काठमाडौं : नेपाली फोटो पत्रकारको छाता संगठन पिजे क्लबले ‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ फोटो प्रतियोगिता सञ्चालन गर्न भएको छ। युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा क्लबले उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
क्लबका अनुसार लिटरेसी एन्ड मल्टी लिङग्लेलिज्म विधामा हुने फोटो प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछ। यसैगरी सान्त्वनास्वरुप अर्को दुई जना फोटोग्राफरले २५ हजार रुपैयाँ पाउनेछ।
प्रतियोगिताका लागि फोटो दर्ता शुक्रबारबाट सुरु भएको क्लबले जनाएको छ। 'फोटो पठाउँदा प्रतियोगीले कुनै शुल्क तिर्नुपर्ने छैन। विश्वको जुनसुकै देशका फोटोग्राफरले पनि फोटो पठाउन सक्नेछन्', क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'तर, फोटोग्राफर आफैँले नेपालमा खिचेको फोटोमात्र पठाउन सक्नेछन्। तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीर हुनु हुँदैन, जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार र गोपनियताको अधिकार/प्रचार अथवा बौद्धिक सम्पत्तिको अधिकारको उल्लंघन भएको हुनु हँदैन।'
प्रतियोगितामा सहभागिता जनाउन चाहनेले बढीमा ६ वटा फोटो पठाउन सक्ने क्लबले जनाएको छ। प्रतियोगीले भदौ १४ गतेको मध्यरातसम्ममा फोटो पठाइसक्नु पर्नेछ र विजेताको घोषणा अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवसर पारेर भदौ २२ गरिने क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतियोगिताका बारेमा थप जानकारी लिन पिजे क्लबको आधिकारिक वेभसाइटमा लग इन गर्न सकिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।