सरकारी मजाक र राजनीतिक खिचातानीले आशा मरेको गुनासो

|

सिन्धुपाल्चोक : बलेफी गाउँपालिका, बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा २०७१ साउन १७ गते भिषण पहिरो गयो। पहिरोमा ठूलो मात्रामा मानविय र भौतिक क्षति हुन पुग्यो। जुन पहिरो गएको पाँच बर्ष पुरा भयो। तर, पीडितको अवस्था टहराबाट परिर्वतन हुन सकेको छैन।

सरकारी र राजनीतिक खिचातानीकै कारणले जुरे पहिरो पीडितको अवस्था परिर्वतन हुन नसकेको हो। सरकारी निर्णय हुन नसक्दा पहिरो पीडितको अवस्था लयमा फर्कन नसकेको हो। पहिरोपीडितको नाममा दाताले सहयोग गरेको २ करोड २४ लाख रुपैयाँ अझै सरकारी खातामा रोकिएर बसेको छ। तर, सरकारी निकायबाटै पहिरोपीडितमाथि मजाग गरेको पहिरोपीडितको आरोप छ। 

सरकारले जिल्ला प्रशासन कार्यालयले पहिरो पीडितको नाममा दाताबाट संकलित २ करोड २४ लाख रकम गृह मन्त्रालयमा माग गरेको थियो। गत मंसिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितले भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गर्‍याे।

जुन निर्णय मान्य भएन। त्यसअघि सरकारले गरेको निर्णय स्वीकार नभएपछि फेरि स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सरोकारवाल निकायले मन्त्रीपरिषद्मा निर्णय सर्वसाधारण नमानेको जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।  

‘पहिलाको निर्णय सर्वमान्य नभएपछि हामीले सरकारलाई अर्को निर्णयको माग गरेको हौँ। तर,अहिलेसम्म सरकारी निकायबाटै जुरे पीडितको विषयमा थप पहल भएको छैन’ प्रजिअ चेम्जोङ थाहा खबरसँगको कुराकानीमा भनिन्, ‘हामी मन्त्री परिषद्को निर्णयको पर्खाइमै छौँ।’

भूकम्पपीडित सुचीमा राखेर पहिरो पीडितलाई तीन लाख अनुदान दिएपछि सरकारले पीडितको नाममा आएको रकम अन्यन्त्र खर्च गर्ने अवस्था आएपछि हामीहरुले पीडितको नाममा आएको रकम पीडितले नै पाउँनुपर्ने माग गर्दै आएको बलेफि गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले जनाए। 

‘पीडितको नाममा आएको रकम पीडितलाई नै उपलब्ध गराउँन पहल गरिहरेका छौँ।’ वडाध्यक्ष तामाङले भने, ‘त्यसका लागि हामीलाई गृह मन्त्रालयमार्फत मन्त्री परिषद्को निर्णय आवश्यक हुन्छ। त्यसकै पखाइमा छौँ।’ यसअघिको मन्त्रिपरिषद्को निर्णयमा पीडितले आफ्नो नाममा दाताले सहयोग गरेको रकम नपाउने भएका थिए। तर, अबको दिनमा सरकारले पीडितको नाममा कस्तो निर्णय गर्छ। त्यो हेर्न बाँकी छ। 

प्रकृति र सरकार दुवैले ठग्यो

‘पहिरो गएको पाँच वर्ष बितेछ। तर, हामीले हामीलाई दाताले सहयोग गरेको रकम पाउँन सकेनौँ’ कृष्णबहादुर तामाङ भने, ‘हामीलाई प्रकृतिले त ठग्यो ठग्यो, सरकारले पनि हामीलाई ठग्यो। राहतको पर्खाइमा रहेको यत्रो समय बितेछ।’ 

सरकारले कहिले के निर्णय गर्छ कहिले के, हामीबाट हाम्रो पैसा खोस्ने सरकारी निर्णय मान्य नहुने अर्का पहिरोपीडित रामबहादुर तामाङले बताए। ‘अरूको लागि सरकार होला। तर, हामी जुरे पहिरो पीडितको लागि कसरी हामीले हाम्रो सरकार भन्ने खै ?’ उनले प्रश्न गरे। 

पहिरोपछि पटक पटक सरकार परिर्वतन भए पनि आफूमाथि कुनै सरकारको आँखा नपरेको पीडितले दुखेसो पोखे। सरकारले पहिरो पीडितलाई वेवास्ता गरेको आरोप लगाए।  

सरकारी निर्णयले पलाएको आशा मर्‍याे

सरकारले गत मंसिर २४ गते गरेको निर्णयले पहिरोपीडितको पलाएको आश मरेको छ। ‘आफ्नो थाकथलो गुमाएको पाँच पूरा भयो। अहिलेसम्म हाम्रो नाममा जम्मा भएको रकम समेत पाएका छैनौँ।’

त्रिपुरासुन्दरी ६ की पूर्णकुमारी खत्रीले भनिन्, ‘सर्वस्व गुमाएर वाँचे अहिले घर न घाटको भएका बसेका छौँ। एकीकृत बस्ती बस्ने निर्णय भएको थियो। सरकारले हामीले हाम्रो नाममा आएको रकम नपाउँने निर्णय गर्यो अरे ! एकाएक सबै कुरा हरायो।’ वलेफी ८ की कन्या तामाङको परिवार नेपाल ओरियन्ट म्याग्नेसाइडको जग्गामा आश्रय लिएर वसेका छन्। पटक पटक जग्गा छाड्न भनेपनि उनको आश्रय लिने ठाँउ नहुदा पीडा सहेर वस्नु परेको दुखेको पोखिन्। 

बस्ती निर्माण गर्नका लागि जुरे पहिरो पीडितबाट कृष्ण लामाको संयोजकत्वमा संयाेजन समिति गठन भएको थियो। समितीले पीडितको गुनासो सम्बोधन गर्ने बताइएको भए पनि बस्ती निर्माणको काम सरकारी अन्योलतकै कारणले अझै अगाडि बढ्न सकेको छैन। 

सरकारी मजाक र राजनीतिक खिचातानी 

जुरेमा पहिरो गएको पाँच साल कट्यो। तर, अझै पहिरो पीडितको व्यवस्थापन हुन सकेको छैन। पहिरो पीडितको नाममा संकलन भएको २ करोड २४ लाख रुपैयाँ सरकारी खातामा अल्झिएको छ। पहिरो पीडितको व्यवस्थापन हुन नसक्नुमा ‘सरकारी मजाक’ र ‘राजनीतिक खचातानी’ नै मुल जड हो। 

सरकारले पहिरो पीडितको नाममा आएको रकम उचित तरिकाले वितरण गर्ने ठोस योजना बनाउँन खोज्यो। तर, विफल भयो। स्थानीय राजनीतिक दलको प्रनितिधिबीच संकलित पैसा कसरी वितरण गर्ने भन्नेमा कुरा नमिलेकै कारणले अहिलेसम्म सो रकम सरकारी ढुकुटीमा थन्किएर बसेको हो। 

१४५ लिएको थियो ज्यान

पहिरोमा परी १४५ जना अकालमै ज्यान गुमाएका थिए। पहिरो १४५ जनाको ज्यानको साथमा अर्बौ को भौतिक क्षति भयो। भिर खसेर सुनकोशी नदिलाई करिब २४ घण्टासम्म थुनेको थियो। 

पीडितको नाममा संकलन भएको रकम जिल्ला दैविक प्रकोप उद्धार समितिको खातामा अल्झिएर बसेको छ। पहिरो पीडितको नाममा २ करोड २४ लाख रुपैयाँ सहयोग हातबाट प्राप्त भएको थियो। सो रकम अहिलेसम्म कुनै एकिन निर्णय हुन नसक्दा सरकारी खातामा रोकिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.