|

सुनसरी: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन सरकारले तयारी सुरु गरिसकेको बताएका छन्।

इटहरीमा मंगलबारबाट सुरु भएको नवौ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राईले इटहरी रंगशाला परिसरमा बिभिन्न १२ वटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माणको क्रममा रहेकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताए। बाँकी तीन वटा खेलकुदका संरचना पनि निर्माणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो।

इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन यस वर्ष प्रदेश सरकारले एक करोड बजेट बिनियोजन गरेको उनले जानकारी दिए। प्रदेश खेलाडी उत्पादनको उर्वरभूमि भएकाले खेलकुद क्षेत्रको बिकासका लागी यसवर्ष ४२ करोड बजेट छुट्याएको मुख्यमन्त्री राईले बताए। 

कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सबै जिल्लाहरू र १३७ पालिकामा खेल मैदान बनाउन प्रदेश सरकारले सुरु गरिसकेको बताए।

राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशवकुमार बिष्टले भौतिक पूर्वाधारले सुविधायुक्त इटहरी रंगशाला परिषरको कवर्ड हलमा सातौं साग गेमको ब्याडमिन्टन प्रतियोगिता गर्न माग गरे। उनले आफ्नो कार्यकालमा इटहरी रंगशाला परिषरमा दर्जनौं खेलकुदका पूर्वाधार निर्माण भएको बताउँदै यसमा स्थानीय उपभोक्ताको पनि ठूलो योगदान रहेको उल्लेख गरे।

राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजना तथा सुनसरी व्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा सुरु प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा २ सय जनाले बेग्ला बेग्लै समूहअन्तर्गत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष शुरेस कार्कीले जानकारी दिए।

प्रतियोगितामा पुरुष सिंगल, डबल महिला सिंगल डबल, यु १७ युवा सिंगल, यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरी प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए। सो अवसरमा इटहरी रंगशालामा रहेको सुविधा सम्पन्न व्याडमिन्टन कबर्ड हलको पनि मंगलबार नै मुख्यमन्त्री राईले उदघाटन गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.