|

दार्चुला : नेपाल-भारतको सीमा छुट्याउने महाकाली नदी किनारका बासिन्दाका लागि वर्षेनी त्रास बोकेर आउँछ। हरेक वर्षामा महाकालीको सतह बढेसँगै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई प्रशासनले सार्वजनिक सूचना जारी गरी सतर्क रहन आग्रह गर्दछ।

२०७० सालको बाढीपछि नदी किनारका बासिन्दा प्रत्येक वर्षामा त्रसित भएर बस्नु पर्ने अवस्थाको अन्त्य भएको छैन। तर महाकालीले त्रास मात्रै बोकेर ल्याउँदैन। महाकालीले आफ्नो वहावसँगै निम्न आय भएका नागरिकका लागि आश पनि बोकेर ल्याउँछ।

महाकाली नदी किनारमा थिग्रिएको बालुवा बेचेर घर खर्च चलाउने र घर निर्माण गर्नेहरूको कथा सुनेपछि महाकालीले त्रास मात्रै नभएर आश पनि ल्याउने गरेकाे स्थानीय बताउँछन्।

२०७० साउन २ र ३ गने महाकालीमा आएको बाढीले महाकाली नगरपालिका ४ मा रहेको २ तले घरसहित सबै सम्पत्ति गुमाएकी ५५ वर्षीय द्रोपती धामी महाकालीकै कारण अहिले घर खर्च समेच चलेको बताउँछिन्।

महाकाली किनारमा बालुवा निकाल्दै गरेकी प्रौढ महिला द्रोपती महाकाली किनारबाट झिकेको बालुवा बेचरै घर खर्च चलाउने गरेको बताउँछिन्। १५ वर्षीय पदम महरा पनि विदाको दिन महाकाली नदी किनारमा साथीहरूसँग बालुवा झिक्ने काम गर्दछन्। महाकाली नगरपालिका  ४ मोहतीमा डेरागरी बस्ने महरा पशुपति शिक्षा मन्दिरमा कक्षा ९ मा पढ्छन् र बुबा आमासँगै विदाको दिन बालुवा झिक्न महाकाली नदी किनारमा बस्छन्।

बुबाआमा, आफू र बहिनीको खर्च र पढाई खर्च समेत बालुवा बेचेरै निकाल्ने उनी बताउँछन्। बाढीले ३ तले ७ कोठे घर बगाएर बेघर बनेका दुहुँ गाउँपालिका ४ का नरेन्द्र धामी खलंगामा होटल चलाउँछन्। फुर्सतका सबै सयम महाकाली नदी किनारबाट बालुवा झिक्ने काम गर्छन्।

३५ वर्षीय धामी महाकालीको बालुवाले कम्तिमा पनि ५० घरपरिवारको घरखर्च चलेको बताउँछन्। महाकाली नदी किनारमा बालुवा झिक्दै गरेको अवस्थामा भेटिएका धामी महाकाली नदी किनारमा केही व्यक्ति मात्रै आफ्नै घर बनाउन र अधिकांश बालुवा बेचेर घरखर्च चलाउन बालुवा निकाल्ने गर्ने बताउँछन्।

करिब २५ वर्षदेखि महाकाली किनारबाट बालुवा निकाल्ने काम गर्ने गरेको बताउने महाकाली नगरपालिका ५ का पार्वती बोहरा बालुवा बेचेरै आफूले सदरमुकाममा तीनतले घर निर्माण गरेको बताउँछिन्।

‘पहिले पहिले कमै जनाले बालुवा निकाल्थे अहिले त बालुवा बेचेर घर चलाउने धेरै छन्’ उनी भन्छिन्। महाकालीले घर निर्माण गर्ने, घर खर्च चलाउने मात्रै नभएर दर्जनौं नानीलाई पठन-पाठनमा समेत सघाइ रहेको छ।

बिदाका दिन अभिभावकसँगै महाकाली नदी किनारमा बालुवा निकाल्ने काममा सहयोग गर्दै गरेका बालबालिका छुट्टीमा आफूहरू बालुवा निकाल्ने काम गरेको मात्रै बताउँदैनन्। बालबालिकाले सहयोग गरे बढीभन्दा बढी बोरा बालुवा भर्न सकिने हुँदा बालबालिका पनि सँगै ल्याउने गरेको अभिभावकहरू बताउँछन्।

‘केटाकेटी भए एकै दिनमा ४०/४५ बोरा बालुवा निकाल्न सकिन्छ आफू मात्रै भए दिनमा १५/२० मात्रै हुन्छ' तीनजना छोराछोरीका साथमा महाकाली किनारमा बालुवा निकाल्दै गरेका ४५ वर्षीया बिस्ना ठगुन्नाले भनिन्।

‘निकालिएको बालुवा प्रति बोरा ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुन्छ। भौतिक संरचना निर्माण गर्ने काममा लागेकाहरू महाकाली किनारमै आएर बालुवा किन्छन्।’

महाकाली नदी किनारमा बनेको तटबन्धनजिकै घर भएका बिरसिंह बडालले बताए। 'घेरैको घरपरिवार नदीको बालुवाले चलाएको छ' स्थानीय बडालले भने, ‘तटबन्धलाई जोखिम नहुने गरी बालुवा संकगन गर्ने काम भए राम्रो हुन्थ्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.