बर्सेनि मकैको उत्पादनमा गिरावट

|

बैतडी : प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भए पनि मकैजोन क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ।

मकैको उत्पादनमा वृद्धि ल्याउने र मकै प्रशोधन गर्ने लक्ष्यका साथ मकैजोन कार्यालय स्थापना भए पनि जंगली बदेल र बादरका कारण मकै उत्पादनमा ह्रास आउने संकेत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिए। मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भए पनि भित्र्याउने समयमा जंगली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उनले बताए।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा मकैजोन कार्यक्रम लागू भए पनि मकै जोगाउन धौधौ परेको उनले बताए। मकैबाली मुख्य खाद्यबाली भए पनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

जंगली जनावरले मकैबाली सखाप पारेको विषयमा सबै ठाउँमा जानकारी गराएको तर समस्या समाधानको उपाय भने ननिस्केको मकैजोन कार्यालयका प्रमुख महराको भनाइ छ।

बैतडीमा पछिल्ला वर्षमा मकैको उत्पादनमा गिरावट आउन थालेको छ। गत वर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।

मकैबाली जंगली बदेलले नष्ट

बैतडीका विभिन्न ठाउँमा किसानले लगाएको मकैबाली जंगली बदेलले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। मकैबाली  भित्र्याउने समयमा जंगली बदेलले मकैबाली नष्ट गर्दा भोकमरीको सम्भावाना बढेको दोगडाकेदार ३ श्रीकोटका प्रकाश चन्दले बताए। 'खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरेका छौँ' उनले भने 'पहरा दिएपनि बथानमा आउने जंगली बदेलले मकैबाली नष्ट गर्ने गरेको छ' 

 जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न स्थानमा पनि जंगली जनावरले मकैबाली नष्ट गर्दा किसान मार्कामा परेका छन्। बदेल, दुम्सी, भालु लगायतका जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन्।

यस्तै, पाटन नगरपालिका-७ का विभिन्न स्थानमा पनि जंगली बदेलले मकैबाली नष्ट गरेको स्थानीय रामीराम विकले बताए। उनका अनुसार मकै बचाउन टहरा बनाएर किसानले पहरा दिने गरेको गरिएको छ।

बैतडीमा मुख्य खाद्यबालीको रूपमा रहेको मकैबाली पछिल्लो समयमा जंगली जनावरले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ।  मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भए पनि किसानले भने क्षतिपूर्ती पाउने गरेका छैनन्। बालीबीमा नगरेका कारण किसानले क्षतिपूर्ती पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

मकैबाली लगाउने क्षेत्रफल घट्यो

बैतडीमा मकैबाली लगाउने क्षेत्रफल घटेको छ। जिल्लामा गत वर्षदेखि मकैबाली लगाउने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। बैतडीमा जंगली जनावरको प्रकोपका कारण मकैबाली उत्पादन हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख चन्दले जानकारी दिए। 

'बैतडीमा हाल १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ' उनले भने 'केही वर्षअघिसम्म १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको भए पनि जंगली जनावरका कारण किसानले मकैबाली लगाउन छोडेका छन्।' 

बादर र बदेलले बर्सेनि मकैबालीमा क्षति गर्ने भएकोले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ। जंगली जनावरका साथै पहाडबाट तराईमा बसाइँसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.