स्कुलको पूर्वाधार बनाउन बालबालिकाको प्रयोग

|

पाल्पा : जिल्ला सदरमुकाम तानसेनस्थित बालमन्दिर आधारभूत विद्यालयमा बालबालिकाको श्रमशोषण हुने गरेको छ। जिल्ला प्रशासन कार्यालय नजिकैको उक्त विद्यालयका कक्षा एकदेखि कक्षा तीनका विद्यार्थीलाई बिहीबार करिब एक घण्टा इँटा बोकाइयो। 

राष्ट्रिय अनुसन्धान कार्यालयको भवन परिसरबाट विद्यालयसम्म बालबालिकालाई लामबद्ध राखेर इँटा बोकाइएको विद्यालयका प्रधानाध्यापक पार्वता पौडेलले स्वीकार गरिन्।

स्वास्थ्य शारीरिक विषयको प्रयोगात्मक शिक्षणको पिरियडमा उनीहरुलाई इँटा बोकाइएको हो। उनका अनुसार शिक्षक-अभिभावकले पनि इँटा बोकेका थिए। तर, त्यहाँ एकजना मात्रै अभिभावक सहभागी थिए। विद्यालय परिसरमा फूलाबारी निर्माण गरी कम्पाउण्ड घेर्न बालबालिकालाई इँटा बोकाइएको हो।

अध्ययन गर्न पठाएका बालबालिकालाई यसरी इँटा बोक्न लगाउनु दुःखद भएको अभिभावक विशाल ओलीले टिप्पणी गरे। ‘बालबालिकाको पढ्न पाउने अधिकार हो,’ उनले भने, ‘विद्यालयको भौतिक विकासका लागि अभिभावकलाई भन्नुपर्छ। बालबालिकालाई काममा लगाउन मिल्दैन। यो आपत्तिजनक छ।’

एउटा इँटा करिब साढे दुई किलोको हुन्छ। पानीले भिज्दा करिब तीन किलो बराबरको हुन्छ। त्यही इँटा बालबालिकालाई ओसार्न लगाइएका हो। 

बालबालिकालाई विद्यालयमा इँटा बोकाउने कार्य लापरवाही भएको शिक्षक अभिभावक संघका अध्यक्ष विशाल दर्लामी बताउँछन्। ‘विद्यालयमा फूलबारी निर्माण गर्ने निर्णय भएको हो अभिभावकलाई बोलाउन सकिन्छ,’ उनले भने, ‘साना बालबालिकालाई बोक्न लगाउनु शिक्षकको लापरबाही हो। बैठक बसेर आवश्यक निर्णय गर्नेछौं।’ 

तानसेन नगरपालिकाको एकलाख आर्थिक सहयोगमा विद्यालय परिसरमा फूलबारी र खेलमैदान निर्माण कार्य भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालले बताए। बालबालिकालाई इँटा बोकाएको बारे आफूलाई थाहा भएको उनको भनाइ छ। ‘यदि यस्तो कार्य भएको भए गलत हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो कार्य गर्न दिने छैनौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.