पार्टी एकता सफल भएरै छाड्ने दाबी

|

पाल्पा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले व्यक्तिलाई नेता बनाउन नभइ समाज परिवर्तनका लागि क्रान्ति गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

नेकपा पाल्पाले सोमबार तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पूर्व दुई पार्टीका सदस्यहरु एक भएर समाज रुपमान्तरणमा लाग्न निर्देशन दिएका हुन्। 

‘केन्द्रका केही नेताको विवादले जिल्लाका नेता–कार्यकर्ता विभाजित हुनुपर्दैन’, नेकपाका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले भने, ‘समय, परिस्थिति अनुसार केन्द्रका नेताबीच बहस चल्नुु स्वभाविक हो। यसलाई तल्लो तहमा छलफलको विषय बनाउन आवश्यक छैन। सबै एक भएर पार्टी संगठनलाई मजबुत बनाउन लाग्नुस्।’

पार्टी एकतामा ढिलाईबारे पनि पोखरेलले बोले। ‘राजनीतिक, मनोवैज्ञानिक र भावनात्मक विचार नै फरक बोकेर हिँडेका दुई पार्टीबीच पूर्णरुपमा एकता हुन अझै समय लाग्छ’, उनले भने, ‘विपक्षीको टिप्पणीको पछि नलाग्नुहोला। एकता सफल भएरै छाड्छ।’

पोखरेलले अब पूर्व पार्टी नभई नयाँ पार्टी नेकपाको सदस्यता बाँड्दै हिड्न उनले अपिल गरे। ‘जहाँ जनताले संगठनको आवश्यकता महशुस गरेका हुन्छन्, त्यहाँ नेकपा पुग्नुपर्छ’, उनले थपे। 

एकतन्त्रीय शासनबाट मुलुक संघीयतामा जाँदै गर्दा केही हलचल हुनुलाई अन्यथा लिनु नपर्ने उनले बताए। ‘परिवर्तन स्वीकार्न नसक्नेहरुले विरोध गरिरहेका छन्’, मुख्यमन्त्री पोखरेलले भने, ‘परिवर्तनको बेगलाई अब कुनै शक्तिले रोक्नेवाला छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.