|

कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका–१ मा पर्ने कर्णाली राजमार्गको कालेखोलामा पहिरो जाँदा शनिबार रातिबाट बन्द रहेको कर्णाली राजमार्ग भोलि सोमबारसम्म खुल्ला हुने भएको छ। कर्णाली राजमार्ग ४० मिटरभन्दा बढी सडक भासिएका कारणले सोमबारबाट मात्र खुल्ने भएको हो।

सडकमा ४० मिटरभन्दा बढी पहिरो गएको कारण खुला केही समस्या भएको प्रमुख जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माले बताए। ‘हामीले आजै खुलाउने प्रयास गरिरहेको छौं’उनले भने, ‘आज खुल्ने सम्भवना निकै कम छ। भोलि सोमबार बिहानसम्म खुल्छ।’

प्रमुख जिल्ला अधिकारी र आफूसहित नेपाली सेनाको टोली पहिरो गएको स्थानमा गएर तत्काल सडक खुलाउनका लागि दैलेखको राकम र कालिकोटको शुभकालिकाबाट दुई वटा डोजर लगाइएको प्रहरी प्रमुख विनोद शर्माले बताए। ‘प्रमुख जिल्ला अधिकारीसहित टोली पहिरो गएको ठाउँमा गएर पन्छाउनका लागि पहल थालेका छौँ’उनले भने, ‘अहिले दुवैतर्फ डोजरको प्रयोग गरिएको छ।’

सधैँ दुःख दिन्छ गगने खोलाले

शुक्रबार रातिको वर्षाका कारणले गगनेखोलामा पहिरो जादाँ अवरुद्ध भएको राजमार्ग शनिबार दिउँसो खुल्ला भएको थियो। शनिबार खुल्ला भएको राजमार्ग शनिबार राति नै गएको पहिरोका कारणले पुन अवरुद्ध भयो।

यसभन्दा पनि कर्णाली राजमार्ग पटक पटक अवरुद्ध हुने गरेको र कालेखोलामा अहिले ठूलो पहिरोका कारणले खुलाउन केही समय लाग्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। ‘यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिन्थ्यो’उनले भने, ‘कडा चट्टानमा पहिरो गएका कारणले कालेखोलाको पहिरो पन्छाउन केही समस्या भएको हो।’

यात्रु अलपत्र

पहिरोका कारणले सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्ज हुँदै कालिकोट जुम्लाका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारीसहित यात्रु अलपत्र परेका छन्। कालिकोट र जुम्लाबाट छुटेका सवारी साधनबीच जितेगडा बजारमा अलपत्र परेका छन्।

पानी पर्‍यो कि अवरुद्ध

विस २०६३ साल चैत्र महिनाको ३० गते सञ्चालनमा आएको सुर्खेत-जुम्ला राजमार्गको लम्बाई २ सय ३२ किलोमिटर सडकखण्डमा वर्षायाम शुरु हुना साथ सास्ती दिने गरेको छ। साँघुरो बाटो, खोला तथा नदीमा पुल नहुनु भिरालो भाग धेरै भएका कारणले बर्षायाम शुरु हुनासाथ सास्ती दिने गरेको छ ।

कर्णाली राजमार्गको दैखोला र गगनेखोला सधै पहिरो जाने भएका कारणले झनै सास्ती यात्रुले बेहोर्नु पर्ने बाध्यता रहेको छ।

कर्णाली राजमार्गको दैलेखको किटुदेखि कालिकोटको राँचुलीसम्मको सडकलाई निकै कठिन राजमार्गको रुपमा लिने गरिन्छ। यो सडकखण्डमा वर्षायाममा कहाँ कतिबेला पहिरो आउने कतिबेला कता के हुने हो पत्तो हुँदैन् नहुने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए।

‘राँचुली, पिली, सुनार खोला, सेरिघाट, दैखोला, गगनेखोला लगायत ठाउँमा पहिरो जाने गरेको छ’उनले भने, ‘यो ठाउँमा स्तरउन्नति गर्न थालिएको छ। तर, पानी पर्दा साथ पहिरो आउने भएकाले समस्या हुने गरेको छ।’

राजमार्गमा अझै बनेका छैनन् पुल

कर्णाली राजमार्गको दैलेखको घट्टेखोला, साइखोला, कालिकोटका कालेखोला, टाकुल्ला र खल्लाघाट, बिहानी र सिम्लेगाड पुल निर्माण पूरा नहुँदासम्म जोखिम कायमै रहेका छ। राजमार्गमा ७ पुल बन्दै गरे पनि सेरीघाटबाहेक सबैको काम अधुरो रहेको सडक डिभिजन कार्यालय जुम्ला जनाएको छ।

आव. ०६८ र ७९ मा निर्माण कार्य सुरु भई २ वर्षमा सक्नुपर्ने भए पनि अझै काम अघि नबढाएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताए। ‘ठेकेदारले समयमै काम नगर्दा समस्या भएको छ’उनले भने, ‘ठेकेदारसँग भएको सम्झौता तोड्ने तयारीमा छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.