|

दाङ : दाङमा थारू राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा यस क्षेत्रको गाउँपालिकालाई दंगीशरण नामकरण गरिएको छ।

दंगीशरण ३ चखौरामै थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय निर्माण भइरहेको छ। यसमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्रीमा देख्न सकिने छ। थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन्।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ। थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन्। थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ।

नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय बनाउन थालेको निर्माण संयोजक तथा प्रदेश ५ सांसद डिल्लीबहादुर चौधरीले बताए।

संग्रहालयमा ‘राना, डंगौरा, देउखुरी, चितवन, कैलाली  कंचनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ। यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएका छौं, सांसद चौधरीले भने। यो देशकै ठूलो थारू संग्रहालय हुनेछ।

यो थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बन्दै छ। संग्रहालय सबलीकरणका लागि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले ६५ लाख रुपैयाँ प्रदान गरेको थियो। थारू समुदायका पुराना सामान, गहना र पोसाक भेटाउन साह्रै कठिन भएको उनले बताए।

'थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन छ। यसले गर्दा पुराना सामान भेट्टाउन कठिन भएको छ', उनले भने। अहिले सम्म विभिन्न खाले थारू नाँचका पोसाक जुटाई सकेको र ५ बिघा क्षेत्रफल भएको जमिनमा थारु संग्रहालय रहेको छ। यसमा अहिले जग्गा र अन्य संरचनासहित ५० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिसकेको संग्रहालय संचालक समितिका संयोजक नरेन्द्र चौधरीले बताए।

संग्रहायलमा थारू जातिका खानाका परिकार र बास बस्नलाई समेत कोठाहरुको ब्यवस्था भएको उनले बताए। संग्रहालयको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्सा तयार गर्न लागेको समेत उनले बताए। 'यसले थारू राज्यको इतिहास थाहा हुन्छ',उनले भने।

अहिले हरेक शनिबार संग्रहालयमा थारू जातिका फिल्म र गीतहरू देखाइन्छ। स्थानीय जम्मा भएर आफ्नो कला र संस्कृति बारे बहस गर्छन्।

अब हरेक माघी पर्वमा पश्चिम तराइका सबै थारू जाति चखौरामै जुट्ने र पर्व मनाउने योजना बनाइरहेको चौधरीले बताए। त्यसैगरी पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोक संस्कृति पुस्तान्तरण हुन नसकेको हो। यस ठाउँमा थारु संग्रहालय बनेपछि पर्यटकीय स्थलको रुपमा परिचित हुने बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए। उनले संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको छ।

'अब यसलाई बचाउन संग्रहालय जरुरी भएको छ', उनले भने, ‘अब यो थारू जातिको कला, संस्कृति, मनोविज्ञान र इतिहास अध्ययन गर्ने केन्द्र बन्छ।' त्यसैगरी संग्रहालयमा नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ संकलन गरिएको संग्रहालय अवलोकन गर्न आएका बबई गाउँपालिका हापुरेको बालकृष्ण पाण्डेले बताए। उनले थारू जातिका संस्कृति झल्किने चित्र र मूर्तिलाई बनाएर राखिएकोले निकै नौलो र खुसी अनुभव लागेको समेत बताए।

पहिलो पटक दाङ जिल्लामा थारु जातिको आफ्नै पूर्खाको मूर्ति बनाएर यस संग्रहालयमा प्रदर्शनको राखिएकाले  यसले दाङ जिल्लालाई धेरै पाठ सिकाउने उनले बताए। त्यसैगरी आफ्नो कला, संस्कृति र इतिहास थाहा भएको र यस संग्रहालयमा बनाएका चित्र र मूर्तिले धेरैलाई हाम्रो इतिहास सिकाउने सांसद चौधरीको भनाई छ।

'हाम्रो पहिचान सुरक्षित हुने छ',उनले भने। दाङ थारू जातिको आधारभूमि मानिन्छ। बाँके, बर्दिया, कैलाली र कन्चनपुर पनि दाङबाटै थारू बसाइँ सराई गरेर गएको विश्वास गरिन्छ।

अहिले पनि दाङमा थारू जातिकै बाहुल्यता छ। २०६८ सालको जनगणना अनुसार जिल्लामा १ लाख ६३ हजार ११६ अर्थात कुल जनसंख्याको २९.५२ प्रतिशत थारू जातिको छ। त्यसमध्ये १ लाख ५५ हजार ४१३ अर्थात २८.१२ प्रतिशतको मातृभाषा थारू नै रहेका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.