मुआब्जा विवादमै बित्यो ६ वर्ष

|

दैलेख : सरकारले महत्वका साथ अघि बढाएको देशका विभिन्न १० स्थानका नयाँ सहरमध्ये दैलेखको राकम कर्णाली पनि एक हो। तर, ८ वर्षदेखि राकम कर्णाली सहर आयोजनाको काम अलपत्र परेको छ। ग्रामीण बस्तीमा शिक्षा, स्वास्थ्यलगायत जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत बस्ती विकास गरेर सरकारले नयाँ सहरको अवधारणा ल्याएको थियो।

देशभर १० स्थानमध्ये मध्यपहाडी पुष्पलाल राजमार्गमा पर्ने पाँच ठाउँमा नयाँ सहर निर्माण गर्ने योजनाअनुसार सरकारले दैलेखको आठबीस नगरपालिकामा रहेको राकम कर्णालीलाई छनोट गरेको थियो। आयोजनाले काम सुरु गरेको आठ वर्ष भइसकेको छ। तर, कहिले मुआब्जा विवाद त कहिले ठेकेदारले बीचैमा काम छाड्ने गरेकाले उक्त आयोजनाको कामले गति लिएको छैन।

मुआब्जा विवादमै ६ वर्ष

६ वर्षदेखि राकम कर्णाली नयाँ सहर आयोजनाको काममा मुआब्जा विवाद छ। जग्गाधनी जनताले सरकारबाट बजार मूल्यभन्दा कम रकम मुआब्जा पाउने भएपछि विवाद निम्तिएको हो।

उब्जनीयोग्य जमिन सबै आयोजनाको नाममा मासिने र सरकारले दिने मुआब्जा कम हुने भएकाले आफूहरूले उतिवेला जग्गा दिन नमानेको स्थानीय गणेश माझीले बताए।दुई वर्षअगाडि मुआब्जा विवाद मिलेको भए पनि अहिलेसम्म के कारणले आयोजनाको कामले गति लिन सकेन आफूहरूलाई जानकारी नभएको माझीले बताए।

विवाद मिलेको २ वर्षमा पनि घि बढेन काम  

मुआब्जा विवाद समाधान भएको दुई वर्ष बितिसक्दासमेत आयोजनाको काम अगाडि बढ्न सकेको छैन। मुआब्जा विवाद भएपछि नयाँ रणनीति तयार भएर काम अगाडि बढाउने सहमति भएको नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताए।

कुल जग्गाको ३० प्रतिशत सडक र अन्य पूर्वाधारमा मासिने र बचेको ७० प्रतिशत जग्गा जग्गाधनीलाई फिर्ता हुने सहमतिपछि काम अगाडि बढाउने सहमति भएको उपाध्यायको भनाइ छ।

ठेक्का खुल्छ काम हुँदैन  

आयोजनाको काम आगाडि बढाउने भन्दै समय समयमा ठेक्का खुल्ने गरे पनि अहिलेसम्म देखिनेगरी काम भएको छैन। गत वर्ष सडक र अन्य भौतिक पूर्वाधार निर्माणका लागि पाँचवटा ठेक्का खोलेको आयोजना उपप्रमुखले बताए पनि काम भने अगाडि बढेको छैन।

सडक निर्माण सार्वजनिक जग्गा संरक्षण, खानेपानी निर्माण लगायतका कामका लागि विभिन्न समयमा रकम विनियोजन गरिन्छ। तर, ठेक्का प्रक्रिया सुरु भए पनि आयोजनाको कामले गति लिनेगरी काम नभएको स्थानीय बताउँछन्। केही समय अगाडि आयोजनाले राकम कर्णालीको भेलतडीदेखि झोलुंगेपुल र खिड्कीज्यूलादेखि राकमकर्णालीसम्म सडक चौडा र कालोपत्रे गर्ने भन्दै ठेक्का खोलेको छ।

काम भइरहेको छ : आयोजना उपप्रमुख

मुआब्जा विवाद मिलेपछि नयाँ सहर आयोजनाको काम भइरहेको आयोजना उपप्रमुख भूपराज पौड्यालले बताए। आफू केही समय अगाडि उक्त आयोजनाको फिल्डमा पुग्दा दुई वटा योजना सुरु गरिएको भए पनि पछि पाँचवटा ठेक्का खोलेर काम अगाडि बढाएको पैड्यालले बताए।

अहिले सोलार बत्तीको ठेक्का खोलिएको सम्झौता हुन बाँकी रहेको र पहिले खोलिएको ठेक्कामा १ सय ६५ स्टेट लाइट राख्ने काम भइसकेको उनले बताए। बाँकी कामको ठेक्का खोलेर काम अगाडि बढाउने तयारीमा आयोजना लागेको उनको भनाइ छ।

मुआब्जा विवाद समाधान भएपछि मन्त्रालयमा फाइल गएको छ। उक्त फाइल क्याबिनेटबाट पास भएर आउनेबित्तिकै आयोजनाले जग्गा छुट्याउने काम तीव्र गतिमा अगाडि बढाउने आयोजना उप–प्रमुख पौड्यालले बताए।

कर्मचारी समस्या मुख्य चुनौती

आयोजनाको काम अगाडि बडाउन मुख्य चुनौती कर्मचारी समस्या भएको आयोजना उपप्रमुख पौड्यालको भनाइ छ।

अहिले एकजना आफू र लेखापाल भए पनि लेखापाल काजमा कोलेनिका दैलेखमा रहेकाले काममा समस्या हुने गरेको बताउँदै दरबन्दी अनुसारका कर्मचारी नहनुले पनि आयोजनाले सोचे अनुसारको उपलब्धि नदेखिएको उनले बताए। सरकारले माथिबाट कर्मचारी पठाउने भनेकाले अबका दिनमा आयोजनाले गति लिने पौड्यालले आशा व्‍यक्त गरे।

पर्यटकलाई समस्या

व्‍यवस्थित सहर नहुँदा कर्णाली प्रदेशको पर्यटनको निकै सम्भावना बोकेको रारा पुगेर आउने पर्यटकलाई बासमा समस्या हुने गरेको छ। सुर्खेतदेखि रारा जाने र फर्किने पर्यटकलाई दैलेखको राकम कर्णालीमा सहजै रोक्न सकिने भए पनि उचित बासस्थानको व्‍यवस्था नभएकाले आएका पर्यटक पनि रातारात सुर्खेत जानुपर्ने बाध्यता छ।

नयाँ सहर आयोजना बनेपछि पर्यटकलाई सहजता हुने र स्थानीयस्‍तरमा रोजगारी पाउन सकिने स्थानीय बताउँछन्। उक्त आयोजना बनेपछि कर्णाली नदीमा जलयात्रा लगायतका आन्तरिक र बाह्य पर्यटक बढेको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.