युवाले एकैस्वरमा भने : अब कहिल्यै विदेश जाँदैनौँ

|

सिन्धुली : काभ्रेको तेमाल गाउँपालिका–९ टेकनपुरका तिन युवाले सामूहिक रुपमा व्यावसायिक केरा खेती गर्दै मनग्य आम्दानी लिन थालेका छन्।

तेमाल गाउँपालिका–९ टेकनपुरका अमर मगर, सोही ठाउँका कमल स्याङतान र चक्रबहादुर स्याङतान मिलेर सिन्धुलीको सुनकोशी गाउँपालिका–१ देवीस्थानमा केरा खेती सुरु गरेका हुन्।

उक्त केरा खेतीबाट करिब ६ महिनामा ४ लाख बराबरको आम्दानी लिईसकेको अमर मगरले बताए। ‘४० रोपनी खेतमा जी-९ जातको केरा लगाएका छौं। २०७४ सालको चैतमा केरा रोपेका थियौं। २०७५ को फागुन देखि केरा बेच्न थालेका छौं। फागुनदेखि अहिलेसम्म ४ लाख बढीको केरा बेचीसक्यौं’ मगरले भने।

विदेशको दुःख सम्झेर गाउँमै काम

केरा खेती सुरु गर्न तीन जनाले १९ लाख बराबरको लगानी लगाएका छन्। विदेशमा गरेको दुःख सम्झेर स्वादेशमै केही गर्नुपर्छ भन्दै सुरु गरेको केरा खेती अहिले आम्दानीको गतिलो माध्यम बनेको मगरको भनाई छ।

‘मैले कतारमा २७ महिना दुःख गरेँ। मेरा दुवै साथीहरु पनि पहिला विदेशमा गएका थिए। धेरै दुःख गर्‍यौँ विदेशमा। ५ घण्टा मात्रै सुतेर काम गर्दा पनि आम्दानी राम्रो नभएपछि घरमै फर्केर केही गर्छु भनेर फर्केर मेरै योजनामा केरा खेती सुरु गरेका हौं' उनले भने।

अरू व्यवसायभन्दा केरा खेतीमा थोरै मिहिनेतमा लामो समयसम्म राम्रो आम्दानी हुने देखिएकाले केरा खेती सुरु गरेको मगरको भनाइ छ। विदेशमा पैसा कमाउन गए पनि मेनपावर कम्पनीले भनेजस्तो आम्दानी नभएको र दुःख पनि धेरै भएकाले स्वदेश फर्केर केरा खेतीमा लागेको कमल स्याङतानले बताए।

‘हामी दुई दाजुभाई विदेश पटकपटक गयौं, दुःख धेरै आम्दानी कम। हामी पनि स्वादेशमै केही गर्न चाहान्थ्यौं यस्तैमा साईनोमा मित पर्ने अमर जीले केरा खेती गरौं भन्नुभयो। अहिले राम्रै आम्दानी छ। अब हामी विदेश जादैनौं’ कमलले भने।

केरा उत्पादन गर्न सके बजार पाइन्न कि भन्ने चिन्ता नगरेको मगरले बताए। ‘केराको बजार राम्रो छ। दिनमा दुई/तीन, गाडी केरा निस्कन्छ बगैंचाबाट। त्यो सबै केरा भकुन्डेमै पुग्दैन’ उनले भने।

स्थानीय सरकारको आस

अरू फलफूल खेतीमा भन्दा केरा खेतीमा आम्दानी राम्रो भए पनि मगरको भनाइ छ। स्थानीय सरकारकाले सहयोग गरेमा केरा खेतीलाई अझै विस्तार गर्ने इच्छा रहेको उनले बताए।

विदेश गएर रातदिन नभनी खट्न तयार हुने नेपाली युवाहरुले अब स्वदेशमै घर परिवारसँगै बसेर कृषिमा लाग्दा आफू र देशको विकासमा मद्धत पुग्ने उनीहरुको विश्वास छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.