|

जनकपुरधाम : जानकी मन्दिरको पूर्वपट्टीको भित्ता विवादित बनेको छ। सडक विस्तार गर्ने नाममा मन्दिर परिसर खुम्चाएको भन्दै युवा अभियन्ता विरोध गर्दा स्थानीय व्यापारीले प्रतिरोध गरेको हो।

युवा अभियन्ता सरोज मिश्रको नेतृत्वमा भित्ता निर्माण कार्य रोक्न खोज्दा चर्काचर्की भएको छ। स्थानीय व्यापारीले भित्ता निर्माण रोक्न नदिने भनेपछि चर्काचर्की भएको हो। युवाले निर्माण कार्य केहीबेर अवरोध गरे। तर, व्यापारीले पुनः निर्माण कार्य सुरु गर्न लगाएका छन्।

विगतमा त्यहाँको सडक ७ मिटरको थियो। सडक विस्तारपश्चात अहिले ९ मिटरको सडक निर्माणाधीन छ। दुवैतीरबाट १/१ मिटर लिएको छ। जसका कारण मन्दिरको भित्ता भत्कियो भने व्यापारीको करोडौँको भवन पनि भत्किएको छ।

युवा अभियन्ता सरोज मिश्र भन्छन्, ‘मन्दिरको भित्ता भत्काउनुको साटो व्यापारीको जग्गा लिएर सडक विस्तार गर्नुपर्दथ्यो। तर, मन्दिरको भित्ता पनि भत्काएपछि मन्दिर विश्व सम्पदाको सूचीमा नपर्ने सम्भावना बढेको छ। त्यसैले हामी निर्माण काम रोक्न खोजेका थियौँ।’ उनले अब कानुनी उपचार खोज्ने बताएका छन्।

यता, व्यापारी हँसराज साहले उपमहानगरपालिकाले कानुनबमोजिम सडक विस्तार गरेको तर युवा जर्वजस्ती काम रोक्न खोज्दा विवाद भएको बताए। उनले भने, ‘करोडौंको घर भत्किदा क्षतिपुर्ती पाएनौँ। अहिले फेरि घर भत्काउनुपर्ने भन्दै काम रोक्न खोजेको छ। हामी अन्यायमा परेका छौँ।’

एक पक्षले निर्माण कार्य रोक्ने र अर्को पक्षले रोक्न नदिने अडान लिएपछि झडपको अवस्था सिर्जना भए पनि दुवै पक्षलाई सम्झाई बुझाई पठाएको जानकी प्रहरी चौकीका इन्चार्ज राजेन्द्र यादबले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.