|

सुनसरी : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पदाधिकारीमा महत्वाकांक्षा बढेको गुनासो गरेका छन्। इटहरीमा आइतबार आयोजित १६ वर्ष मूनीका राष्ट्रिय फुटबल टिमको बिदाइ कार्यक्रममा बोल्दै शेर्पाले एन्फाका पदाधिकारीले यो भएन त्यो भएन भनेर गुनासो मात्र गर्ने गरेको बताए।

अभावै अभावमा अघि बढिरहेको बताउँदै शेर्पाले एन्फाको कुनै आम्दानी नभएको अवस्थामा पदाधिकारी धेरै महत्वाकांक्षी भएको बताए। आफूहरू परिवर्तनको नारा बोकेर अघि बढेकाले केही कमीकमजोरी भए पनि मिडियाले अनावश्यक उचाल्ने गरेको आरोप लगाए। भौतिक पूर्वाधारको अभावले गर्दा फूटबलमा अपेक्षकृत विकास हुन नसकेको उनको भनाइ थियो।

विधानअनुसार नै फुटबलका गतिविधि अघि बढाएको जानकारी दिँदै शेर्पाले अब हुने लिग रेलिगेशन सहितको हुने दाबी गरे। सातदोबाटोमा रहेको मैदानमा बिहान र बेलुकाको समय भाग लगाएर टेनिङ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनाए। सातै प्रदेशमा टेक्निकल सेन्टर सञ्चालन गर्ने एन्फाको योजना रहेकाले खेलाडी उत्पादनमा उल्लेख्य प्रगति हुने उनको भनाइ थियो।

कार्यक्रममा एन्फा प्रवत्ता किरण राईले एन्फाले फूटबलको विकासका लागी रणनीतिक रूपमा काम गरिरहेको बताए। कोलकतामा हुन लागेको साफ अण्डर १६ फुटबल प्रतियोगिताको लागि इटहरीको हावापानी अनुकूल रहेकाले इटहरीमा बन्दप्रशिक्षण गरिएको बताए।

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले अहिले पनि अधिकार प्राप्तीको लागि एन्फामा संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए। फुटबलमा लागेका पदाधिकारीले कम बोल्ने तर धेरै काम गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार एक साता लामो इटहरीको बन्द प्रशिक्षणपछि अण्डर १६ राष्ट्रिय फुटबल टिम सोमबार कोलकता प्रस्थान गर्नेछ। नेपालले पहिलो खेल भारतसँग बुधबार खेल्ने मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.