा गरेका थिए। त्यस्तै उनले २ सय मिटर दौड २१.७० सेकेन्डमा पूरा गरे।

फाइल फोटो :http://khelkudsansar.com

७. हरिकुमार रिमाल (१ स्वर्ण, १ रजत)

नेपाल आर्मीका खेलाडी हरिले १५ सय मिटर दौडको पुरुष स्पर्धामा स्वर्ण पदक जिते। उनले १५ सय मिटर दौड ४ मिनेट ०.४३ सेकेन्डमा पूरा गरेका थिए। पाँच हजार मिटर दौडमा भने उनले रजत पदकमा चित्त बुझाए। उनी सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीसँग झिनो अन्तरले पराजित भएका थिए। पार्कीले १५ मिनेट २६.१ सेकेन्डमा पूरा गर्दा उनले निर्धारित दूरी १५ मिनेट २६.६ सेकेन्डमा पूरा गरेका थिए। उनी रियो ओलम्पिकका सहभागी खेलाडी पनि हुन्।  

८. कान्छीमाया कोजु (१ स्वर्ण, १ रजत)

सशस्त्र प्रहरी बलकी खेलाडी कान्छीमाया कोजुले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितिन् भने चार गुणा चार सय मिटर दौडमा रजत पदक जितिन्।

५ हजार मिटर दौड १८ मिनेट १३. ४ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेकी हुन्। त्यस्तै चार गुणा चार सय मिटर रिले दौड उनी सहभागी सशस्त्र प्रहरी बलको टोलीले ४ मिनेट २३.५८ सेकेन्डमा पूरा गरेर रजत पदक जितेको थियो।

९. सविता चौधरी (१ स्वर्ण, १ रजत)

सशस्त्र प्रहरीकी सविता चौधरीले १ सय १० मिटरको महिला हर्डल्समा स्वर्ण पदक जितिन् भने चार गुणा चार सय मिटर रिले दौडमा रजत पदक जितिन्। १ सय १० मिटरको हर्डल्स १६.९६ सेकेन्डमा पूरा गरेर स्वर्ण जितेकी हुन्। त्यस्तै चार गुणा चार सय मिटर रिले दौड उनी सहभागी सशस्त्र प्रहरी बलको टोलीले ४ मिनेट २३.५८ सेकेन्डमा पूरा गरेर रजत पदक जितेको थियो।

यी बाहेक अरु धेरै प्रतिभाशाली खेलाडीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन्। एक भन्दा धेरै स्पर्धामा पदक जित्ने खेलाडीको सूचि लामो छ। पुस १५ गते राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसम्म एक भन्दा धेरै पदक जित्ने खेलाडीको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.