पीडित भन्छन्- घर बनाउन लिएको ऋण नतिर्दै पहिरोले बगायो

|

दैलेख : गुराँस गाउँपालिका–२ बान्द्रेका सर्वसाधरण गाउँमा सडक आएपछि दुःखका दिन गए भन्दै खुशी भए। सडक सञ्जालबाट नजोडिएको विकट गाउँमा सडक पुगेपछि खुसी नहुने त कुरै थिएन।

सडक खन्ने क्रममा वस्तीभन्दा माथि सडक पुग्यो। त्यही सडकका कारण वर्षामा पहिरो गयो। सडक खन्ने क्रममा थुप्रिएका माटो बग्दा पहिरो गयो। त्यसले गाउँ मात्र होइन, सडक आउँदा आएको खुशी पनि बगायो । उनीहरु अहिले वस्ती छोडेर खुला आकाशमा बास बस्न पुगेका छन्।

‘सुखका दिन सुरु भए भनेर बसेका थियौं, यस्तो बिपतित्त सहनु पर्ला भनेर सोचेको थिएनौं,’ पहिरोले विस्थापित धनसरा बिकले भनिन्, ‘वस्तीमाथिबाट आएको पहिरोले जोखिम बढेपछि बान्द्रे पुडेनीका १३ परिवार घर छोडेर बसेका छौं।’

साउन ७ मंगलवार राति वर्षासँगै आएको पहिरोले उक्त वस्ती जोखिमा परेको हो। त्यस पहिरोले एक घर बगाएको थियो।

ऋण नतिर्दै घर पहिरोले बगायो 

पहिरोले घर बगाएर पालमुनि बसेकी लालमती सुनारका श्रीमान घर बनाउँदा लागेको ऋण तिर्ने रकम कमाउन भारत गएका छन्। चार छोराछोरीका आमा लालमतीसँग केही छैन। 

विद्यालय जाने छोराछोरीका लागि आवश्यक कपडा किन्ने रकम पनि नभएको उनले बताइन्। ‘सबै पहिरोमा गयो, साना बालबच्चालाई कसरी स्कुल पठाउँ,’ उनले भनिन्, ‘ऋण झिकेर बनाएको घर पहिरोले बगायो। अन्नवाली सखाप बनायो। आफु के खाने बाल बच्चालाई के खुवाउने? सडकका कारण आफ्नो परिवार गाँस न बासको भएको छ।’

पहिरोले वस्ती बगाएपछि १३ घरपरिवारका ७० भन्दा बढी त्रिपालमा बस्दै आएका छन्। तीमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। उनीहरुको खानपान र स्वास्थ्यमा समस्यामा देखिएको स्थानीय बताउँछन्।

सडकले ल्याएको बिपत्ति

गाउँपालिकाले निर्माण गरेको कच्ची सडकका पहिरो गएको स्थानीयहरुको भनाइ छ। एउटै वडामा तीनदेखि चार वटासम्म सडक खनिएका छन्। मापदण्ड विपरीत, राजनीतिक दलका नेताको शक्ति प्रयोग गरी नेताका घरैपिच्छे सडक पु¥याएको छ। यही कारण पहिरो गएको स्थानीय जगत वलीले बताए।

दुल्लु नगरपालिका–२ मा वर्खाको मुखैमा वस्तीमाथि सडक खन्दा पहिरो गयो। जसका कारण दलित वस्तीका चार परिवार बिस्थापित भएका छन्। गुरास गाउँपालिकाको बान्द्रमा गाउँ नै पहिरोले बगाउँदा खहरे खोलामा परिणत भएको छ। मकै, तरकारी पुर्ण रुपमा नष्ट भएको छ। 

गाउँपालिका अध्यक्ष भन्छन् प्राकृतिक विपत्ति

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली पहिरो सडकका कारण नगएको दाबी गर्छन्। यसलाई उनी प्राकृतिक विपत्ति भएको बताउँछन्। ‘पहिरो आउनुको कारण सडक मात्र नभएर वर्खाको समयमा ठूलो पानी परेसँगै पहिरो र ढुङ्गा वस्तीमा आएका कारण विपत्ति निम्तिएको हो,’ उनले भने । विस्थापित परिवारलाई खाद्यान्न, पाललगायत व्यवस्था गाउँपालिकाले गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.