|

बारा : बारामा चार महिनामा ६ वटा बलात्कारका घटना भएको छ। उक्त घटनाको सिकार सात वर्षीया नाबालिकादेखि ७७ वर्षीया वृद्धासम्म भएका छन्। २०७६ बैशाखदेखि साउनसम्म निजगढ नगरपालिकामा चार र जीतपुरसिमरामा दुई वटा बलात्कारका घटना भएका छन्।

घटनामा सलग्न भएका तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्। एक जना बाल सुधार गृहमा र ६ जना अनुसन्धानका क्रममा हिरासतमा छन्।

घटना–१ : निजगढ नगरपालिका–११ रतनपुरीमा एक सात वर्षीया नाबालिकालाई उनकै घरमा १५ वर्षीय किशोरले बलात्कार गरेका छन्। 

मामाको छोरीलाई ती किशोरले गत साउन ६ मा बलात्कार गरेका हुन्। बाबु–आमा घरमा तल भएको अवस्थामा घरको माथिल्लो तल्लामा रहेकी बालिकालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले बताएको छ। छोरी चिच्याएर रोएको आवाज सुनेर आमा माथिल्लो तलामा पुग्दा रक्ताम्मे अवस्थामा छोरी बलात्कार गर्दै गरेको अवस्थामा फेला पारेकी थिइन्। त्यही बेला ती किशोरलाई छरछिमेकीको मद्दतमा नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।

नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका किशोर र बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणपछि म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जनाकारी दिए।

घटना–२ : जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङियावस्तिकी ११ वर्षीया बालिकामाथि मितेरी मामा पर्ने घरछेउकै ३१ वर्षीय हीरामान मोक्तानले बलात्कार गरे। उनलाई मोक्तानले साउन १ र ३ गते आफ्नो घरमा बोलाएर बलात्कार गरेका थिए। 

मोक्तानलाई पीडितकी आमाले स्थानीय अगुवा महिलाको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी दुई पटक म्याद थप गरी अनुसन्धान गरेको प्रहरी निरीक्षक विक्रम लामाले बताए।

घटना–३ : जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाकी १७ वर्षीया किशोरीमाथि नशालु पदार्थ सेवन गराई बलात्कार गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित होटल सँगालो एण्ड गेष्ट हाउनमा उनलाई बन्धक बनाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ।

होटल सञ्चालक आमा–छोरी ४० वर्षीया पूर्णिमा राय कुर्मी र २१ वर्षीया सीता राय कुर्मीले उनलाई विभिन्न प्रलोभनमा पारेर होटल पुर्‍याएका थिए। असार २२ गते घरबाट निस्केकी किशोरी तीन दिनपछि अस्पतालमा भेटिएकी थिइन्। सिमरास्थित अल्पाइन अस्पतालमा प्रहरीले फेला पारेको थियो। 

नशालु पदार्थ सेवन गराई जीतपुरका २० वर्षीय विशालकुमार गुप्ता र मकवानपुर घर भई नेपाली सेनाको चण्डीगण वीरगन्जका लेखापालका रुपमा कार्यरत दुर्गा तिमल्सिनाले बलात्कार गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

घटना–४ : निजगढ ४ कछडिया टोलकी १२ वर्षीया किशोरी डेढ वर्षदेखि बलात्कृत हुँदै आएको खुलेको छ। उनलाई बाबु–छोराले नै बलत्कार गर्दै आएका थिए। ४० वर्षीय मीनबहादुर माझी र उनका छोरा १७ वर्षीय निकेश माझीले पटक–पटक बलात्कार गरेका अनुसन्धानमा पाइएको प्रहरीले बताएको छ।

उनीहरुलाई असार ११ गते प्रहरीले पक्राउ गरेको हो। घटना संलग्न मीनबहादुर जेल चलान गरिएको छ भने निकेशलाई बाल सुधार गृहमा पठाइएको छ। 

बालिकाकी आमाले अर्कैसँग विवाह गरेर गएकी र बुबा वैदेशिक रोजगारीमा भएकाले हजुरआमासँगै बस्दै आएकी थिइन्। हजुरआमाको पनि गत पुसमा निधन भएपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन्। उनलाई आफन्त समेत रहेका बाबु–छोराले धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घटना–५ : निजगढ–९ की १४ वर्षीया किशोरी बाबुबाटै बलात्कृत भइन्। गत जेठ ७ मा बलात्कारको शिकार भएकी उनी एक महिनापछि प्रहरीमा पुगिन्। पीडक ५० वर्षीय बुबालाई असार ८ मा इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गर्‍यो। उनलाई जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि जेल चलान गरिएको छ।

घटना–६ : बाराको निजगढ–३ सिगौंलकी ७७ वर्षीया बृद्धालाई स्थानीय ५० वर्षीय धनबहादुर बलले जर्वजस्ती करणी गरे। बैशाख १ मा घटना भएको हो। 

आरोपी बललाई प्रहरीले भोलिपल्ट नै पक्राउ गर्‍यो। छोराको उजुरीका आधारमा पक्राउ परेका उनलाई जिल्ला अदालत बाराको आदेशमा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ। बलले वृद्धाको यौनाङ्गमा औंला प्रयोग गरेर घाउचोट समेत लागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.