तस्करी रोक्न सामुहिक प्रतिवद्धता

|

चितवन : मानव बेचविखन तथा ओसार-पसार नियन्त्रणका लागि चितवनका सरोकारवाला पक्षले सामुहिक प्रतिवद्धता जनाएका छन्। मानव बेचविखन तथा ओसार-पसारविरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसर पारी भरतपुर महानागरपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायले सामुहिक प्रतिवद्धता जनाएका हुन्। 

कहालीलाग्दो मानव बेचविखनको घट्ना नियन्त्रणका लागि आआफ्नो स्थानबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए। उनीहरूले राज्यको प्रयासमा सवैले हातेमालो गर्नुपर्नेमा पनि जोड दिएका थिए।

सवै लाग्नुपर्छ 

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल पार्वतीले राज्यको एकल प्रयासले मात्रै मानव बेचविखन तथा ओसार-पसार नियन्त्रण हुन गाह्रो पर्ने बताइन्। जसका लागि सवै सरोकारवाला पक्षले, व्यक्ति व्यक्तिले प्रतिवद्धता जनाएर लाग्नु पर्नेमा उनको जोड थियो। धेरै कानुन बन्ने, संशोधन हुने क्रममा रहेको रावलले बताइन्। उनले कानुन कार्यान्वयन गराउने निकाय प्रहरी प्रशासन, स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन्। 

मानव वेचविखन तथा ओसार-पसाररहित महानगर

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाई मानव वेचविखन तथा ओसार-पसाररहित बनाउने संकल्पका साथ काम गरिरहेको बताइन्। प्रमुख दाहालले घट्नाको दरलाई क्रमस घटाउँदै लगिने भएकाले आगामी वर्ष कम भएको तथ्यांक सार्वजनिक हुने विश्वास पनि व्यक्त गरिन्।

उनले सम्बन्धित सरोकारवालापक्षसँग छलफल भइरहेकाले वडा वडामा पुग्ने कार्यक्रम छिट्टै नै अघि बढ्ने पनि जानकारी दिइन्। जोखिममा रहेका समुदाय, लिंग, क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेकाले चाँडै नै सकारात्मक परिणाम देख्न पाइने पनि बताइन्। 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रहरी प्रशासनलाई स्थानीयस्तरबाट सर्वसाधारणले आवश्यक सहयोग गरे नियन्त्रण गर्न सकिने बताए। जिल्लामा र जिल्ला हुँदै आन्तरिक तथा बाह्य घट्नामा प्रशासन सचेत रहेकाले रोकथामका लागि सवैले हातेमालो गर्नुको विकल्प नभएको बताए। 

अन्तर्राष्ट्रिय विवाहलाई कानुनी प्रतिवन्ध आवश्यक

जिल्ला बार एशोसिएसनका अध्यक्ष कमल पाठकले नेपाली महिलालाई विवाह गरेर अन्य राष्ट्रमा लैजान कानुनी रुपमै प्रतिवन्ध लगाउनु पर्ने बताए। पाठकले विवाहको बहानामा धेरै नेपाली महिला मानव वेचविखनको सिकार बनिरहेको पाइएकाले कानुनी प्रतिवन्धको आवश्यक्ता खड्किएको बताए।

अध्यक्ष कमल पाठकले केही समयअघि चीनमा विहे गरेर गएका नेपाली चेली मानव तस्कारको जालोमा फसेको उदाहरण फेला परेको बताए। उनले कानुनी प्रतिवन्ध आवश्यक रहेकोमा जोड दिए। साथै उनले कानुनी व्यवस्थाको गलत फाइदा उठाएर महिलाको घर परिवारलाई पनि प्रलोभनमा पारी सहजै सीमा पार गर्ने गरेको पनि बताए। 

कार्य याेजना 

प्रहरी नायव उपरीक्षक सालीकराम पौडेलले जिल्ला प्रहरी कार्यालयले जिल्लाको वडा वडामा पुग्ने कार्य योजना बनाइरहेको बताए। डिएसपी पौडेलले मानव वेचविखन तथा ओसार-पसार, सामाजिक विकृति विसंगति नियन्त्रणका लागि एक साताभित्र कार्यक्रम बनाएर महानगरमा प्रस्ताव गर्ने तयारी भइरहेको बताए। कार्यपत्र समेत प्रस्तुत गर्दै डिएसपी पौडेलले वेचविखनमा परेकामध्ये ४६ प्रतिशत वेश्यावृत्तिमा जवरजस्ती सम्लग्न हुन बाध्य बनाउने गरेको पनि बताए।

यस्तै २७ प्रतिशत घरेलु कामदारका रुपमा, १० प्रतिशत कृषि क्षेत्रमा, ५ प्रतिशत उद्योग कलकारखानामा र १२ प्रतिशत विविध स्थानमा बन्धक बनाउने गरेको तथ्यांक रहेको उल्लेख गरे। होटल, मनोरञ्जन, विभिन्न संघ संस्था खोल्ने, सञ्चालन गर्ने बहानामा यौन शोषण तथा मानव तस्कर मौलाएकाले सवैले हातेमालो गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिए। 

पैसा, यौन शोषण र दासका लागि मानव तस्करी

जिल्ला न्यायाधीश यदुनाथ शर्माले पनि मानव बेचविखन तथा ओसार-पसारको अवस्था र कानुनी प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नेपालसहित विश्वको तथ्यांक हेर्दा पैसा, यौन शोषण र दासका लागि मानव तस्करी हुने गरेको बताए।

मानव तस्करीमा संलग्नलाई २० वर्ष कैद र दुई लाख जरिमानाको व्यवस्था रहे पनि मुख्य तस्करी उम्कने गरेको उनको भनाई छ। शर्माले तस्करी, दलालीलाई कानुनी कठघरामा उभ्याउन सवैले आआफ्नो स्थानबाट सूचना दिएर सहयोग गर्न पनि आग्रह गरे।

विषेश गरी अशिक्षा, गरिवी र वेरोजगारीका कारण तस्करी नियन्त्रणमा समस्या रहेकाले राज्यले यसप्रति अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष शर्मिला न्यौपाने, छहारी यातायात व्यवसायी संघका बद्री पौडेलले पनि मानव वेचविखन तथा तस्करी नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

यस्तै महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले वडा अध्यक्षहरूको बैठक डाकिसकेकाले यस विषयमा पनि छलफल गर्ने बताए। नारी अभुदय केन्द्रकी निवर्तमान अध्यक्ष मनुकुमारी सेनले स्थानीय सरकारले वडाले वैदेशिक रोजगारीमा जाने-आउने तथा वडाको सवै तथ्यांक राखी निगरानी गर्ने हो भने मानव तस्करी नियन्त्रण हुने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.