वैदेशिक रोजगारले बिग्रियो धेरै पुरुषको घरबार!

|
फाइल फोटो

पाल्पा : पछिल्लो समय जिल्लामा हराउने महिलाको संख्या बढेको छ। अधिकांश हराउने महिला मध्य वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती रहेका छन्।

गत आर्थिक वर्षमा १ सय २० जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो। चालु आर्थिक वर्षको साउन महिनाको १५ दिन बित्न नपाउँदै ८ जना महिला हराएको उजुरी परिसकेको छ।  हराउनेमा अधिकांश विवाहिता महिला रहेका छन्। हराउने महिलाहरू ३० वर्ष देखि ५० वर्ष उमेर समुहका छन्। हराएका महिला खोजीदिन भन्दै श्रीमान् तथा घरका सासू-ससुरा उजुरी दिन आउने गरेको प्रहरीको भनाइ छ।

यस्तै २७ जना बालिका र ७ जना बालकसमेत हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक फाँटका प्रहरी जवान वविता थापाले बताइन्। उनका अनुसार करिब १ सय जना महिला सम्पर्कमा आएका छन्। आफन्तले खोजी गरी पाऊँ भनि उजुरी दिएपछि उनीहरू सम्पर्कमा आएका हुन्।

'यहाँ उजुरी आएपछि हामीले खोजी गर्छौं' प्रहरी जवान थापाले भनिन् 'हराएको भनिएका मध्य केही महिला यहीँ कार्यालयमा आउने गरेका छन् भने अधिकांश महिला सम्पर्कमा आएको खबर आफन्तले दिने गरेका छन्।'

सम्पर्कमा आएका महिलाहरूले पहिलेको श्रीमानलाई छोडेर अर्कै पुरुषसँग विवाह गरिसकेका पनि उनले बताइन्। 'जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका महिला पनि माइती पक्षको जिम्मेवारीमा जाने गरेको र पछि अर्कै पुरुषसँग विवाह गरिसकेका छन्' उनले भनिन्।

उनका अनुसार १/२ जना महिला मात्र आफ्नै श्रीमानसँग मिलेर बसेका छन्। 'श्रीमानले विदेशबाट कमाएर पठाइदिएको पैसा श्रीमतीले अर्कै पुरुषलाई दिने र त्यो पैसा फिर्ता हुने अवस्था नभएपछि उसैसँग विवाह गरेको पाइएको छ' उनले भनिन्। श्रीमान् विदेशबाट घरमा आउने समय भएको थाहा भएपछि श्रीमती अर्कैसँग विवाह गरेर जाने गरेको उनले बताइन्।

प्रहरी जवान थापाका अनुसार बालिका पनि विवाह गरेर भाग्ने गरेका छन्। भागेर विवाह गरेका १५/१६ वर्षका बालिका उजुरी परेपछि आफ्नै बाबाआमासँग घरमा गएका छन्। तर १७ वर्षदेखि माथिका विवाह गरेका बालिका अहिले पनि लुकेर नै बसेका छन्। उनीहरू फोनबाट सम्पर्कमा आउने तर आफन्तको नजिक आउँदैनन्।

यता बालक भने पैसा कमाउन भन्दै काम गर्न ठूला शहरमा गएको भेटिएको उनको भनाइ छ। यद्यपि गत वर्ष हराएका सबै बालक फेला परिसकेका छन्। बालबालिका साथीको बहकाबमा लागेर आफन्तभन्दा टाढा जाने तथा विवाह गर्ने गरेको प्रहरीको भनाइ छ।

वैदेशिक रोजगारले बिग्रियो धेरै पुरुषको घरबार

अधिकांश विदेशमा रहेका पुरुषको घरबार बिग्रिएको छ। श्रीमान् विदेश हुँदा घरमा श्रीमती अरूसँगै मिलेर विवाह गरेको घट्ना बढी रहेका छन्। प्रहरीका अनुसार प्रायः बच्चा भएका आमाहरू यसरी अर्कै पुरुषसँग विवाह गरेको पाइएको छ। उनीहरू फेसबुक र मोबाइल फोनबाट अर्कै पुरुषसँग सम्पर्कमा आउने गरेका छन्। 'एक आपसमा नजिकिदै गरेपछि कारोबारसमेत गर्छन र अन्ततः उनीहरू श्रीमान् श्रीमतीको सम्बन्धमा बाँधिएका छन्' प्रहरी जवान थापाले भनिन्।

लामो समयसम्म श्रीमानश्रीमती एकआपसमा टाढा बस्नुपर्ने बाध्यताले यो अवस्था आएको अधिवक्ता तथा महिला अधिकारकर्मी गीता शर्माको ठम्याइ छ। 'नैतिकता भुलेर आफ्नो मात्र इच्छा चाहना पूरा गर्ने सोचको विकासले यस्तो विकृति आएको हो', उनले भनिन्, 'काममा व्यस्त छैनन्, घरपरिवारले समेत राम्रो वातावरण दिन सकिरहेका छैनन्। शंका र अविश्वास पनि यसको कारक हो।'

कतिपय बनावटी उजुरी दिने पुरुषको संख्या पनि बढेको उनले बताइन्। उनका अनुसार कुनै कारणले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न मन लाग्यो भने श्रीमती हराएको उजुरी दिने पुरुषको संख्या बढेको छ। 'श्रीमानश्रीमतीबीच मनमुटाब भयो भने सम्बन्ध विच्छेदको लागि सजिलो पार्न हराएको उजुरी दिने र अर्को दिन सम्पर्कमा आएको भन्दै सम्बन्ध विच्छेद माग्ने गरेका पनि छन्' उनले भनिन्, 'यसरी प्रहरीमा दिइने उजुरी सम्बन्ध विच्छेदको लागि पुरुषलाई सजिलो बाटो बनेको छ।'

तर सबै महिलाको अवस्था भने एउटै छैन्। 'श्रीमान् लामो समयसम्म विदेश बस्ने गरेकोले नेपालमा बसेका श्रीमती अर्कै पुरुषसँग मिल्ने र पछि त्यहि पुरुषसँग विवाहसमेत गरेका छन्' शर्माले भनिन् 'कतिपय पुरुष वास्तवमै पीडित बनेका छन्। यस्तो विकृति रोक्नको लागि सरकारले नेपालमै रोजगारीको व्यवस्था मिलाउनुपर्छ।' साथै परिवार समेत सचेत हुन आवश्यक रहेको र जसले गर्दा उनीहरूबाट जन्मिएका सन्ततीसमेत विचल्लीमा नपर्ने उनले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.