|

बैतडी : बाँदरले बैतडी सदरमुकाम क्षेत्रमा बिगत केही वर्षदेखि बाँदरले आतंक फैलाएको हो।

सदरमुकाम क्षेत्रमा महिला तथा बालबालिकालाई आक्रमण गर्ने गरेको छ। बाँदर खेतबारीमा काम गर्ने बेला महिला तथा विद्यालय आउने जाने बेला बालबालिकालाई आक्रमण गरी घाइते बनाउने गरेको छ। त्यति मात्रै होइन खेतबारीमा लगाएको अन्नबाली, फलफूलका साथै घरभित्र पकाएर राखेको खाना समेत बाँकी राख्दैनन्।

सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको छ। दशरथचन्द नगरपालिका ४,५,६ , ७ र ८  मा बाँदरले बिगत केही वर्षदेखि आतंक मच्चाएकोले बाँदर व्यवस्थापनको लागि भनेर १० लाख रुपैयाँ विनियोजन गरिएको हो।

 बाँदर लगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नको लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिए। वडामा विशेष गरेर बाँदरले आतंक मच्चाएको उनले बताए।

खेतमा लगाएको अन्नबाली तथा फलफूल बाँदर सखाप पार्ने गरेको छ।  यसका साथै घरभित्र समेत पसेर पकाएको खाना तथा घरभित्र थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्न समेत बाँदरले खाने गरेको छ।

वडा अध्यक्ष भट्टले भने,'बाटोमा हिड्दा समेत महिला तथा बालबालिकालाई बाँदर आक्रमण गर्ने गरेको छ', गत साउनमा समेत ३ जनालाई बाँदरले टोकेको र बाँदरले टोकेपछि तीनैजनालाई रेबिजविरुद्ध सुई समेत दिएको उनले बताए। जंगली जनावर व्यवस्थापन कसरी गर्ने भन्ने विषयको टुंगो भने लाग्न बाँकी रहेको दशरथचन्द नगरपालिका ५ को कार्यालयले जनाएको छ। 

जंगली जनावर व्यवस्थापनका लागि जिल्ला प्रसासन कार्यालय, डिभिजन वन कार्यालय, दशरथचन्द नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ। बाँदर नियन्त्रणका लागि दशरथचन्द नगरपालिकाले विगतका वर्षमा पनि  बजेट बिनियोजन गर्दै आएको छ।  

बाँदर आतंकले खेतीयोग्य जमिन बाँझै

सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरहरुले आतंक फैलाएपछि खेतीयोग्य जमिन समेत बाँझै छोड्ने गरेका छन्। यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छोड्ने गरेका स्थानीय तेजप्रकाश भट्टले जानकारी दिए। गएको ५/६ वर्ष यता गाउँमा बाँदरको आतंक फैलिएपछि खेतमा बालीनाली लगाउन छोडिएको छ। उनले भने, 'खेतमा लगाएको बाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो छोडेको हुन्।' 

बाँदरको आतंककै कारण स्थानिय बासिन्दा बसाइँ सर्न बाध्य छन्। खेतमा लगाएको बालिनाली र रुखका फलफूल मात्रै होइन। पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लग्ने गर्दा नागरिक आतंकित भएका छन्।

बाँदरले स्थानीयलाई सहनै नसकिने दुख दिन थालेपछि स्थानीय बासिन्दा बसाइँ सर्ने अवस्था समेत आएको पार्वती चन्दले बताइन्। बाँदरले खेतमा लगाएको बाली-नालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका ८ त्रिपुराका हिम्मत चन्दले बताए।

वर्षौदेखिको गाउँमा बाँदर आतंक छ उनले भने,'लगाएका अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छोडेका छौं।' खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको दशरथचन्द नगरपालिका ५ का स्थानीबासी डम्बर टमाटाले बताए। उनले भने,'घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नु परेको छ।'  

समूहमा आउने बाँदरले वालीनाली नष्ट गर्न थालेपछि धेरै जसोले अन्नबाली लगाउन समेत छोडेको हो। खेतमा लगाएको सबै तरकारी र अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि आफूहरूले खेत बाँझै छोडेको स्थानीय लक्ष्मी भट्टले बताइन्। बाँदरले घरभित्र समेत पसेर नोक्सानी गर्ने र सबै फलफूल समेत नष्ट गरेको स्थानीयले बताएका छन्।

बाँदरका कारण आफूहरूले निकै सास्ती भोग्नु परेको स्थानीयले बताएका छन्। यो सिजनमा लाखौंको सुन्तला,मौसम, अमिलो फल्ने यी क्षेत्रमा हाल चाख्नलाई एकदाना पनि मिल्न छोडेको छ। दशरथचन्द नगरपालिकाको कुमालीमा सबैभन्दा बढी बाँदरले क्षति पुर्‍याउने गरेको जनाएको छ। बाँदरका कारण स्थानीयबासी निकै आतंकित र चिन्तित बनेका छन्। 

बाँदर धपाउने अभियान सफल हुन सकेन् 

बाँदरको आतंक बढेपछि बैतडीको दशरथचन्द नगरपालिकाले गत वर्ष पनि  बाँदर धपाउने अभियान सुरु गरेको थियो तर त्यो सफल हुन सकेन। गतवर्ष पनि दशरथचन्द नगरपालिकाको बाँदर लखेट्ने अभियान चलाएको भए पनि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको दशरथचन्द नगरपालिका ५ का वडा अध्यक्ष नारायणप्रसाद भट्टले बताए।

बाँदरले खेतमा लगाएको अन्न देखि भान्सामा पकाएको खाना समेत खान थालेपछि स्थानीय वासिन्दाले नगरपालिका सँग बाँदर व्यवस्थापनको माग गरेका थिए। 
नगरपालिका ४, ५, ६, ७ र ८ लगायतका बिभिन्न वडामा जंगली जनावर बाँदरले नागरिकलाई सताउन थालेपछि नगरपालिकाले बाँदर धपाउने अभियान सुरु गरेको थियोे।

बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भए पनि फेरि गाउँमै बाँदर फर्केर आएका हुन्। दशरथचन्द नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना बाँदर आतंक पहिलो प्रकोपको रुपमा स्तरीकरण गरिएको छ।

नागरिकले बाँदरले दुख दिन थालेको गुनासो पटक पटक गर्दै आएपछि बाँदर धपाउने अभियान सञ्चालन गरिएको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताए। सदरमुकाम आसपासमा केही वर्षयता बाँदरले बालीनाली, फलफूल, साग तरकारी खान थालेपछि स्थानीय सास्ती भोग्दै आएका छन्। उनले भने,'खेतबारी मात्रै होइन। बाँदरले घरभित्रको सामग्रीसमेत नष्ट गर्न थालेपछि बाँदर लखेट्ने अभियान चालेको  हो।'

स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर धपाउन टोलीमा स्थानीय, विद्यार्थी, महिलालगायत सबै सरोकारवाला पनि सहभागी थिए। बाँदर धपाउन गुलेली, लाठी ढुंगा बोकेर बाँदर अभियान थालिएको थियो। 

नगरपालिकाका बाँदर प्रभावित वडाका लागि कार्यक्रम ल्याउनु पर्ने स्थानीयले माग गर्दै आएका छन्। नगरपालिकाले ठोस योजना बनाउन सकेमा बाँदरको आतंक बाट उन्मुक्ति पाइने विश्वास रहेको दशरथचन्द नगरपालिका ५ का खेमा बोकटी बताइन्। यस क्षेत्रमा रहेका बाँदरलाई कुनै तराइका जंगल अथवा राष्ट्रिय निकुञ्जमा पुर्‍याउन सकेमा नागरिक बाँदरको आतंकबाट मुक्त हुनेछन्।   

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतंक बढेको स्थानीयको भनाई रहेको छ। बैतडीका दशरथचन्द नगरपालिका क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रहरूमा पनि बाँदरले अन्नबाली सखाप पार्ने गरेको छ।

अहिलेको सिजन मकै फल्ने भएको बाँदरले बढी जसो मकैबालीमा क्षति गर्ने गरेको स्थानीयको भनाई रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.