|

काठमाडौं : यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा प्रसिद्ध सांगीतिक समूह लेकाली-परिवारको प्रस्तुति हुने भएको छ। यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन्।

लेकालीका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठले प्रस्तुति दिने आयोजक नेपालयले जनाएको छ। लेकाली-परिवारको पलेँटीमा गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन्। मीना पलेँटीसँग लामो समयदेखि संलग्न रहेकी गायिकासमेत हुन्।

यही महिनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी ३ दिनसम्म नेपालयका अर्पण शर्माले बताए। उनका अनुसार कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले लेकालीको सांगीतिक यात्राको सेरोफेरोमा रहेर लेकालीसँग संवाद पनि गर्नेछन्।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।

शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रबार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको नेपालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.