बर्खा लाग्‍ने बित्तिक्कै वादी समुदायलाई बासकै पिरलो

|

दैलेख : नारायण नगरपालिका-६ गणेश चौकनजिकै रहेको नमुना बस्तीमा वादी समुदायहरूको बसोवास छ। भिरालो जमिन भएका कारण यो समुदायका मानिसलाई बर्खा लाग्यो भने सधैँ बासकै चिन्ताले पिरोल्ने गर्दछ।  भिरालो जमिन कच्ची माटोले बनाइएका टिनका साना–साना झुपडी पानी पर्नेबित्तिकै घरभन्दा माथिबाट पहिरो झर्ने गर्दछ।

पहिरोले बस्ती नै बगाउने चिन्ताले समुदायका सबै मानिस बर्खाका दिनमा राति सुत्न नपाई जाग्राम बस्नुपर्ने बाध्यतामा रहनुनपर्ने बस्तीकी सान्ता वादीले गुनासो गरिन्।

बस्तीको फेदमा मध्यपहाडी राजमार्गले खोलेर पहिरो जाने डर छ, माथिपट्टिको भिरालो ऐलानी जग्गामा माटोको घर बनाएर बसेका उनीहरूलाई बासको चिन्ताले मात्र नभई गाँसको चिन्ताले पनि पिरोल्ने गरेको छ।

सामान्य पढाई लेखाइ भएका बस्तीका बासिन्दाहरूको दैनिकी मालवाहक गाडीहरूमा सामान ओसारपसार गर्ने हो। अहिले बस्तीका केही युवाहरू विदेश जान सुरु गरेपछि केही सहजता भएको अमर वादीले बताए। 

खान नपुगे कसैकोमा काम गरेर पनि बालबच्चा र आफू पालिन सकिनथ्यो हामीलाई त गाँसभन्दा पनि बर्खाका दिनहरूमा बासकै चिन्ताले पिरोल्ने गर्छ। आफू नसुते पनि साना बालबालिका छन्। कहाँ लगेर सुताउने समुदायमा कसैकोमा जाऊँ भने सबै बस्तिनै भिरालो ठाउँमा भएकाले पहिरोले बगाउने चिन्ता छ। चुनाव आउँदा नेताहरूले भोट पाउनकै लागी हाम्रो बस्तीलाई राम्रो ठाउँमा साछौँ भने पनि अहिलेसम्म कसैले चासो नदेखाएको अमरको गुनासो छ।

दुई वर्षअगाडि साउनको वर्षासँगै यो बस्ती माथिबाट आएको पहिरोले घर बगाउँदा राति सुतिरहेको अवस्थामा समुदायकी सिन्की गाजलुका तीनजना परिवारले ज्यान गुमाएका थिए। वादी समुदायमा अहिले ५५ घर रहेका छन्। विगत चार वर्षदेखि हरेक वर्षातको समयमा पहिरोको जोखिममा पर्दै आएको यो समुदायको दिगो व्यवस्थापन भने अझै नभएको देखिन्छ।

चुनाव आउँदा बस्तीमै बास बसेर समुदायको समस्या समाधान गर्ने भन्दै भोट मागेर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि मात्र हैन प्रदेश केन्द्रका प्रतिनिधिले समेत यो विषयमा चासो नदिएको पवा वादी बताउँछिन्।

लालपुर्जाको आशामा अठार वर्ष

२०५८ सालमा द्वन्द्वका कारण देखाउँदै दैलेखको कुसापानी, भैरीकालिका थुम, नौमुले लगायत साबिकका गाबिसबाट बसाइँ सरी आएका वादी समुदायलाई नारायण नगरपालिका-६ गणेश चौकपछाडि रहेको प्रति बाँझो जग्गामा ८ वटा घडेरी वितरण गरेर अस्थायी बासस्थानका लागि बस्ने प्रबन्ध मिलाइएको थियो।

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको पहलमा बसेको यो बस्तीमा उतिबेला बसेका ८ घर बसोवास गरेको १८ वर्ष पुगेको छ। अहिले ५५ घर वादी समुदाय पुगेका छन्।

पुर्जा दिलाउने चुनावी एजेण्डा

चुनावका बेलामा जुनसुकै राजनीतिक दलका नेताको मुख्य एजेन्डा भनेको नै नारायण नगरपालिका १ मा रहेको रातामाटे दलित बस्ती र ६ मा रहेको नमुना बस्तीका समुदायलाई पुर्जा दिने घोषणा गर्छन् तर पूरा भएको छैन।

स्थानीय तहको निर्वाचनका बेला दिनानुदिन नेता आएर जग्गा तिमीहरूकै नाममा बनाइदिने भन्दै भोट लगे अहिले जितेर गएका नेताहरू कहाँ गए कहाँ? प्रश्न गर्दै वादी बस्तीका गोपाल वादीले भने पुर्जाका लागि धेरैपटक विभिन्न ठाउँमा पहल गर्‍यौँ तर कसैले हाम्रो आवाज सुनेको छैन।

अनुसन्धानपछि पुर्जाका लागि पहल गछौँ : खड्का

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले चुनावताका पुर्जा दिलाउने भनेर बताएको र सोहीअनुसार प्रक्रिया सुरु गरेको बताए। नमुना बस्तीमा बसोवास गर्ने धेरैको आफ्नो पुर्खौली सम्पत्ति छ। भूमि स्वामित्वविहीनलाई भूमिको व्यवस्था गर्न नगरपालिकाले पहल गर्ने हो सरकारले पनि यही अभियान थालेको छ। गाउँमा घर जग्गा भएका वादी समुदायले नमुना बस्तीको जग्गामा पनि आफूलाई पुर्जा पाउनुपर्छ भन्ने कुरालाई छानविन गरेर मात्र प्रक्रिया थालनी गर्ने खड्काले बताए।

वर्षातको समयमा समस्या हुन नदिन नगरपालिकाले पालको व्यवस्था गरेको र प्रत्येक वर्षातमा पाल प्रदान गर्दै आएको खड्काको भनाइ छ। उनले भने, 'सुरक्षासँगै समुदायका बासिन्दाहरूको लागि दिगो समाधानका लागि पनि पहल भएको छ।'  जग्गा भएका र स्थायी रूपमा पुर्जा पाएकाहरूलाई आ-आफ्नो स्थानमा स्थानान्तरण गराउने र बाँकी पुर्जाविहीनलाई उचित वास व्यवस्थापनको तयारीमा नारायण नगरपालिका लागेको नगर प्रमुख खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.