|

काठमाडौं : कान्तिपुर सिटी कलेजको आयोजनामा केसिसी एक्जिबिट २०१९ सुरू भएको छ। सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा गेम स्टल, चार वटा खाजा स्टलसहित केसीसी एक्जिबिट सुरु भएको हो।

निपुण विचार, दिगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनीको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उद्घाटन गरेका हुन्। शुक्रबार बिहान केसिसी एक्जिबिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पुर्‍याएको बताए।

सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। त्यस अवसरमा प्राध्यापक रामकृष्ण रेग्मीले प्रदर्शनीलाई दिगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताए।

सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसिसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सिएसडिआर)ले केसिसी एक्जिबिट २०१९ आयोजना गरेको हो। कार्यक्रमको प्रमुख प्रायोजक माछापुच्छ्रे बैंक, सुबिसु, नेपाल टेलिकम, इ–सेवा, सगरमाथा इन्स्योरेन्स, कोकाकोला, अग्निमोटोइन्क प्रा.लि., इबिपर्ल्स, इम्पलोइ प्रोभिडेन्ट फन्ड, नियोस्फेर, नेपाल दूरसञ्चार प्राधिकरण, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, क्यान फेडरेसनलगायत रहेका छन्।

प्रदर्शनी शनिबारसम्म चल्नेछ। शनिबारका दिन ‘दिगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जिएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुनेछन्। प्रदर्शनीमा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको प्रमुख प्रशासक राजीव तिमल्सिनाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.