|

बैतडी : पहिरो प्रभावित क्षेत्र बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मल्लोढोलेमा खानेपानीको अभाव भएको छ। गाउँमा आउने खानेपानीको पाइप बगाउनुका साथै मूहानमा समेत क्षति पुर्‍याएकाले मल्लोढोलेमा खानेपानीको अभाव समेत भएको हो।

पहिरोले खानेपानीका मूहान बगाएपछि स्थानीयहरूलाई खानेपानीको जोहो गर्न निकै समस्या भएको स्थानीय प्रेम बोहराले बताए। पहिरोले पानीका मूहान बगाएपछि आधा घण्टाको दूरीबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको छ। खोलाबाट ल्याएको पानीले गाउँमा विभिन्न रोगको जोखिमसमेत बढ्दै गएको स्थानीय भानबहादुर बोहराले बताए।

पहिरोले स्थानीयका घर खेतमा क्षति पुर्‍याउनुका साथै १० ओटा जति पानी घट्टको कुलो बगाउँदा पिसानीमा समेत समस्या भएको छ। सतबाँझ श्रीभावर सडकअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म काटिएको सडकले ६ घरपरिवारलाई विस्थापित गरेको छ भने २५ परिवार पहिरोको जोखिममा छन्।

५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

पहिरोपीडित बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मल्लोढोलेका ५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोले घरमा क्षति पुर्‍याएपछि ५ परिवारलाई छिमेकीको घरमा सारिएको हो।

 अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए। शंकरपुर प्रहरीचौकी, वडाका जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

 सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालय सम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार अझै पहिरो जोखिममा रहेका वडा अध्यक्ष बोहराले बताए।

भिरालो जमीन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको हो । पानी पर्ने बित्तिकै फेरि क्षति पुग्ने हो कि भनेर स्थानीयबासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराको भनाई छ। पहिरोले स्थानीयको खेतबारीमा पनि नोक्सानी पुर्‍याएको छ।

पहिरोपीडितलाई  राहत वितरण

पहिरोपिडित बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोलेका स्थानीय बासिन्दालाई  आइतबार राहत वितरण गरिएको छ। सडकबाट खसेको पहिरोले विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले तत्कालीक राहत वितरण गरेको हो। 

अम्मरसिंह बोहरा, धौलसिंह बोहरा, लालबहादुर बोहरा, महावीर बोहरा र डम्मर बोहराको परिवारलाई राहत वितरण गरिएको  रेडक्रस बैतडीका मन्त्री रमेश भण्डारीले जानकारी दिए। प्रभावित परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडालगायत गैरखाद्य राहत वितरण गरिएको हो।

पहिरोले घरमा क्षति पुर्‍याएपछि पाँचै परिवार अहिले छिमेकीको घरमा बसीरहेका छन्। पहिरोबाट रमेश बोहराको परिवार पनि प्रभावित भएकाले उनको परिवारलाई पनि राहतका लागि पहल गर्ने रेडक्रस बैतडीले जनाएको छ। 

यसैबीच पहिरो प्रभावित मल्लोढोलेमा गाउँपालिका, प्रहरी र रेडक्रसको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ। सतबाँझ-श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्मको सडकका कारण खसेको पहिरोले ६ परिवारलाई विस्थापित गरेको र अन्य २३ भन्दा बढी परिवार पहिरोको जोखिममा रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिए। सडककै कारण ६ परिवार प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालासँग छलफल गरेर अघि बढ्ने अध्यक्ष विष्टको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.