सेवामा प्रभावकारिता नहुँदा जनतामा निराशा, नवीकरणमा आलटाल

|
फाइल फोटो

कपिलवस्तु : कपिलवस्तु जिल्लाका ६ प्रतिशत जनताको पहुँचमा मात्रै स्वास्थ्य बीमा पुगेको छ। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ६ प्रतिशत जनता संलग्न छन्। चालु आर्थिक वर्ष २०७४/०७५ देखि सुरु भएको कार्यक्रममा हालसम्म ३ हजार ४ सय ९६ घरपरिवारको आवद्धता रहेको छ।

जिल्लामा ३६ हजार पाँचसय १३ जना स्वास्थ्य बीमा कार्यक्रममा सदस्य आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी सुजता मर्हजनले जानकारी दिइन्। हालसम्म यस कार्यक्रमबाट रु २ करोड ५ लाख २६ हजार ३७० रकम संकलन भएको उनले बताइन्। “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ', दर्ता अधिकारी महर्जनले भनिन्, 'घरघरमा गएर बीमा गराइँदैछ।'

कपिलवस्तुमा वाणगंगा नगरपालिका सबैभन्दा बढी बीमाकर्ताले बीमा गराएका छन्। त्यहाँ नौ हजार १८३ जनाले बीमा गराएका छन्। यस्तै बुद्धभूमिमा पाँच हजार ८९४, महाराजगंजमा चारहजार ४६६, कृष्णनगर नगरपालिकामा चार हजार ४५४ जनाले स्वास्थ्य बीमा गराएका छन्। यस्तै कपिलवस्तु नगरपालिकामा तीनहजार ९१६, विजयनगर गाउँपालिकामा दुइहजार ७१६, शिवराज नगरपालिकामा दुइ हजार ८४६, शुद्धोधन गाउँपालिकामा एक हजार ५९६, मायादेवी गाउँपालिकामा सात सय २४ र यशोधरा गाउँपालिकामा सात सय १८ जना बीमाकर्ताले बीमा गराएका छन्।

कपिलवस्तुमा उक्त सेवा लिनका लागि जिल्ला अस्पताल तौलिहवा, पिपरा स्वास्थ्य चौकी, बहादुरगंज अस्पताल, महाराजगंज अस्पताल, मायादेवी स्वास्थ्य चौकीलाई तोकिएको छ। जिल्लामा ९६ दर्ता सहयोगी परिचालित छन्। वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बीमा गराउन सकिन्छ। जिल्लामा वि.सं. २०७४ चैत्रदेखि यो कार्यक्रम शुरु भएको हो।

सेवा प्रभावकारी नहुँदा जनतामा निराशा, नवीकरणमा आलटाल

स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन। जुन उत्साहका साथ तीन वर्षअघि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो, सोही अनुरूप सेवामा प्रभावकारिता नहुँदा जनतामा निराशा छाएको देखिएको छ। एक वर्षका लागि बीमा गराएपछि अर्को वर्ष पनि सेवा प्राप्त गर्न फेरि तोकिएको शुल्क तिरेर नवीकरण गर्नुपर्छ। त्यही दोहोर्‍याएर स्वास्थ्य बीमा अर्थात् नवीकरण गर्ने नागरिकको संख्या भने निकै घट्दै गएको छ।

'समयमा सहज र प्रभावकारी उपचार पाइएला भनेर स्वास्थ्य बीमा गराएको त अस्पतालमा पालै नपाइने रै'छ', पिपराकी रश्मी क्षेत्रीले थाहाखबरसँगको कुराकानीमा भनिन्। स्वास्थ्य बीमा गराएपछि सहज रुपमा गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वास गरेका जनताले अस्पतालमा लामो समय कुर्दा पनि पालो नपाएको गुनासो गरेका छन्। 'पैसा तिरेर उपचार गर्नेको पालो सकिएपछि पालो आउने रै'छ, बीमाबाट उपचार गर्ने हो भनेपछि त पालै नआउने, मलाई चित्त बुझेन्', रश्मीले थपिन्।

बीमाको सुविधा नपाइ फर्कन्छन् सेवाग्राही

सेवाप्रदायकको लापरवाहीका कारण सदरमुकाम क्षेत्रका स्वास्थ्य बीमाका सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन्। नेपाल सरकारले विभिन्न जिल्लामा शुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम सफल र प्रभावकारी हुँदै गर्दा जिल्लाको तौलिहवा अस्पतालमा भने सो सेवा अव्यवस्थित देखिएको छ। अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रममा अन्योलताका कारण सेवाग्राही सेवा नलिई फर्कन थालेका छन्। आफूले असार महिनादेखि हालसम्म सो सेवाका लागि चारपटक अस्पतालमा पुग्दासमेत स्वास्थ्य बीमाको सेवा लागू नभएको बताइने गरेको कपिलवस्तु नगरपालिका १ का सेवाग्राही सत्यनारायण चौधरीले गुनासो गरे।

गत चैत्र २७ गते वडामा कार्यरत बीमा सहयोगीबाट ०४८६६७००६ नम्बरको बीमा गराएका उनले आफूले जेठ १ गतेबाटै बीमा सुविधा पाउनु पर्ने भए पनि हालसम्म सो सेवा नपाएको उनले गुनासो गरे। 'अस्पतालमा अन्य अवस्था जस्तै टिकट काटेर सेवा लिनु पर्ने भए हामीले बीमा गराएको के अर्थ। त्यसैले स्वास्थ्य कार्यालयमा खटिएका बीमा बोर्डका दर्ता अधिकारी र वडाको दर्ता सहयोगी सँग बीमाको रकम फिर्ता मागेको छु' चौधरीले भने।

कपिलवस्तु नगरपालिका ६ कि दर्ता सहयोगी संगीता भुसालले आफूले बीमा गराएका तीन सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएको बताइन्। 'धेरै दिन दौड धुप गरेर सम्झाइबुझाई बीमा गरायो। सेवा नपाउदाँ सेवाग्राहीले हामीलाई दोषी बनाउने गरेका छन', भुसालले भनिन्। विशेषतः अस्पतालमा निःशुल्क औषधीको अभावका कारण पनि स्वास्थ्य बीमा प्रतिको जनताको चाँसो कम देखिएको उनको भनाइ छ।

बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन्।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ। तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.