विद्युतीय सवारीसाधन व्यापार घाटा घटाउने प्रमुख कडी
विद्युतीय सवारीसाधन व्यापार घाटा घटाउने प्रमुख कडी
काठमाडौं : गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुग्यो। जम्मा व्यापार घाटामध्ये १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको मात्रै देखियो।
गत आर्थिक वर्षमा एक खर्ब ९३ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ। आयातित वस्तुमा पेट्रोलियम पदार्थ सधैं पहिलो स्थानमा छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएको छ।
देशले व्यापार घाटा घटाउने अनेक रणनीति अपनाएको अवस्थामा मुख्यमुख्य स्थानको सार्वजनिक यातायातमा विद्युतीय बस संचालन गर्दा ठूलो घाटा कम गर्न सक्ने देखिएको छ। गत वर्षको दरलाई आधार मान्ने हो भने अत्यावश्यक रूपमा ५० अर्ब रुपैयाँको इन्धन खपत गरे पनि विद्युतको सहयताले डेढ खर्ब रुपैयाँ बराबरको आयात न्यून गर्न सकिने ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन्।
राष्ट्र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको तथ्यांकलाई पत्याउने हो भने एक दिनमा एक मेगावट बिजुली खपत गर्दा २३ सय लिटर डिजेल र २४ सय लिटर पेट्रोलको बचत हुन्छ।‘ म कुनै कार्यक्रममा जाँदा अध्ययन गरेर जाने त हैन आज भने केही अध्ययन गरेर आएको छ, यदि दिनमा एक मेगावाट बराबरको विद्युतीय गाडी चल्छ भने २३ सय लिटर डिजेल र २४ सय लिटर पेट्रोल खपत घट्नेछ’ पुनले भने।
सोमबारबाट सुन्दर यातायातले संचालनमा ल्याएको एउटा गाडी चार्ज गर्नको लागि १७५ युनिट विद्युत लाग्नेछ। यदि दैनिक पाँच मेगावाट बराबरको विद्युत सार्वजनिक यातायतमा खपत गर्न सकेको खण्डमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको आयात घटाउन सकिने तथ्यांकले देखाएको छ।
सरकारको ध्यान पनि यहीँ
ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयले अब सरकारको ध्यान विद्युत् खपत बढाउने र व्यापार घटा घटाउनेमा भएको जनाएको छ। सचिव दिनेश घिमिरेले डेढ वर्ष अगाडि नै मन्त्रालयको श्वेतपत्र मार्फत विद्युत् खपत बढाउने योजना अघि सारेको दाबी गरे।
‘हाम्रो विद्युतको उत्पादन जसरी बढेको छ, खपत पनि त्यसैगरी बढेन भने लगानी खेरजान्छ’ सचिव घिमिरेले भने ‘त्यसैले हामीले धेरै विद्युत खपत हुने क्षेत्र विद्युतीय सवारी, इलेक्ट्रिक कुकिङ र वाटर हिटिङमा जोड दिएका हौँ।’
ग्यास, डिजेल र पेट्रोलको ठाउमा विद्युत प्रतिस्थापन गर्न सक्दा १० वर्षमा १० हजार मेगावट विद्युत खपत गर्न सकिने उनले बताए।
सरकारलाई निजी क्षेत्रको चुनौती
‘सरकारले गर्छ भनेर पनि सहयोग गर्न नसकेको पनि देखिएको छ, सुन्दर यातायातले विद्युतीय बस भित्र्याउँदा धेरै समस्यासँग जुध्नुपर्यो भन्ने सुनेँ, थप चुनौती पनि छन् सामाना गर्न तयार हुनुपर्छ’ विद्युतीय बस उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने राम्रो कामको सुरुवात जसले पनि गर्छ तर निरन्तर प्रमुख चुनौती हो।’
उपप्रधानमन्त्रीको जवाफमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘अन्य काडमा त हामी पन्छ्याउँदै हिँडेका थियौँ सरकारबाट रोपिएका काँडा पन्छ्याउन गाह्रो भयो’ उनले थपे ‘हामीले प्रतिबद्धता गरेको काम पूरा गर्न लागेजस्तै प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीले आफू बोलेको कुरा कार्यान्वयन गरे देश सुन्दर बन्ने थियो।’
सरकारले ३०० बिजुली गाडी संचालन गर्न योजनाअघि सारे पनि कार्यन्वयनमा अघि बढ्ने सकको छैन। विद्युतीय बसमा निजी क्षेत्रबाट सुन्दरले पहिलो पटक साता वटा बस काठमाडौंमा ल्याएको छ भने सोमबार नै चीनबाट आएका ११ थप बस कोलकत्ता बन्दरगाहाबाट नेपाल आएको बताइएको छ। त्यस्तै सुन्दरले ५० वटा गाडीको लागि चाइनाको विवाइडी कम्पनीसँग सम्झौता गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।