|

सल्यान : कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि जिल्लाको शारदा नगरपालिका ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ।

दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो। ९ वर्ष उमेर देखि १२/१३ वर्षभित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले बताए। 

छात्रा विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन्। विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेको बुढाथोकीले बताए। विगगतका वर्षहरूमा २/३ जना छात्रामा यस्तो समस्या देखिएको थियो। तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाई छ।

मनोपरामर्शदातालाई ल्याएर परामर्श दिँदा पनि विद्यार्थी विरामी हुने क्रम नरोकिएको उनले बताए। केही साता यता दैनिक २० देखि २५ जना छात्राहरू काप्ने, बरबराउने, मुर्छा पर्ने गरेका छन्।

विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन्। उनले भनिन, ‘विद्यालयमा आएपछि र्बबराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यार्थी विद्यालयमा आउन मान्दैनन्। रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ओलीको भनाई छ।’ 

दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुँदै गएको छ। विरामी भएका विद्यार्थीलाई केही दिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रअ बुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.