डेंगुबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

|
सांसद श्रेष्ठ

काठमाडौं : डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाएका छन्। उनले सांसद मरेपछि मात्रै सरकार बोल्ने हो? भनेर सरकारलाई प्रश्न गरेका थिए।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको भनेर आपत्ति जनाएका हुन्। उनले सरकारका मन्त्री नबोल्नु लज्जास्पद भएको बताए। उनले भने, 'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ। यो भन्दा लज्जास्पद के हुन्छ? आँखाका चिकित्सक सन्दुक रुइतसमेत बिरामी पर्नुभयो। कति मान्छे मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो?' अमेरिकाले नेपालमा डेंगु फैलिएकोले भ्रमण नगर्न अनि नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चिठी लेखेको श्रेष्ठको भनाइ थियो।

श्रेष्ठले तत्काल रुलिङ गर्नका लागि सभामुखलाई आग्रह गरेका थिए। उनले सरकारले तत्काल जवाफ नदिए आफू विरोधमा उत्रिने धारणा राखेका थिए। उनको धारणालाई सांसद गणेश पहाडीले पनि समर्थन गरेका थिए।

नेकपाका सांसद खगराज अधिकारीले डेंगु प्रकोप हो कि महामारी? भनेर प्रश्न गरेका थिए। उनले प्रकोप भए सरकारको स्वास्थ्य मन्त्रालय र सम्बन्धित स्वास्थ्य संस्थाहरूले नियन्त्रण गर्नुपर्ने बताएका थिए। महामारी भएमा जनचेतना जगाउन सबै लाग्नुपर्ने धारणा सांसद अधिकारीको थियो।

सांसदहरूले पटक पटक उक्त कुरा उठाएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई डेंगुबारे यथाशीघ्र जवाफ दिन निर्देशन दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.