|

विमला ढकाल-

बर्दिया : बर्दियाको ठाकुरबाबाा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनदेखि प्रविधिसम्मलाई आफ्नो ध्यानमा राखेको जनाएको छ। बिहीबार नगरमा आयोजित गत वर्षको वार्षिक कार्यक्रम समीक्षा कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्रमुख प्राथामिकतामा राखेको बताए।

समृद्धिका लागि जनसहभागिता भन्ने मूलनाराका साथ नगरका सम्पूर्ण गतिविधिहरु स्थानीयलाई जानकारी गराउने उद्देश्य लिएको नगरले नगरपालिकाका सम्पूर्ण गतिविधिहरुका स्थानीयबासीले समेत निगरानी राख्न आबश्यक रहेको जनाएको छ।

सबै वडा स्थास्थ्य सेवाको पहुँचमा

ठाकुरबाबा नगरपालिकाका सम्पूर्ण वडाहरुमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको नगरप्रमुख घननारायण श्रेष्ठले दाबी गरेका छन्। नेपाल सरकारले तय गरेको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रमअनुसार नै सबै वडामा सहरी स्वास्थ्य क्लिनीकहरु स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।

स्थापना गरिएका स्वास्थ्य क्लिनिहरुबाट स्थानियले सहज रुपमा स्वास्थ्य सेवा लिईरहेका छन्। यसअघि स्थानियलाई स्वास्थ्य सेवा लिन भुरीगाउँ नै आउनु पर्ने बाध्यता थियो। अहिले आफ्नै वडाबाट सेवा लिन पाउने भएपछि स्थानिय खुसीसमेत भएका छन्।

गर्भवतीलाई जनही एक हजार पोषण भत्ता

यस्तै नगरपालिकाले गर्भवती आमाहरुलाई जनही १ हजार रुपैयाका दरले पोषण भत्तासमेत प्रदान गर्दै आएको छ। यस्तै कृषिमा आधुनिक प्रविधि लागू गर्नुपर्छ भन्ने उद्देश्यसहित नगरले अगुवा कृषकहरुलाई अनुदानमा पावरटिलर, विउ, मल पनि वितरण गर्दै आएको छ।

बालविवाह न्यूनीकरणका लागि सचेतना

पछिल्लो समय ठाकुरबाबा नगरपालिकामा मात्रै नभएर बर्दिया जिल्लासहित देशभरमै बढ्दै गईरहेको बालबिबाह न्यूनीकरणका लागी ठाकुरबाबा नगरपालिकाका १ सय २५ स्थानमा बालविवाह न्यूनीकरणका लागी सचेतनाका कार्यक्रमहरु गरिएको छ।

बालबिबाह न्यूनीकरणका लागि विभीन्न विद्यालयका विद्यार्थिहरुलाइृ सहभागी बनाएर नगर स्तरीय बालबिबाह न्यूनीकरण संजालसमेत गठन गरेको। यस्तै नगरप्रमुखकै सक्रियतामा विभिन्न विद्यालयमा गएर यस बिषयमा अभिमुखीकरण समेत संचालन गर्ने गरिएको छ।

पछिल्लो केही समययता यसरी सचेतना जगाउने कार्यक्रम गर्न थालिएसँग बालबिबाह केहि मात्रामा कम भएको समेत जनाइएको छ।

भ्रष्टाचाररहित नगर बनाउन प्रतिबद्ध

नगरप्रमुख श्रेष्ठले ठाकुरबाबा नगरपालिकालाई भ्रष्टाचार रहित नगर बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। भ्रष्टाचार न्यूनीकरणका लागि नगरपालिकालाई सहयोग गर्नसमेत उनले सम्पूर्ण स्थानीयलाई आग्रह गरे।

भ्रष्टाचार न्यूनीकरणका लागी किनै प्रयास थालिए पनि अझै पुर्ण रुपमा अन्त्य हुन सकेको छैन उनले भने यसका लागि नगरको सम्पूर्ण टिम लागिरहेको छ। भ्रष्टाचाररहित नगर बनाउन स्थानियवासी सबैको सहयोग रहेमा प्रयास सफल हुने जनाइएको छ।

नगर प्रमुख श्रेष्ठले आफ्नो तलब भत्ताबाहेक अन्य क्षेत्रबाट आफूले एक रुपैया लिएको पाइए पनि आफूलाई खबरदारी गर्न नगरप्रमुख श्रेष्ठले स्थानियलाई आग्रह गरेका छन्। म जनताको सेवाका लागी निर्वाचित भएको हुँ नगरप्रमुख श्रेष्ठले भने जनतालाई सेवा प्रवाह गर्नु र विकासको अनुभूति दिलाउनु मेरो दायित्व हो। उनले थपे नगरभित्र कोही कसैले अमानवीय क्रियाकलाप र भ्रष्टाचार गर्न पाउने छनै। यदि त्यस्ता कार्यमा संलग्न हुनेलाई कडा कारबाही गरिनेछ।

शिक्षामा झण्डै ९० प्रतिशत प्रगति

ठाकुरबाबा नगरपालिकाको शिक्षामा झण्डै ९० प्रतिशत प्रगति हासिल भएको नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा क्षेत्रको विकासका लागि नगर शिक्षक नियुक्ति, स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक मूल्यांकन विधिमा सफ्ट्वयर प्रणालीको सुरुवात लगायतका महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरेको शिक्षा शाखा प्रमुख रामहरी रिजालले बताए।

यस्तै, शैक्षिक कार्यक्रम सहितको शैक्षिक क्यालेन्डर तयारी र कार्यान्वायन, दरबन्दी नपुग भएका बिद्यालयका लागी नियम अनुसारको न्यूनतम शिक्षक ब्यबस्थापन, शिक्षा ऐन र कार्यविधि बनाई कार्यान्वायन, गर्भावस्थादेखि नै बालबिकास कार्यक्रम कार्यान्वायन लगाएतका कार्यहरु समेत सम्पन्न गरिएको छ। ठाकुरबाबा नगरपालिकाका ५५ हजार स्थानिय मध्य झण्डै ९६.४ प्रतिसत साक्षर भएको जनाइएको छ।

पर्यटन प्रवर्द्धनका लागि नगरको चासो

बर्दियाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेको ठाकुरद्वारा क्षेत्रको भौतिक पूर्वाधा लगायत पर्यटन प्रर्वद्धनका लागि ठाकुरबाबा नगरपालिकाले चासो देखाएको छ। नगरपालिकाले पूर्वाधार निर्माण र यस क्षेत्रको प्रचारप्रसारमा समेत पहल गरेको छ। बर्दिया एसियामै प्राकृतिक वाइल्ड लाइफ टुरिज्मको गन्तव्य बन्न सफल भएको पर्यटन व्यवसायीले बताएका छन्।

देशको शान, अन्तर्रा्ष्ट्रिय पहिचान बोकेको बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तुहरु र थारू समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य हो। निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारू सांस्कृतिक नाच, थारू समुदायको मौलिक परिकारहरू, आदिको अबलोकन गर्न सकिन्छ।

गतिलो पर्यटकीय गन्तव्य

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसँगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्यासमेत बढ्दो छ। आन्तरिक तथा बाह्य पर्यटकहरू बाघ हेर्न चितवनपछि बर्दिया आउने परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् भने १ सय २० बढी हात्ती रहेका छन्। यस्तै निकुञ्जमा ५ सय १३ प्रजातीका चराचुरुङ्गीलगायत अन्य थुप्रै वन्यजनतुहरू रहेको निकुञ्जले जनाएको छ।

लोपोन्मुख बाघ अवलोकनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम नेपालकै गतिलो पर्यटकीय गन्तव्य बनेको छ। पश्चिम तराईकै प्राकृतिक गन्तव्यका रूपमा रहेको निकुञ्जमा जताततै बाघ देखिन थालेपछि पर्यटकको संख्यासमेत बढेको छ। पछिल्लो समय बर्दियाको पर्यटकीय गन्तव्य अवलोकन गर्न आउने पर्यटकको संख्या २० प्रतिशतले वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

प्रदेशको ध्यान केन्द्रित

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले ठाकुरबाबा नगरपालिका पारदर्शी ढंगबाट अघि बढिरहेको बताइन्। उनले भनिन् नगरपालिकाले स्वस्फूर्त रुपमा आफ्ना कार्य योजनाहरु अगाडि बढाएको देख्दा खुसी लाग्यो, सम्पूर्ण नगरले यसरी नै आफ्ना कार्यक्रम अघि बढाएमा समृद्धि टाढा छैन।

तिनै तहका सरकारले समृद्धिका लागि आआफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिइन्। यस्तै उनले समग्र बर्दियाको विकासका लागि प्रदेशको ध्यानाकर्षण भएको बताएकी छन्। ठाकुरबाबा नगरपालिका सहित समग्र बर्दियाको विकासका लागि आफूले पनि प्रयास थालिरहेको उनको भनाइ छ।

बर्दिया पछाडि

प्रदेश नम्बर ५ का १२ वटा जिल्ला मध्य बर्दिया सबै भन्दा पुछारमा र विकास तथा पूर्वाधारका हिसाबले समेत निकै पछाडी परेको जिल्ला भएकाले प्रदेशले निकै चासोका साथ हेरीरहेको उनले बताएकी छन्। बर्दिया जिल्ला भरिमा ठाकुरबाबा नगरपालिकाकाले नमुना नगरका रुपमा काम गरिरहेको समेत उनले बताइन्।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुको प्रमुख आथित्यता रहेको थियो भने प्रदेश नम्बर ५ का प्रदेश सदस्य लौटी थारुको विशिष्ट आथित्यता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.