|

इलाम : साविकको मेची अञ्चलका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु गरिएको ‘तेस्रो झापा स्पोर्ट्स अवार्ड २०७५’ असोज दोश्रो साता हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले असोजमा अवार्ड वितरण गर्ने निर्णय गरेको हो।

यसअघिको दोश्रो संस्करण २०७५ माघ २६ गते आयोजना गरिएको थियो। तेश्रो संस्करणमा २०७५ सालमा खेलाडीको प्रदर्शनको आधारमा अवार्ड वितरण गरिनेछ।

अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ। समितिले पूर्णता पाएपछि आगामी बैठकमा अवार्डको मिति तय गरिने सचिव अर्जुन राजवंशीले जानकारी दिए। मञ्चले विगत दुई वर्षयता स्पोर्ट्स अवार्ड गर्दै आएको छ।

एनएसजेएफ झापाले गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड स्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए।

गत संस्करणमा पुरुषतर्फ उत्कृष्ट खेलाडी इलाम घर भएका राष्ट्रिय फुटबलर नवयुग श्रेष्ठ घोषित भएका थिए। उनले फुटबलकै विशाल राई र अनन्त तामाङलाई पछि पारे। महिलातर्फ उत्कृष्ट खेलाडी झापाकी जुडो खेलाडी देविका खड्का घोषित भएकी थिइन्। उनले करातेकी एस्तर राई र महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक इलामकी एन्जिला तुम्बापो सुब्बालाई पछि पारेकी थिइन्।

मञ्चले ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो। वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक विरु श्रेष्ठले प्राप्त गरेका थिए। उनले जुडोका गंगा खड्का र बक्सिङका डम्बरबहादुर लिम्बूलाई पछि पारेका थिए। पिपुल्स च्वाईस अवार्ड राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङले प्राप्त गरेका थिए।

वर्षका युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका प्रकाश दनुवारले हात पारेका थिए। दनुवारले फुटबलकी सम्झना लावती र एल्थेटिक्सकी सविता कार्कीलाई पछि पारेका थिए। अघिल्लो संस्करणमा मोटरसाइकल र स्कुटर झापा–११ का अध्यक्ष जलकुमार गुरुङले प्रदान गरेका थिए। त्यसैगरी नगद पुरस्कारको प्रायोजन एन्फाका केन्द्रीय उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना दिवंगत भाइ आशिषविक्रम नेम्वाङको स्मृतिमा पुरस्कार प्रायोजन गरेका थिए।

पहिलो अधिवेशनका क्रममा नेम्वाङले अवार्डका लागी नगद सहयोग गर्ने प्रतिबद्धताअनुसार स्पोर्ट्स अवार्ड सुरु गरिएको निर्वतमान अध्यक्ष रमेश समदर्शी राईले बताए। पहिलो संस्करणमा झापा जिल्लालाई मात्र आधार बनाइएको थियो। गत संस्करणदेखी कार्यक्षेत्र विस्तार गरेर साविकको मेची अञ्चल बनाइएको हो। त्यसैगरी बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.