|

बैतडी : अज्ञात समूहले गएराति बैतडीको डिलाशैनीस्थित नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ। डिलाशैनी गाउँपालिका–४ मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

आगजनीबाट टावरमा रहेका ब्याट्री र तारहरु जलेर नष्ट भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। 

कसले र किन आगजनी गरेको थाहा हुन नसकेको उनले बताए। टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच नेपाल टेलिकमको टावरमा आगजनी भएसँगै त्यस क्षेत्रका नागरिक सञ्चारविहीन हुन पुगेका छन्। टावरमा आगजनीपछि सञ्चारविहीन हुनुपरेको स्थानीय नरेन्द्र विष्टले बताए।  

यसअघि साउन १५ गते राति पनि बैतडीको पुर्चौडी नगरपालिका–१ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.