स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार

|

सुर्खेत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णाली विकासको मार्गमा अघि बढेको बताएका छन्। मुलुकको अर्थतन्त्र निर्माणको बलियो आधार अब कर्णालीको जल, जंगल, जमिन र जडीबुटी हुने उनले बताएका छन्।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले संघीय संरचनाका क्रममा संघ र प्रदेश सरकारबीच केही मतान्तर देखिए पनि विस्तारै समाधान हुने बताए।

केन्द्रीकृत शासन प्रणालीले गर्न नसकेको कामलाई यथोचित पार्न मुलुक संघीय संरचनामा गएको बताउँदै उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा कर्णाली प्रदेशको महत्वपूर्ण भूमिका रहने बताए। कर्णालीमा सम्भावनाको विषयलाई लिएर चर्चा गर्दै उनले भने, 'अब सूर्य अस्ताउन मात्रै पश्चिम आउँदैन।'

स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार

‘कर्णालीको स्याउ, च्याउ र झ्याउले नै कर्णाली कुनै पनि हालतमा पछि नपर्ने बरु सिंगो देशलाई सम्बृद्ध बनाउने सामर्थ्य छ’ उनले भने। अध्यक्ष तिमिल्सेनाले कर्णालीमा रहेको विद्युतीय सम्भावनाको चर्चासमेत गरे।

सिँचाइ, खानेपाली माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगका रूपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने  उनको तर्क छ।

‘भेरी, कर्णाली र तिला नदीबाट मात्रै विद्युत् निर्माण गर्न सके कर्णालीको स्वरूप परिवर्तन हुन समय लाग्दैन,’ उनले भने  ‘पर्यटन र सेवा क्षेत्रले विद्युतीय माग बढ्ने भएकोले उत्पादित विद्युत् कहाँ बेच्ने भन्ने चिन्ता लिनुपर्ने अवस्थासमेत छैन।’

डोल्पा र हुम्लामा पर्यटनको प्रचुर सम्भावना

डोल्पा र हुम्लाको माथिल्लो भेग पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको भन्दै उनले कर्णालीका गाउँ सुनसान हुने गरी युवा कालापाहाड जानुपर्ने अवस्थाको अन्त्य हुने दाबीसमेत गरे। यार्सा जन्माउने पाटनको संरक्षण र त्यहाँको पर्यावरणलाई बुझ्न नसके त्यो किम्वदन्ती बन्न सक्ने खतरा रहेको चेतावनीसमेत दिए।

कर्णालीको सडक यातायातलाई भरपर्दो बनाउने भन्ने जिम्मेवारी प्रदेश सरकारकै भएको अध्यक्ष तिमिल्सेनाको भनाइ थियो। उनले कर्णालीलाई जातीय छुवाछुतवाट अन्त्य गर्नेतर्फसमेत सचेत गराए।

योजना निर्माणदेखि कार्यान्वयन सम्ममा जनतालाई सहभागी गराए मात्रै संघीयताले सार्थकता पाउने अध्यक्ष तिमिल्सेनाको भनाइ छ। तिमिल्सेनाले प्रदेशसभामा मन्त्रीहरूले सरकारलाई थप उत्तरदायी बनाउनतर्फ लाग्न सुझाव दिए।

प्रक्रिया पनि परिणाम जति नै महत्वपूर्ण

‘लोकतन्त्रमा प्रक्रिया पनि परिणाम जति नै महत्वपूर्ण हुन्छ,’ सभाध्यक्ष तिमिल्सेनाले भने, ‘योजना निर्माणदेखि कार्यान्वयन सम्म नै जनतालाई सहभागी गराउन आवश्यक छ।’

पहाड भत्काएर सडक बनाउने भन्दा डाँडा छेडेर सडक निर्माण गर्नुपर्ने अध्यक्ष तिमिल्सेनाको सुझाव छ। ‘कर्णाली करिडोरलाई प्रसिद्ध धार्मिकस्थल मानसरोवर प्रवेशद्वारका रूपमा विकास गर्नुपर्छ’ उनले भने।

वाह कर्णाली भन्ने दिन आउँछ

उनले कर्णालीमा निर्मित विश्वविद्यालय, अस्पताल, सञ्‍चार र कनेक्टीभिटीलाई लोकतन्त्रको उपलब्‍ध भएको बताए। सुर्खेत जुम्ला सडक स्तरोन्नति, कोहलपुर सुर्खेत ४ लेन सडक, सुर्खेत सिमिकोट हिल्सा सडक योजनाले वाह कर्णाली भन्ने दिन आउने उनको दाबी छ। साथै विकासका परियोजनाको निरन्तर अनुगमम अनुगमनको आवश्यकता औँल्याए।

प्रदेश र स्थानीय तहले आफ्नो प्राथमिकता आफैँले निर्धारण गर्नुपर्छ, तिमिल्सेनाले भने  पुँजीगत खर्च कति भयो भन्दा पनि उपलब्धि के कति भयो भनी लेखाजोखा हुनुपर्छ।

उनले अब विकास खर्च असारको अन्तिममा नभई भदौबाटै सुरु गर्नुपर्नेमा जोड दिए। सार्वजनिक कोषबाट हुने कुनै पनि निर्माण को पब्‍लिक अडिटको व्यवस्था गर्नसमेत आग्रह गरे। विकासको प्रतिफल हुनेखानेसम्म मात्रै नभई हुँदा खानेसम्म पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ।

प्रदेश सरकारले आफ्नो संवैधानिक अधिकारको कार्य गरिरहँदा प्रदेशसभाले त्यसको लेखाजोखा गर्न आवश्यक रहेको बताए। सरकारलाई सचेत गराउन प्रदेशसभाको भूमिका रहनुपर्ने उनको भनाइ छ।

सबैभन्दा पहिले नाम र राजधानी तोकेकोमा प्रशंसा

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले सबैभन्दा पहिले नाम र राजधानी तय गरेको भन्दै प्रशंसासमेत व्यक्त गरेका छन्।

प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री कार्यालयबाट भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी मुख्यमन्त्रीले नै त्यो मन्त्रालय सम्हालेको  प्राप्त पत्र पढी प्रदेशसभालाई जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.