एङ्करहरू आजकल बोल्दैनन्, चिच्याउँछन्
एङ्करहरू आजकल बोल्दैनन्, चिच्याउँछन्
आगामी सोमबार रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुन लागेका भारतका पत्रकार रवीश कुमारले शुक्रबार फिलिपिन्सको मनिलामा सार्वजनिक सम्भाषण दिए। भाषणमा उनले भारतीय मिडियामा व्याप्त विसङ्गतिबारे खुलेर चर्चा गरे। एशियाको नोवेल पुरस्कार मानिने ४० हजार अमेरिकी डलर बराबरको सो सम्मान ग्रहणका लागि उनी यसबेला फिलिपिन्सको राजधानी मनिला पुगेका छन् ।
उनले लोकतन्त्रलाई बलियो पार्न ‘नागरिक पत्रकारिता’को भूमिका महत्वपूर्ण हुने बताए। ‘लोकतन्त्रमा आगो लागेको छ,’ उनले भने, ‘यसलाई सम्हाल्नुपर्छ, सम्हाल्नका लागि साहस चाहिन्छ।’ एनडिटिभीमा आवद्ध रविशलाई टेलिभिजन पत्रकारितामा पुर्याएको योगदानका निम्ति पुरस्कृत गरिएको हो।
‘दिनहुँ सरकारविरुद्ध प्रदर्शन भइरहेको छ, तर मूलधारका मिडियामा यो समाचार आउँदैन, किनकी मिडियाका लागि त्यस्ता कार्यक्रम बेकारका गतिविधि हुन्। तर हामीले यो बिर्सनुहुँदैन, सार्वजनिक प्रदर्शनबिना कुनै पनि लोकतन्त्र, लोकतन्त्र हुन सक्दैन’, उनले भने।
उनको भाषणको सारसंक्षेप :
यो समय नागरिकको पनि परीक्षाको समय हो, नागरिक हुनुको परीक्षा। नागरिक हुनु भनेको के हो भनेर बुझ्ने र त्यसका लागि लड्ने समय हो। एउटा व्यक्ति वा समूहका रुपमा जसले आफूलाई अहिलेको स्थितिबाट बचाउन सक्दछ, त्यही नागरिकले भोलिको राम्रो समाज र सरकारको नयाँ जग राख्नेछ।
नागरिकका लागि सूचनाको स्वतन्त्रता र त्यसको प्रामाणिकता आवश्यक पर्दछ। तर आज देशका सारा मिडिया र मिडियाको बिजनेसमा राज्यले नियन्त्रण जमाएको छ। मिडिया नियन्त्रणको अर्थ हो, तपाईंको नागरिकताको दायरा साँघुरिनु। आजको मिडिया राज्यकै एउटा अंग बनेको छ। मिडिया अब चौथो अंग रहेन, पहिलो अंग बनिसक्यो।
मिडियाको भाषामा भन्ने हो भने देशमा दुई किसिमका नागरिक छन्। एक, राष्ट्रवादी र अर्को, राष्ट्रविरोधी। नेशनल र एन्टी–नेशनल। राष्ट्रविरोधी नागरिक तिनै हुन्, जो प्रश्न गर्दछन्, असहमति राख्दछन्।
कश्मीरमा कैयौं दिनका लागि सूचना–तन्त्र बन्द गरियो। सरकारी कर्मचारीले नै प्रेसको काम गर्न थाले, र प्रेसका मान्छेले सरकारको काम गर्न थाले। के तपाईं सूचना र सञ्चारबाट बञ्चित नागरिकको कल्पना गर्न सक्नुहुन्छ? सूचना खोज्ने दायित्व बोकेका सञ्चारमाध्यम नै सूचनाका सारा नेटवर्क बन्द गर्ने कामको समर्थनमा जुटे भने के हुन्छ? यो नागरिक हकविरुद्धको कार्य ठहर्छ।
अर्को दुर्भाग्यपूर्ण कुरा, भारतका समस्त छिमेकीहरू पनि प्रेस स्वतन्त्रताको सूचकांकको पुच्छारतिर छन्। पाकिस्तानमा त झन् एउटा इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी भन्ने छ, जसले समाचार च्यानलहरूलाई कश्मीर मामलामा प्रोपोगाण्डा गर्न निर्देशन नै दिन्छ। कसरी रिपोर्टिङ गर्ने भनेर सिकाउँछ। त्यसो त, सरकारी भाषामा त्यसलाई ‘सल्लाह’ भनिन्छ, तर त्यो निर्देशन नै हो। जस्तो कि, त्यहाँका मिडियालाई १५ अगष्टका दिन स्क्रिन खाली राख्न भनिन्छ, ता कि सरकारले कश्मीरको समर्थनमा कालो दिवस मनाउन सकोस्। पाकिस्तान पनि यो समस्याको ठूलो कारकमध्येको हो।
‘कश्मीर टाइम्स’ की अनुराधा भासिन भारतको सर्वोच्च अदालत जाँदा भारतीय प्रेस काउन्सिल उनका विरुद्ध अदालत जान्छ। प्रेस काउन्सिल भन्छ: ऊ कश्मीरमा मिडियामाथि लगाइएको प्रतिबन्धको समर्थन गर्दछ। मेरो विचारमा, भारतको प्रेस काउन्सिल र पाकिस्तानको मिडिया रेगुलेटरी अथोरिटीको कार्यालय एउटै बिल्डिङमा हुनु जाति हुन्छ। हामी धन्य छौं, एडिटर्स गिल्ड अफ इन्डियाले भारतीय प्रेस काउन्सिलको आलोचना गर्दै कश्मीरमा मिडियामाथि लगाइएको बन्देजको निन्दा गर्यो।
यी तिनै मिडिया हुन्, जसले आफ्नो खर्च कटौतीका लागि ‘सिटिजन जर्नालिज्म’को अभ्यास थाले। अर्थात, सिटिजन जर्नालिज्मको नाममा मिडियाले आफ्नो जोखिमलाई बाह्य स्रोततर्फ मोड्ने काम गर्यो। तर यहाँ बुझ्नुपर्ने कुरा, मूलधारे मिडियाभित्रको ‘सिटिजन जर्नालिज्म’ र मूलधार बाहिरको ‘सिटिजन जर्नालिज्म’ अलग–अलग कुरा हुन्।
आज पनि कयौं न्यूजरुम यस्ता छन्, जहाँ पत्रकारलाई आफ्नो व्यक्तिगत राय लेख्ने अनुमति छैन। यो अर्कै कुरा हो कि, जब २४ वर्षकी छात्रा रिवरबेन्ड (नाम परिवर्तन) ले इराकमा भएको हमला, युद्ध र बर्बादीबारे दैनिक रुपमा ब्लग लेखिन्, सन् २००५ मा ‘बग्दाद बर्निङ : गर्ल ब्लग फ्रम इराक’ नामक उनको पुस्तक आयो। त्यसपछि मात्रै विश्वभरका प्रमुख मिडियाहरूले आफू चुकेको स्वीकारे। उनीहरूले स्वीकारे, जुन काम सोसल मिडियामार्फत ती छात्राले गरिन्, हाम्रा पत्रकारहरूले पनि गर्न सक्दैनन्।
हो त्यो, त्यो हो सिटिजन जर्नालिज्म, जुन मूलधारको मिडियाभन्दा बाहिरबाट भयो। आज त्यस्तै कुनै केटीले कश्मीरबाट ‘बग्दाद बर्निङ’ जस्तै ब्लग लेखून् त, हाम्रा मूलधारका मिडियाले तिनलाई ‘अराष्ट्रिय’ करार गर्नेछन्।
तपाईंले अहिलेका मिडियामार्फत लोकतन्त्रलाई बुझ्ने कोशिस गर्नुभयो भने लोकतन्त्रको एउटा यस्तो तस्बिर बन्नेछ, जहाँ सारा सूचनाको रंग एकै देखिनेछ। त्यो रंग, सत्ताको रंगसँग मेल खान्छ। प्रश्नहरूलाई एउटै ढाँचामा ढाल्ने काम भइराखेको छ, ताकि सूचनाको नाममा धारणा फैल्याउन सकियोस्।
जब मूलधारका मिडियामा विपक्ष वा असहमति– गाली बन्दछ, त्यस्तोमा वास्तविक संकट नागरिकमाथि आइलाग्छ। दुर्भाग्य, यो काममा न्यूज च्यानलको आवाज सबैभन्दा कर्कश र चर्को छ। एंकरहरू आजकल बोल्दैनन्, चिच्याउँछन्। मूलधार र टेलिभिजन मिडियाको धेरैजसो हिस्सा फोहरको नालीजस्तै दुर्गन्धित बनेको छ।
देशैभर मेरो फोन नम्बरलाई ट्रोलमार्फत भाइरल बनाइयो, ता कि मान्छेहरूले मलाई गाली गरुन्। गाली आयो, धम्की पनि आयो। अझै आउँदैछ। तर, त्यही नम्बरमा आफ्नो क्षेत्रको खबर दिने मान्छेहरू पनि आए। सत्तारुढ दलले मेरो कार्यक्रम बहिस्कार गरिदिँदा मेरा सारा बाटाहरू बन्द भएका थिए। त्यस्तो समयमा तिनै मान्छेहरूले आफ्नो समस्या सुनाएर मेरो कार्यक्रम भरिदिए। म आज त्यस्ता धेरै मान्छेहरूलाई सम्झन चाहन्छु, जसले पहिले ट्रोल गरे, गाली गरे, अनि पछि माफी मागे।
म यो सबै किन सुनाइरहेको छु भने, आज ‘नागरिक पत्रकार’ हुन तपाईंले राज्यसँगमात्रै लडेर पुग्दैन, राज्यको जस्तो व्यवहार देखाउन मान्छेहरूसँग पनि भिड्नुपर्दछ। राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरू पनि आजका चुनौती हुन्।
नागरिकहरू आज सूचनाको क्षेत्रमा आफ्नो 'स्पेस'का लागि लडिरहेका छन्, भलै उनीहरूले जितिसकेका छैनन्। गान्धीजी भन्ने गर्थे, ‘अखबारहरू दुरुस्त नरहने हो भने हिन्दुस्तानको स्वतन्त्रताको के अर्थ?’
अखबारहरू काँतर बनेका छन्। ती आफ्नो आलोचनालाई देशको आलोचनाका रुपमा प्रस्तुत गर्दछन्। त्यसकारण, आज हामीलाई ठूलो संख्यामा नागरिक पत्रकारहरूको खाँचो छ। त्योभन्दा पनि धेरै नागरिक लोकतन्त्रको खाँचो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।