सावित्राको चार गोल

|

काठमाडौं : फरवार्ड सावित्रा भण्डारीको ४ गोलको मद्दतमा नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप फुटबलमा आयोजकमाथी ८–२ गोल अन्तरको फराकिलो जित हात पारेको छ। 

सेन्ट्रल स्टेडियमा जारी प्रतियोगिताको पहिलो हाफमा नै नेपालले ६-२ गोलको अग्रता बनाएको थियो। तेश्रो मिनेटमा कप्तान निरु थापाको पासमा सावित्राले सुरुवाती अग्रता दिलाएकी थिइन्। १५औँ मिनेटमा पुनः गोल गर्दै सावित्रा अग्रता दोब्बर बनाइन्। गोलरक्षक अघि बढेको मौकामा लामो दूरीबाट गरेको प्रहारले जाली चुम्यो।

खेलको १९औँ र २२औँ मिनेटमा गोल गर्दै किर्गिस्तानका खेल बराबरी ल्यायो। २५ औ मिनेटमा सावित्राको पासमा मिडफिल्डर दीपा राईले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। खेलको ३०औँ मिनेटमा सावित्राले ह्रयाट्रिक पूरा गरिन्। र्किगिस्तानकी डिफेन्डरबाट नियन्त्रण हुन नसकेको बललाई सावित्राले गरेको प्रहार गोलरक्षकको हातबाट फुत्किएको थियो।

३४औँ मिनेटमा सावित्राको पासमा अनिता बस्नेतले गोल गरिन्।  त्यसैगरी ३७औँ मिनेटमा अनिताको पासमा कप्तान निरुले गोल गरेपछि नेपालले पहिलो हाफमा ६–२ गोलको अन्तरको अग्रता बनायो। दोश्रो हाफमा समेत गोल गर्ने क्रम रोकिएन्।

५३औँ मिनेटमा पेनाल्टी एरिया बाहिरबाट पाएको फ्रिकिकलाई जाली चुमाउँदै सावित्राले व्यक्तिगत गोल संख्या ४ पुर्‍याइन्। निर्धारित समयको अन्तिम मिनेटमा अनिताले व्यक्तिगत दोश्रो गोल गरेपछि नेपाल ८–२ गोल अन्तरको फराकिलो जित निकाल्दै ३ अंक जोडन सफल भयो।

आजै भएको पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको थियो। पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।

चार देश सहभागी प्रतियोगितामा राउन्ड रोविनका आधारमा ४ दिनमा प्रत्येकले एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। शीर्ष २ मा पर्ने टोलीले फाइनल खेल्दा अन्तिम २ मा रहने टोलीले तेश्रो स्थानको लागी प्रतिस्पर्धा गर्नेछन्।

सोमबार उज्वेकिस्तानको सामना गर्ने नेपाली टोलीले मंगलबार ताजिकस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगितालाई नेपाली टिमले क्षमता परीक्षणको रूपमा लिएको छ। आगामी मंसिरमा पोखरामा हुने १३औँ सागको तयारीको रूपमा यस प्रतियोगितालाई नेपाली टिमले लिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.