|

काठमाडौं : मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्ने क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।

न्यूनचापीय रेखासँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ छ। आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। 'वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ' मौसमविद् प्रधानांगले भने। 

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन/ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ। 

हाल देशभरी आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै, शनिबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.