|

बारा : मुटुमा प्वाल परेकी बाराको निजगढ–९ की एक वर्षीया बालिका निकिता लामाको सहयोगका लागि उनकी आमा–बुवाले अपिल गरेका छन्।

निकिताका आमा-बुवा मिनाकुमारी स्याङ्गतान र विजय लामाले वीरगञ्जमा ए-क्सरे गरेर हेर्दा मुटुमा प्वाल परेको थाहा पाएका थिए। वीरगञ्जबाट एक हप्ताको औषधि खाएर छोरी बोकेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा थप स्वास्थ्य परीक्षणपछि उनको मुटुमा प्वाल परेको पुष्टि भएको हो।

‘छोरीले दुई पटक बेहोस भएर ज्यान नै फाल्ने र आँखा चिम्म गर्न थाली,’ आमा मिनाले भनिन् ‘१६ हजार ऋण खोजेर एक हप्ता काठमाडौं बसेर फर्किएका छौँ। डाक्टरले औषधि खाएर निको हुँदैन्, अप्रेशन नै गर्नुपर्छ भनेको छ।’

‘असोज ३ गते छोरीको मुटुको अप्रेशन गर्न काठमाडौंको गंगालाल जानु छ,’ बुवा विजयले भने 'अब दुई हप्ता पनि बाँकी छैन्। मैले केही सोच्न सकेको छैन। हामी गरिब छौँ, हामी उपचार गर्न सक्दैनौँ। तपाईंहरूको सहयोगले छोरी बाँच्छे भने बचाइदिन अनुरोध छ।’

विजय गाउँमा साहुको ट्याक्टर चलाउँछन्। सम्पत्तिका नाममा पाँच धुर जमिनमा बनेको काठको घर छ। दिनभरि कमाउने र साँझबिहान खाने अवस्थाको उनीहरूको परिवार छ। छोरी बिरामी भएदेखि आफू काममा जान विजयले बताए। 'छोरी रोइरहन्छे, आमासँग मान्दिन्, मैले बोकेर हिड्नुपर्छ', विजय लामाले सुनाए।

'नसोचेको कुरा भयो, हामी गरिबले यत्रो रकम कसरी खोजेर उपचार गराउँ, समस्या भएको छ, ऋण काढेर उपचार गराउन पनि बस्नका लागि बासदेखि एक टुक्रा जग्गा जमिन छैन्' मिनाले भनिन्।

निकिताको बुवा–आमाले सबैलाई सहयोग गर्न विभिन्न संचार माध्याममार्फत अनुरोधसमेत गरेका छन्। सहयोग गर्नेहरूलाई उनले ९८१३२९७११५ मा सम्पर्क गर्नसमेत आग्रह गरिन्।

गरिब मान्छेलाई मात्र यस्तो

छोरीको मुटुको समस्या देखापरेदेखि कसरी उपचार गर्ने होला भन्ने चिन्ताले रातभरी निदाउन सकेको मीना बताउँछिन्। ‘अप्रेशन हुँदा सफल होला कि नहोला भन्ने कुरा मनमा खेलिरहन्छ। निद्रा लाग्दैन्’ उनले भनिन्, 'दुःख लाग्छ, रुन मन लाग्छ, आफूले जन्माएको बच्चालाई उपचार गर्न नसक्दा।' निकिता उनीहरूको पहिलो सन्तान हुन्।

भविष्यमा शिक्षिका बनाउने सपना

मिनाको माइती निजगढकै सिंगौल हो। ८ कक्षासम्म पढेकी मिनाले छोरीलाई शिक्षिका बनाउने सपना देखेकी छिन्। ‘आफूले धेरै नपढे पनि छोरीलाई पढाउन मन छ,’ मिनाले भनिन्।

सहयोग मागेर उपचार गराउने योजना

आर्थिक अवस्था कमजोर भएका उनीहरूले छोरीको उपचार आर्थिक सहयोग मागेर गर्ने योजना बनाएका छन्। त्यसका लागि वडा कार्यालयबाट सिफारिस बनाएका छन्।

स्थानीय महिला नेतृ एवं निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मीनामाया लामाले बालिकाको उपचारका लागि वडा कार्यालय र स्थानीयवासी सहयोग संकलनका लागि जुट्ने तयारी भइरहेको जानकारी दिइन्। उनले देशविदेशमा रहेका सबै नेपालीलाई बालिकाको उपचारका लागि आर्थिक सहयोगको लागि अपिलसमेत गरिन्।

कसरी हुन्छ, बालबालिकाको मुटुमा प्वाल?

कति बालबालिकामा जन्मजात मुटुमा प्वाल हुने गर्छ। कसैलाई वंशानुगतमा यो समस्या हुन्छ। गर्भमा रहेको भ्रूणको विकासक्रममै उसको मुटुमा प्वाल रहन सक्छ। यसलाई चिकित्सले ‘होल इन हार्ट’ भन्ने गरेका छन्। जतिबेला बच्चा गर्भमा हुन्छ, त्यसबेला उसको मुटु एउटा ट्यूबमा र चार च्याम्बर अंगको रूपमा विकास भइरहेको हुन्छ। यहि क्षणमा हो, मुटुको विभिन्न भागहरूको पनि विकास हुने। तर, कारणबस मुटुको विकास समूचित रूपमा हुन नपाउँदा मुटुमा प्वाल रहने गर्छ।

शिशुमा हुने मुटुको प्वाल विभिन्न प्रकारको हुन्छ। मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ। मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भनिन्छ। त्यसबाहेक, मुटुको अनेक समस्याका कारण पनि बालबालिकाको मुटुमा प्वाल हुन गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.