|

भद्रपुर (झापा)  भद्रपुरमा रहेको गौशाला (गौ–धाम) आर्थिक अभावले संकटमा परेको छ।

गौप्रेमी केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीहरूको प्रयासमा भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारमा स्थापना गरिएको भद्रपुर गौशालामा वार्षिक करिब ३४ लाख खर्च हुँदै आएको छ। तर आम्दानी १८ लाख रुपैयाँ मात्र हुन्छ। बाँकी १६ लाख चन्दा र दाताले दिँदै आएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिए।

२००८ सालमा भद्रपुर नगरपालिका कार्यालयको स्थापना भएसँगै नगरमा स्वच्छ र शुद्ध दूध पिउने तथा गाईको संरक्षण गर्ने उद्देश्यले केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीको प्रयासमा २००९ सालमा भद्रपुर गौशालाको स्थापना भएको हो। विशेषगरी भद्रपुरका स्थानीय स्वर्गीय भवानी शङ्कर मित्रुका, मुक्तिध्वज जोशी र जनार्दन शर्माले भद्रपुर गौशालाको परिकल्पना गरी करिब साढे ११ कट्ठा जमिनमा गौशाला स्थापना गरिएका थिए।

यसपछि मित्रुकाले गौशालाको नाममा २५ बिघा, जोशीले ३ बिघा र शर्माले साढे तीन कट्ठा जग्गा दान गरे। गौशालामा हालमा दुई वटा गौ आवास भवन, पराल भण्डार, कार्यालय भवन, दिव्य श्री गणेश (कृष्ण भगवान्)को मूर्ति , छात्रावास, अध्ययन कक्षलगायत संरचना छ।

२०५९ जेठ ८ मा भद्रपुरका वयोवृद्ध लादुराम अग्रवालले एउटा गौ आवासको भवन निर्माण गरिदिएका हुन्। त्यस्तै स्वर्गीय तोलराम दुगढले २०६२ कात्तिक २४ मा एउटा गौ–आवास गृह, पराल भण्डार र कार्यालय भवनको स्थापना गरिदिएका हुन्। अहिले गौशालामा गौ चराउने जमिन नहुँदा गौशाला अगाडि रहेको धनजुजु श्रेष्ठको जमिनलाई घेराबार गरी गौ चराउने स्थान बनाउन खोजिरहेको गौशालाका अध्यक्ष राजेन्द्र चापागाईँ बताउँछन्।

धान्नै धौ धौ

गौशालाको नाममा करिब साढे ३१ बिघा जग्गा छ। आम्दानी स्रोत केही नभएपछि समितिले त्यसमध्ये करिब १७ बिघा जग्गा खेती र पशुपालनका लागि भद्रपुर कृषि समूहलाई भाडामा दिएको गौशाला व्यवस्थापन समितिका सदस्य सुबोध कोठारीले जानकारी दिए। चालु आर्थिक वर्ष २०७६÷७७ का लागि समितिले ३३ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

गौशालाबाट उत्सर्ग हुने गौमुत्र, गोबर, दुध र जमिनबाट वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिका कोषाध्यक्ष दिलिप वंशलले जानकारी दिए। ‘बाँकी रकम चन्दा र दाताको सहयोगमा जुटाउनु पर्ने हुन्छ, उनले भने, ‘आम्दानीको स्रोत हुँदाहुँदै पनि गौशाला धान्नै मुस्किल भइरहेको छ, सरकारी स्तरबाट सहयोग नआउँदा दाताहरूसँग हात फैलाउनु पर्ने बाध्यता छ।’

गौशालामा भारतको दिल्ली र वृन्दावनबाट १२ वटा उन्नत जातका गाई निःशुल्क ल्याइएको समितिका अध्यक्ष चापागाँईको बताए। गौशालामा दुई नन्दी, बाछाबाछी र रैथाने गरी ७१ थान गाई छन्। तस्करले भारत लैजाँदै गरेका गाईगोरुहरु प्रहरीले बरामद गरी भद्रपुर गौशालालाई बुझाउने गर्छन्। तर, गौचरण र गौ आवास नहुँदा व्यवस्थापन गर्न समस्या भएको अध्यक्ष चापागाईँ बचाउँछन्। गाईगोरुलाई झापाकै शिवसताक्षी नगरपालिकामा रहेको गौधाममा समितिको सहयोगमा केही व्यवस्थापन हुने गरेको छ।

गौशालाबाट उत्पादन भएको सामान र दुध नगर क्षेत्रमा नै खपत हुँदै आइरहेको छ। हाल ४२ लिटर दुध उत्पादन हुँदै आएको छ। केही महिनापछि ७५ लिटर उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए। जसका लागि होलस्टेन र जर्सी जातका गाई घटाउँदै उन्नत जातका गाई राख्दै जाने सदस्य कोठारीले बताए।

सहयोग जुट्दै

गौशालालाई व्यवस्थित बनाउन भद्रपुर–७ का विदुर ढुंगानाको पहलमा दुई लाख एक हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।  पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघ भैरहवाले १ लाख ५१ हजार रुपैयाँ र गौप्रेमी मनिष रुङ्गटाले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्।

दाताबाट प्राप्त रकमबाट गौशालाभित्र झिँगा र कागबाट गाईगोरुलाई सुरक्षित राख्न तार जाली बनाउनुका साथै गौशाला अगाडिको जमिन पुग्ने नालामाथि फलामको पुल बनाइने समितिका अध्यक्ष चापागाइले बताए। गौधामप्रति आस्था र विश्वास राख्ने व्यक्तिले पनि सहयोग गरिदिनुहुन उनले सबै समक्ष अपिल समेत गरेका छन्। 

व्यवस्थापनको जमर्को

गौशालाको स्तरोन्नतिसँगै व्यवस्थानको पाटोलाई चुस्त दुरुस्त बनाउन नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। हालै सम्पन्न गौशालाको साधारणसभाले राजेन्द्र चापागाईँको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ।

समितिको उपाध्यक्षमा नन्द किशोर सरावगी, सचिव सत्यनारायण तायल, सहसचिव रिता सुवेदी (दाहाल) कोषाध्यक्ष दिलिप वंशल छन्। सदस्यहरुमा विनोदकुमार मित्तल, विनयकुमार गोयल, अजय साहेवाला, सुरेश सरिया, पारसनाथ यादव र रमेश चन्द झा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.