|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनको मुख्य गेट वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ। भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रलाई प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ।

समभावित झडप र सर्वसाधारणको सहजताका लागि निषेधित क्षेत्र घोषणा गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। निषेधित क्षेत्रमा प्रवेश,  हुलहुज्जतलगायत अराजक क्रियाकलाप गर्नेलाई नियन्त्रण गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले न्यायिक हिरासतमा रहेका छन्। उनीहरूमाथि जिल्ला अदालतबाट थप गरिएको ५ दिनको म्याद  सोमबार राति सकिँदै छ। म्याद सकिँदै गर्दा हुने सम्भावित प्रदर्शन तथा तोडफोडलाई मध्यनजर गरी भरतपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसअघि प्रदर्शन अराजक बन्दै गए पनि जिल्लाका विभिन्न पेसागत संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघ, विभिन्न मानव अधिकार संघ संस्थाले संयुक्त विज्ञप्ति जारी गरी अनुसन्धानलाई प्रभावित पार्नेगरी प्रदर्शन नगर्न आग्रह गरेको छ। उनीहरूले सत्यतथ्य पत्ता लगाउन सहयोग पुर्‍याउन आग्रह गरेको छ।

यस्तै, जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले पनि अनावश्यक प्रदर्शन तथा नाराबाजी नगर्न सम्बन्धित पक्षलाई सुझाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.