|

भदौ ११ गते राति कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा २४ वटा गाई भीरबाट खसालेपछि मृत अवस्थामा भेटिए। बाँकेको नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा हालिएका थिए।

ती गाईगोरुलाई कटकुवा जंगलमा पुगेपछि सडकबाट सीधै भीरमा खसालेको अवस्थामा भेटिए। २४ वटा मरेकै भेटिए भने अन्य कैयौँ गम्भीर घाइते अवस्थामा थिए। यो प्रकरणमा हिन्दुवादी दल राप्रपाबाट नेपालगञ्ज उपमहानगरको मेयर बनेका डा. धवलशमशेर राणा मुछिएका छन्।

सुर्खेतमा भएको गाईगोरुको सामूहिक मृत्युको विषयले अझै पनि नेपालको राजनीति तरंगित छ। हिन्दूवादी दलका मेयरमाथि गौहत्याको आरोप लागेको छ। यसको छानविनका लागि गृह मन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले छुट्टाछुट्टै छानविन समिति बनाएका छन्।

नेपालगञ्ज उपमहानगरले दैलेखमा बाँड्न भनेर लगिएका गाइगोरु सुर्खेतको भीरमा मृत भेटिनुमा उपमहानगरपालिकाको लापरबाही देखिएको छ। यस प्रकरणम मेयर राणा आफ्नो बचाउमा लागेका छन्। आफैँले चलाएको कान्जी हाउसबाट लगिएका गाई भीरबाट खसालिएपछि राणाको चर्को आलोचना भइरहेको छ।

मेयर भने गाई भीरबाट खसालेर नभई ट्रकभित्रै मरेको भन्दै बचाउमा लागेका छन्। उनी गाई ट्रकमै कोचाकोच भएर मरेकाले यस्तो आरोप लगाउन नहुने तर्क गर्छन्। यसै विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणासँग थाहाखबरका नरेन्द्र सापकोटाले गरेको कुराकानी :

गाइगोरुलाई भीरबाट खसालेर मारिएको आरोपबारे के भन्‍नुहुन्छ? 

यो सबै गलत हो। हामीले दैलेखमा जनतालाई वितरण गर्न पठाएको हो। अलिकति कमजोरी के भयो भने धेरै गाईगोरु ट्रकमा हालियो। आठवटा ट्रकमा हालेर लगे। त्यसैले बाटोमा ट्रकभित्रै आपसमै किचिएर मरेका हुन्। थाकेका बुढाबुढी र कमजोर गाइगोरु थिए, त्यसैले ट्रकभित्रै एकअर्कामा थिचिएरै मरे।

राति गाडीमा ल्याएर सयौँ गाई भीरबाट खसाइए 

अनि हाम्रा कर्मचारीहरुले मरेका गाइगोरुलाई सडक छेउमा राखिदिए छन्। अरुलाई जंगलमा छाडिदिए। कसैले भीरबाट खसालेको होइन। र, यो राम्रो गर्न खोज्दा दुर्घटना भएको हो। यस विषयमा हामी सबै दुःखी छौं। 

तीन सय गाइगोरु आठवटा ट्रकमा कोचेर लैजानु भनेको त मर्नैका लागि पठाइएको रहेछ नि होइन र? 

हो त्यो त, हुन त ठूलै ट्रक थिए। तर कर्मचारीहरुको गल्ती पनि भएको हो यो। यो घटना हुँदा म काठमाडौंमा थिएँ। तर अब जे होस्, नगर प्रमुखको हैसियतले मैले यसको जिम्मेवारी लिनुपर्छ। यसबारे छानबिन हुँदैछ। धेरै छाडा गाईगोरुको विगविगी भएर पश्चिम तराईमा समस्या देखिएको छ।

बाटोमा पनि हजारौं गाई र हाम्रो कान्जी हाउसमा पनि पाँच सयवटा भएकाले दैलेखतिर कुरा मिलाएर पठाउन खोज्नुभएको हो हाम्रो कार्यालयको हाकिम सा’वले। धेरै गाइहरु एकैपटक लैजाँदा थिचिएर मरेका हुन्। यो कुरामा अलिकति कमजोरी चाहिँ भएकै हो। कसैले गलत भावनाले भीरबाट फालेर मारेको होइन। 

भीरमा मरेका गाईगोरु कसरी भेटिए त? 

त्यस्तो होइन, ट्रकमै मरेका गाईलाई हाम्रा कर्मचारीले सडक छेउमा राखिदिएका हुन्। गृह मन्त्रालयले पनि छानविन गर्दैछ। हामीले पनि उपमहानगरपालिकाका तर्फबाट स्वतन्त्र छानविन समिति बनाएका छौं। त्यो त छानबिनबाट आइहाल्ला नि। 

उपमहानगरले लगेका त्यति धेरै गाई मरेपछि सडकमा त्यत्तिकै मिल्काउन पाइन्छ?

त्यही त गल्ती भयो। मरेका गाईलाई फिर्ता ल्याएर मुचुल्का गरेर गाड्नुपर्थ्यो। कर्मचारीहरू राति गाइगोरु मरेपछि आत्तिए, अनि सडक छेउमै फाल्दिए। 

त्यतिखेर काठमाडौंमै थिएँ भन्‍नुभयो, फर्किएपछि त कर्मचारीसँग बुझ्नुभो होला नि यथार्थ के रहेछ भनेर?

मैले तपाईंलाई यथार्थै कुरा बताइरहेको छु। यो यथार्थभन्दा अलिकति पनि बाहिर छैन। 

भन्‍न चाहिँ दैलेख भनियो, खासमा लान लागेको कहाँ भन्ने चाहिँ टुंगो रहेनछ नि? 

दैलेखका विभिन्‍न ठाउँमा वितरण गर्नका लागि लग्या हो। 

अनि मर्न लागेका गाईगोरु कसले पाल्छन् र? वितरण गर्ने भनेर लगेको त? 

अब पहिला पनि लगेकै हो। साना बाच्छाबाच्छी पनि मरेका छन्। त्यस्ता बाच्छाहरू पहाडतिर जोत्नका लागि लैजाने गरेका छन्। यो कुरा मिलाएरै लगिएको हो। चिठीहरू पनि छ म, कहाँकहाँ लग्ने भनेर। बाटोमा थिचिएर मरेका हुन्।

अब कुरो यति हो। यसलाई राजनीतिकरण गरेर भीरबाट फालियो भनिएको छ। कसले फाल्छ गाईलाई भीरबाट? सबै हिन्दूहरू नै हो। मरेका गाईलाई सडकको छेउमा राखिदिएको हो। सत्य कुरा यही हो। छानविनमा पनि यही आउँछ हेर्दै जानुहोला।

सुन्‍नुस अडियो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.