|

काठमाडौं :  नेपालमा मात्र होइन संसारभर पुराना गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने रिमिक्स गर्ने वा रिमेक गर्नेक्रम  बढ्दै गएको छ। सोलो लाइनका गीतलाई तीव्र गतिको बनाउने र गीतको शैली मात्र नभएर शब्दमा पनि हेरफेर  गर्ने चलन सुरु भएको लामो समय भइसकेको छ। कतिपय गायक गायिकाले पुराना गीतलाई फेरि आफैँले रिमिक्स गरेका  छन् भने केहीले मूलसर्जकको नाम उल्लेख गरेर गीत निकाल्ने गरेका छन्।

सुर ताल लय र संगीतमा समेत छेडछाड गरेर रिमिक्स र रिमेक बनाइँदा कतिपय अवस्थामा गायकलाई समेत पत्तो हुँदैन। अहिले रिमिक्स गरिएका सयौं गीत बजारमा छन्। युट्युब फेसबुक लगायतका सामाजिक संजालमा सर्च गर्दा आजभोली वास्तविक गीत फेला पार्न समस्या हुन्छ।

वास्तविक सर्जकलाई अन्याय

नेपाली परम्परासमेत जोडिएका गीतको वास्तविकता रिमिक्सका कारण समसयामा परेको छ। यद्यपि, रिमिक्सका कारण पुराना सर्जक अन्यायमा मात्र परेका छैनन्। नयाँ पुस्ताका लागि परिचित पनि भएका छन्। पुराना गायक कुमार बस्नेतले समेत आफ्नो गीतलाई नयाँ स्वरूपमा ल्याएका छन्।

उनले आफ्नो चर्चित गीत 'लै बरी लै' गीतलाई पुन बजारमा ल्याएका छन्। यस्तै चर्चित गायिका रेखा शाहले पनि आफ्नो चर्चित गीत 'सिमसिमे पानीमा' लाई पनि पुन बजारमा ल्याएकी छिन्। रिमिक्स वा रिमेक नेपाली  गीत संगीतलाई फेरि एकपटक युवा पुस्तामाझ चर्चित बनाउँछ।

तर, जथाभावी गरिने रिमिक्स वा रिमेकले वास्तविक सर्जकलाई अन्याय हुन्छ। त्यती मात्र होइन् विदेशिको नक्कललाई नेपाली नेपाली गीत संगीतमा जबर्जस्ती थोपार्ने काम भएको छ। केही स्रष्टाले भने रिमिक्स गर्दा स्रोतालाई पाच्य हुने तरिकाले बनाउनुपर्ने बताउँछन्।

संगीतकार हरि लम्सालले पुरानो गीतलाई नयाँ पुस्ताले पुन गाउनु नराम्रो नभएको जिकिर गर्छन्। उनी भन्छन्,  'रिमेक गर्नु राम्रो कुरा हो। तर कस्तो मान्छेले रिमेक गरिरहेको  भन्ने कुरा महत्वपूर्ण कुरा हो।'

कोही पनि व्यक्तिले संगीतको पूर्ण ज्ञानबिना कुनै पनि गीतलाई पुन उत्पादन गर्नु राम्रो नभएको उनी बताउँछन्। उनी भन्छन्, 'वास्तविक सर्जकले गाएको गीतलाई न्याय गरेर अनुमतिमा गीत गाउन भने कुनै नराम्रो काम होइन्।' कुनै पनि सर्जकले वास्तविक गीतलाई न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने उनको तर्क छ। वास्तविक  गीतभन्दा उत्कृष्ट गर्न सकेको खण्डमा स्वागतयोग्य नै हुन्छ। तर गीतलाइ न्याय गर्न नसके त्यो काम राम्रो नभएको उनी बताउँछन्।

अर्काको गीत गाएर चर्चामा आउने र हिट हुने लालसा युवा पुस्तामाझ  देखिन्छ। उनीहरूलाई वास्तविक सर्जक को हो? भन्नेसमेत थाहा हुँदैन। झलकमान गन्धर्व आर्थिक अभावको चपेटामा पर्दा पर्दै उनको निधन भयो। तर उनका गीतलाई रिमेक वा रिमिक्स गरेका व्यक्तिले अहिले पनि आम्दानी गरिरहेका छन्।

के उनीहरूले झलकमान गन्धर्वका परिवारसँग अधिकार मागेका छन्? यो खोजीको विषय हो।  नयाँ पुस्ताका सर्जकलाई रिमिक्स वा रिमेक गीतले केही चर्चित गराए पनि वास्तविक गीतमाथि न्याय जरुरी छ। आर्थिक हिसाबले मात्र नभएर शब्द लय सुर तालसबै हिसाबले केही पुराना स्रष्‍टा अन्यायमा परेका घटनाहरू बढिरहेका छन्।

वास्तविक गीतमाथि अन्याय नगरी गाउन जरुरी

गायक बुद्दि परियारका छोरा धर्मेन्द‍्र सेवानलाई नयाँ पुस्ताले जथाभावी गीत  निर्माण गरेको मन परेको छैन। उनले आफ्नो बाबुका गीतमाथि जथाभावी अतिक्रमण भएको बताउँछन्। उनी भन्छन्, 'रिमेक गरिदिनाले वास्तविक सर्जकमाथि अन्याय पनि भएको छ। गीत कसले बनाएको भन्ने पनि सुन्ने श्रोतालाई सूचना दिँदैनन्। त्यतिकै हावा तालमा गाउँदै युट्युबमा राख्ने गरिरहेका छन्। त्यो चाही गलत हो।'

पहिले वास्तविक स्रस्टासँग आधिकार मागेर अनि वास्तविक गीतमाथि अन्याय नगरी गाउन जरुरी रहेको बताउँछन् उनी।  रिमेक वा रिमिक्स गर्न हुन्छ कि हुदैँन भन्ने विषयमा बहस जरूरी छ। पुराना गीतलाई नयाँ स्वरूपमा ल्याउदाँ नयाँ गायकको कमाइ त बढ्ला तर त्यसले नेपाली गीत संगीतको विगतलाई अन्याय गर्छ। त्यसैले रिमेक गर्दा स्रष्टाको अनुमति अनिवार्य लिन जरुरी छ। शब्दमा खेलवाड नगर्ने हो भने नयाँ शैलीमा पुरानो गीतलाई नयाँ पुस्तासम्म पुग्न सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.